+
+

नेपालीलाई पारिवारिक घुमघामका लागि १० विदेशी गन्तव्य

मनिषा थापा मनिषा थापा
२०८० भदौ ३ गते १७:५३

काठमाडौं । ‘बेलामौकामा घुम्नुपर्छ’ भन्ने चेतले नेपाली समाजलाई गतिशील बनाएको छ । फुर्सदको समयमा मात्र होइन, फुर्सद मिलाएर पनि घुमफिरमा निस्कनेहरुको ताँती लामो छ ।

हुन त घुम्नका लागि देशभित्रै पनि त्यस्ता गन्तव्य छन्, जसले नयाँपन महसुस गराउने मात्र होइन, मोहनी नै लगाउँछ । यद्यपि ‘मुख पनि फेरौं, देश पनि हेरौं’ भन्ने मनोविज्ञानले गर्दा अहिले मुलुकको संघार नाघेर टाढा-टाढासम्म पुग्ने प्रवृत्ति झांगिएको छ ।

खासगरी नेपालीहरुका लागि सहज र सस्तो गन्तव्य बनेको छ, भारत । भारतका गोवादेखि महाराष्ट्रसम्म, नैनीतालदेखि आगरासम्म फन्को लगाउने गरिएको छ । यद्यपि अहिले नेपालीहरुको घुम्ने गन्तव्य फेरिंदै र फैलिंदैछ ।

घुमघाम गर्ने त्यही संस्कृतिका कारण अहिले विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेजको व्यवस्था गरेको छ । हुन त आफ्नै पहलमा वा व्यक्तिगत हिसाबले पनि घुम्न सकिन्छ । यदि सामूहिक रुपमा घुम्ने हो भने टुर प्याकेजको लाभ लिन सकिन्छ ।

बाली (इण्डोनेसिया)

अहिले धेरैका लागि लोभलाग्दो गन्तव्य बनेको छ इन्डोनेसियाको बाली । खासगरी त्यहाँको भूगोलले आगन्तुकलाई आकर्षित गर्छ । समुन्द्री तटमा रमाउनेहरु हुन् वा रात्रिजीवनको रसरंगमा मिसिन चाहनेहरु, बाली सही लाग्न सक्छ । पानीमुनि कोरल आइल्याण्डको लागि विश्वव्यापी रूपमा बाली प्रख्यात छ ।

यहाँका ऐतिहासिक मठमन्दिरले पनि ठूलो संख्यामा मानिसलाई आकर्षित गरेको छ । किनमेलका लागि पनि यो रोज्जा गन्तव्य हो ।

बालीको सबैभन्दा लोकप्रिय पर्यटकीय क्षेत्र,  हो कुटा ।  यो लोभलाग्दो समुन्द्री तट र ठूला छालहरूको लागि परिचित छ । ठूला बजार किनमेल हब, समुन्द्र तट बार, रेस्टुरेन्ट, क्यासिनोर क्लबहरु छन् । बालीमा इन्डोनेसियन परिकार निकै चर्चित छ । खानेकुराको पारखीहरुको लागि इन्डोनेसियन परिकार नौलो स्वाद हुनसक्छ । ती बाहेक भारतीय परिकार पनि चाख्न पाइन्छ ।

खर्च

चार रात र पाँच दिनमा बाली मज्जाले घुम्न सकिन्छ । बालीमा भिसाको लागि २५० डलर पर्छ । प्याकेजमा जाँदा एक जना बराबर एक लाख ३० हजार रुपैयाँ पर्न आउँछ । परिवार नै जाँदा केही छुट हुन सक्छ ।

बैंकक (थाइल्याण्ड)

विश्वकै सबैभन्दा बढी पर्यटक भित्र्याउने सहरमध्येमा पर्छ थाइल्याण्डको राजधानी बैंकक । बैंककले सन् २०१७ मा दुई करोड ५० लाख विदेशी पर्यटक भित्र्याउँदै विश्वकै पहिलो पर्यटकीय सहर बन्न सफल भएको थियो ।

बैंकको रात्रि जीवन, खानेकुरा, गगनचुम्बी भवनले पर्यटकहरुलाई आकर्षित गराउँछ । त्यस्तै बैंकक मसाजको लागि पनि प्रख्यात छ । यहाँ पुगेकाहरुमाझ थाई र अरबिक मसाज निकै लोकप्रिय छ ।

बैंककमा विश्वको सबैभन्दा ठूलो चिडियाघर पनि छ । त्यहाँ एसिया र अफ्रिकाका लगभग सबै वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिन्छ । दरबार, संग्रहालय, पार्कहरुका साथै बैंककमा विभिन्न सपिङ सेन्टर पनि छन् । चतुचक वीकेन्ड मार्केट, साम्पेङ मार्केट, याओवरात र फहुरात नाइट मार्केट लगायत लक्जरी डिपार्टमेन्ट स्टोरहरू छन् ।

खर्च

नेपालबाट नजिक पर्ने भएकाले अन्य मुलुकको तुलनामा थाइल्याण्ड कम खर्चमा जान सकिन्छ । प्याकेजमा जाँदा पाँच दिन र चार रातमा मज्जाले घुम्न सकिन्छ । यहाँ औसतमा ७५ हजार रुपैयाँको प्याकेजमा घुम्न सकिन्छ । त्यसमा सुविधा अनुसारको खर्च अलि बढ्न सक्छ ।

गोवा

गोवा नेपालीहरुको लागि घुम्न जाने नजिकको गन्तव्य हो । यहाँको आकर्षण भनेको पालोलेम तटको शान्तप्रिय वातवारण, समुन्द्री तटको छाल, ठूला क्यासिनो, बागा समुन्द्री तटमा वाटर स्पोर्ट्सको आनन्द, दूध सागरको झरना र टीटो नाइट क्लबको माहोल छुटाउन हुँदैन ।

बागा उत्तरी गोवाको सबैभन्दा प्रख्यात समुन्द्र तट हो । समुद्र तट नजिक आकर्षक कटेज र माछा मार्ने डुंगाहरु छन् ।  समुन्द्री तट मुख्यतया प्यारासेलिङ र बनाना सवारी जस्ता पानी खेलहरूको लागि परिचित छ ।

गोवा घुम्नका लागि प्याकेजमा जाँदा प्रतिव्यक्ति ५० देखि ५५ हजार रुपैयाँ लाग्छ ।

दुब

दुबई सहर विश्वभरकै लागि विलासी गन्तव्य हो । पर्यटनलाई आफ्नो अर्थतन्त्रको प्रमुख हिस्सा बनाउँदै यूएईका सहरहरू विकसित छन् । दुबई संसारकै द्रुत गतिमा विकसित भइरहको सहर हो ।

यहाँ समुन्द्री तटहरू, भव्य होटल र विलासी भवन,  मानव निर्मित टापुहरू, चम्किलो स्काइलाइन, आकर्षक सपिङ मल छन् । सिटी टुर, बुर्ज खालिफा, गोल्डेन गेट, संग्राहलय, डेजर्ट सफारी दुबईका आकर्षण हुन् । धावा क्रुजमा डिनर पार्टी, सांस्कृतिक नाच प्रदर्शनले यहाँको रातलाई रंगीन बनाउँछ ।

सपिङ डेस्टिनेसनका लागि समेत विकसित दुबई खानाको लागि प्रख्यात छ । अरबिक खाना, चाइनिज, थाइदेखि  भारतीय र नेपाली परिकार दुबईमा उपलब्ध छन् ।

खर्च

दुबई टुर प्याकेज औसतमा ८० हजार रुपैयाँ पर्न आउँछ । त्यहाँ जान अनलाइन भिसा लगाउन सकिन्छ । तीन रात र चार दिनमा धीत मर्ने दुबई घुम्न सकिन्छ ।

बाकु (अजरबैजान)

बाकु अजरबैजानको प्रमुख पर्यटकीय गन्तव्य हो । एसियली संस्कृतिको मिश्रण देख्न पाइने बाकु ऐतिहासिक सहर हो । फ्लेम टावरहरू राजधानीको केन्द्रबिन्दु बन्छन् र सूर्यास्तपछि उज्यालो हुन्छन् । इचेरी शेर, मध्ययुगीन मूल, इस्लामिक शैलीको वास्तुकला देख्न सकिन्छ । सबैभन्दा सुन्दर आकर्षणहरू बाकु बुलेभार्डको छेउमा छन् ।

क्यास्पियन सागरको छेउमा लामो पैदल मार्ग र शहीद लेनको नजिक पहाडबाट उत्कृष्ट दृश्यहरू छन् । हाइल्याण्ड, गाबाला टुर, ज्वालामुखी क्षेत्रहरु भ्रमण गर्ने पर्ने क्षेत्र हुन् । विशेषगरी अरेबिक खाना र भारतीय खाना बाकुमा बढी पाइन्छ ।

खर्च

बाकुमा व्यक्तिगत रुपमा आफैं भिसा लगाउन सकिंदैन, त्यसैले एक्लै जान असम्भव छ । व्यक्तिगत भिसा लगाउन समय लामो र झन्झटिलो हुन्छ । प्याकेज खर्च औसतमा एक लाख रुपैयाँ माथि पर्छ ।

भियतनाम

भियतनाम समुन्द्री तट र हरियाली पहाडहरूले झनै मनमोहक बनाउने दृश्य हेर्न पाइन्छ । भियतनामका उत्कृष्ट पर्यटकीय स्थलहरू ची मिन्ह सिटी, हनोई, दा नाङ आदि हुन् । हो ची मिन्ह सहर ल्यान्डमार्क हो । यस सहरका फुड स्टलहरू स्वादिष्ट खानाका लागि प्रख्यात छन् । दा नाङ भियतनामको तटीय सहर हो ।  यहाँ बौद्ध गुफाहरू पनि छन् ।

मनसुन बढी हुने भएकाले मेदेखि सेप्टेम्बरसम्म दक्षिणी भाग र अक्टोबरदेखि अप्रिलसम्म उत्तरी भाग घुम्नका लागि उत्तम समय हो ।

खर्चको कुरा गर्न पर्दा ६० हजार रुपैयाँमा भियतनाम यात्राको मज्जा लिन सकिन्छ ।

सिंगापुर

सिंगापुर एसियाको व्यापारिक, पर्यटकीय तथा सांस्कृतिक देश हो । सिंगापुरको हकर्स सेन्टरमा १० डलर भन्दा कम पैसामा स्वादिष्ट खाना पाइन्छ । सिंगापुरमा रेस्टुरेन्ट र बारहरू राम्रो र पर्यटनमैत्री छन् ।

सिंगापुर वुडल्यान्ड्स, जुरोङ इस्ट, पुलाउ उजोङ आदि पर्यटकीय स्थलहरूका लागि चर्चित छन् । वुडल्यान्डहरू विभिन्न पार्क, स्मारक र विश्वकै ठूलो स्वीमिङ पुल सिंगापुरमा छ । वुडल्याण्डमा सिंगापुरको प्रकृतिको आनन्द लिन सकिन्छ । बर्ड्स पार्क, विज्ञान केन्द्र, म्युजियम आदिका लागि जुरोङपूर्व सबैभन्दा राम्रो ठाउँ हो ।

बालबालिकाका लागि खेल्नका लागि स्नो सिटी सबैभन्दा राम्रो ठाउँ हो । अर्को प्रख्यात पर्यटकीय स्थल पुलाउ उजोङ सिंगापुर टापु भनेर चिनिन्छ । यो सहर बगैंचा, चिडियाखाना, रात्रि सफारी, २४ घण्टा खुल्ने मुस्ताफा सपिङ सेन्टर आदिका लागि चर्चित छ । श्री मरियम्मन हिन्दू मन्दिर र सुल्तान मस्जिद पनि हेर्न पाइन्छ । सिंगापुर घुम्नका लागि सबैभन्दा राम्रो समय गर्मी र जाडोको बीचमा हो ।

खर्च

सिंगापुरमा तीन रात र चार दिनको प्याकेजमा घुम्न सकिन्छ । सिंगापुरमा जान भिसा लगाउन पर्दैन तर हवाई टिकट महंगो भएको कारण एक लाख रुपैयाँ माथि खर्च आउँछ ।

हङकङ

चीनको स्वशासित क्षेत्र हङकङ प्रमुख पर्यटकीय गन्तव्य हो । घुमघाम र किनमेल गरेर यहाँ आनन्द लिन सकिन्छ । अर्को आकर्षक पक्ष यहाँको चिनियाँ संस्कृति हो । सिंह र ड्र्यागन नृत्य, आतिशबाजी, कार्निभल आदि हङकङको रात्रि जीवनले पर्यटकलाई आकर्षित गर्छ ।

हङकङमा घुम्नका लागि उत्तम ठाउँहरू डिज्नील्याण्ड, भिक्टोरिया पीक आदि हुन् । डिज्नील्याण्ड बच्चाहरूसँग रमाइलो गर्नका लागि प्रख्यात पार्क हो । पीक ट्राम हङकङको हवाई दृश्यको आनन्द लिन र भिक्टोरिया चुचुरोसम्म पुग्ने आकाशमार्ग हो ।

खर्च

हङकङ भ्रमणको चार रात र पाँच दिनको प्याकेजमा घुम्न एक लाख रुपायँ माथि खर्च आउँछ ।

माल्दिभ्स

माल्दिभ्स सेतो चखिला बालुवा र पानीले भरिएको समुन्द्र तटहरू, चट्टानमा खेलिरहेका थरीथरीका माछाहरू, क्रिस्टलीय धातु, पाम-फ्रिन्ड टापु, आकर्षक वाटर भिलाहरु विश्वभर लोकप्रिय छन् । यस द्वीप समूहको सौन्दर्यलाई यसको पानीमुनिको संसारलाई आकर्षक मान्ने शार्कहरू र कोरलहरूको आकर्षक दृश्यका साथै किनारमा ठक्कर दिने नीला छालहरूबाट परिभाषित गर्छ ।

माल्दिभ्सले हनिमुन र बिदा मनाउनेलाई सधैं लोभ्याउँछ । यो टापु देश माल्दिभ्समा सबै प्रकारका पर्यटकहरूका लागि अनुकूल वातावरण मिल्छ । जहाँ साहसिक खोजीहरूले ब्यान्डोस टापुमा स्नोर्कलिंग र क्याटामरन डुंगामा संलग्न हुन सक्छन् । रिसोर्ट आइल्याण्डमा मसाज र मैनबत्तीको उज्यालो डिनरको मजा लिन सक्छन् । माल्दिभ्स भ्रमणका लागि सबैभन्दा उपयुक्त समय सुख्खा मौसम हो । यसबेला पानी खेलकुद, घाम नुहाउने र किनमेलको मज्जा लिन सकिन्छ ।

खर्च

टिकट र बस्ने ठाउँअनुसार अन्य देशभन्दा महंगो छ । सामान्यतया डेढ लाख रुपैयाँबाट प्याकेज सुरु हुन्छ ।

मलेसिया  

छोटो समयमै आर्थिक प्रगति गरेको मलेसिया घुम्नका लागि निकै चर्चित छ । कामदारका रुपमा धेरै नेपाली पुगेका छन्, यद्यपि घुम्न जाने नेपालीको संख्या पनि मलेसियामा उल्लेख्य हुने गरेको छ ।

यहाँको नाइटलाइफको मज्जा, समुन्द्री तट, सुन्दर पार्क र वन्यजन्तुहरू जस्तै राष्ट्रिय निकुञ्जको केन्द्र मुख्य आकर्षण हो । राजधानी क्वालालम्पुरमा स्वादिष्ट परिकार, आलिसान भवनहरू, सपिङ मल, बजार, नाइट लाइफ प्रख्यात छ ।

मलाक्का व्यापारिक बन्दरगाह हो । यो बन्दरगाह हाल युनेस्कोको विश्व सम्पदाको सूचीमा पनि परेको छ । यहाँ रहेको पुरातन भवन र समुन्द्री तटले मानिसहरूलाई आकर्षित गर्छ । पेनाङ हिल मलेसियामा अवस्थित यसलाई स्थानीय मानिसहरूले बुकेट बडोरा भनेर चिन्छन् । यो मलेसियाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ ।

खर्च

मलेसियाका लागि अनलाइन भिसा तीन दिनभित्र आउँछ । चार रात, पाँच दिनको प्याकेजमा ७० हजार रुपैयाँमा मलेसिया घुम्न सकिन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?