+
+

पूर्वमन्त्री खाँणमाथि अख्तियारले समेत थाल्यो छानबिन

खाँण र उनकी पत्नी मञ्जुलाई सम्पत्ति फारम भराएर अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते २०:१३

१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।

‘केही दिनअघि उहाँहरु दुवै जनालाई बोलाएर सम्पत्ति सम्बन्धी फारम भराउनुका साथै केही सोधपुछ गरेर छाडेका हौं’ अख्तियार उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘दुवै जनालाई सम्पत्तिको फारम भरेर बुझाउन भनिएको छ । त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानुपातिकबाट सांसद भएकी थिइन् ।

‘मूलत: नक्कली शरणार्थी प्रकरणका बारेमा यहाँ उजुरी परेको हो, तर अहिलेको अनुसन्धान सम्पत्तिमा केन्द्रित छ’ अख्तियार स्रोतले भन्यो, ‘सार्वजनिक पदमा बसेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेको छ । काठमाडौं सरकारी वकिलको कार्यालयको पत्राचार समेत छ । त्यही आधारमा अनुसन्धान अघि बढेको हो ।’

केही दिन अघि मात्रै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद मञ्जु खाँणले केही सांसदहरुसँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखीकरण गर्ने र त्यसको हिसाबकिताबबारे चासो राखेकी थिइन् । त्यसक्रममा उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाउँबारे समेत सोधपुछ गरेकी थिइन् ।

एक सांसदले भने, ‘यसअघि आफू विभिन्न राजनीतिक मनोनयन र नियुक्त भएर काम गर्दा पाएको पारिश्रमिकको विवरण पाउने तरिकाबारे उहाँले सोधपुछ गरिरहनुभएको थियो ।’

अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेपछि आम्दानीको वैध स्रोत पुष्टि गर्नुपर्ने चुनौती हुन्छ । आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानुनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ ।

नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि पूर्व गृहमन्त्री खाँण यतिबेला पुर्पक्षका लागि थुनामा छन् । उनी लगायतले जिल्लाको आदेश बदर गरेर आफूहरुलाई सामान्य तारिखमा रिहा हुनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

नक्कली शरणार्थी मामिलामा तत्कालीन खाँणमाथि भ्रष्टाचारको अभियोग आकर्षित हुने तीन प्रमाणहरु सरकारी वकिलको कार्यालयले ठगी र किर्तेको मुद्दा चलाउने क्रममा जिल्ला अदालतमा पेश गरेको छ । खाँणमाथि घुसबापत १ करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ ।

प्रहरीको दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्वीकारेका थिए ।

केशवप्रसाद दुलालबाट बरामद भएको फोनमा टेकनारायण पाण्डेले ‘मन्त्रीज्यूको सामान रेडी भएन ?’ भनी रकम लेनदेनलाई संकेत गरेको सरकारी दाबी छ ।

शरणार्थी मामिलामा आरोपितहरु पक्राउ पर्ने र अनुसन्धान अघि बढ्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले स्वकीय सचिव नरेन्द्र केसी मार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई एक करोड रुपैयाँ दिएको र त्योमध्ये ३० लाख रुपैयाँ शेर्पाले राजुलाई बुझाएको प्रहरीको दाबी थियो ।

‘सरकारी वकिलको कार्यालयले पठाएको मिसिल र उजुरीको आधारमा उहाँहरुमाथि अनुसन्धान सुरु भएको हो’ अख्तियार स्रोतले भन्यो, ‘सम्पत्ति फारम भराउने लगायत प्रारम्भिक चरणका काम अघि बढेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?