+
+

‘कुटुमा कुटु’ र ‘बुलुबुल’की हिरोइन भनेर मात्रै चिनिन चाहन्नँ : स्वस्तिमा खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १८:१३

काठमाडौं । भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’ दुई कारणले स्मरणीय हुन सक्छ । पहिलो- यसले राजनीति र समाजको आयामलाई बुन्ने प्रयास गरेको छ । दोस्रो- निर्देशकदेखि कलाकारसम्मको टीमअप आकर्षक छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउतले महिला निर्देशकसँग सहकार्य गर्न अनुभव बाँडे । अभिनेत्री राउतले महिला निर्देशक भए पनि महिला कलाकारलाई काम गर्न सजिलो भएको अनुभव सुनाइन् । ‘काम गर्न पक्कै सहज भयो,’ उनले भनिन् ।

अभिनेत्री खड्काले महिला निर्देशकसँग काम गर्दा मेकअप, हेयर, पात्र निर्माणदेखि सेटमा हुने सिर्जनात्मक कार्यमा सहभागिता बढी हुने बताइन् । ‘मेल निर्देशकसँग यी कुरामा सहभागिता कम हुन सक्छ । तर फिल्म मेकिङमा मेल र फिमेल भनेर हेर्नु उचित पक्कै होइन,’ उनले भनिन् ।

निर्देशक कृषा चौलागाईंले पत्रकार सम्मेलनमा फिल्म निर्माण र महिला दृष्टिकोणबारे धारणा राखिन् । अभिनेत्री राउतले फिल्मको पोस्टर र टिजरमा आफूलाई संक्षिप्त भूमिका दिइएकोमा असन्तुष्टि जनाएको चर्चाको खण्डन गरिन् । ‘सुटिङकै बेला रोल काटेको भए म यहाँसम्म आइपुग्दिन थिएँ । मिडियामा आएजस्तो कुरा पक्कै होइन । मलाई मेरा हरेक फिल्म रोचक लाग्छ । यो फिल्मप्रति पनि झनै आशावादी छु,’ उनले भनिन् ।

अभिनेत्री खड्काले धेरै दृश्य भएर मात्र फिल्म राम्रो नहुने बताइन् । ‘यो पहिलाको कन्सेप्ट हो । अब हामी यस्ता प्रश्नबाट मुभ हुनुपर्छ,’ उनले भनिन्, ‘अब मलाई दर्शकले कुटुमा कुटु फिल्मकी हिरोइन भनेर मात्र नचिनोस् । बुलबुलकी कलाकार भनेर मात्र नचिनोस् । म सबैखाले फिल्म गर्न चाहन्छु,’ उनले भनिन् ।

फिल्ममा राजनीतिक कथावस्तु समेटिएको सन्दर्भको प्रश्नमा उनले कलेज जीवनबाट आफूले बुझेको राजनीति र भोटर भएर बुझेको राजनीतिमा भिन्न रहेको बताइन् । ‘कलेजमा पढ्दा कलेज बन्द गर्ने, टायर बाल्ने कुरालाई राजनीति भनेर बुझेको थिएँ । तर अहिले आएर राजनीति भनेको नीति हो, हाम्रो मुड कस्तो छ । सबै कुरालाई राजनीतिले प्रभाव पारेको हुने रहेछ भनेर बुझें,’ उनले भनिन् ।

अभिनेता मुकुन भुसालले फिल्म उद्योग किराना पसलजस्तो नभएको बताए । बलिउड फिल्म ‘पठान’मा सलमानले शाहरुख खानलाई साथ दिंदा व्यापार सफल भएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि यस्तो साथ जरुरी रहेको बताए ।

‘एकअर्काले साथ दिने हो भने फिल्मको बजार फस्टाउन गाह्रो हुँदैन । कलाकारको इगोले फिल्म बजार यस्तो भएजस्तो लाग्दैन । सँगै काम गरेकोमा यस्तो देखिएन,’ उनले भने, ‘छैटौं फिल्मसम्म आइपुग्दा हरेक फिल्ममा नयाँ काम गरिरहेको छु । मन भएर मात्र पुग्दैन । मन भयो भन्दैमा मात्र हुँदैन, मेकरले कसरी अप्रोच गर्नुहुन्छ । मनको बहकाउमा भन्दा पनि आएका काममध्ये सेलेक्ट गरेर काम गरेको छु ।’

तस्वीर सौजन्य : ज्ञानु राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?