+
+

उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १२:३७

४ भदौ, विराटनगर । कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । तर, उपसभामुख नै अनुपस्थित भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेन् ।

सत्तारुढ गठबन्धन आजको बैठक स्थगित गर्ने पक्षमा छ । तर, स्थगित हुँदा कसले स्थगित गर्ने भन्ने पनि अन्योल छ ।

नेकपा माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरका अनुसार सोमबार बिहान ८ बजेका लागि बोलाइएको परामर्श समितिको बैठक दिउँसोका लागि सारिएको छ । सो बैठकमा सहमति भए प्रदेश सभा बैठक सञ्चालन हुने उनले बताए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो उपसभामुखले बैठक सञ्चालन गर्नु पर्ने बताउँछन् ।

सञ्चालन नगरेको खण्डमा उपसभामुखले नै बैठक स्थगित गर्नुपर्ने उनको भनाइ छ ।

विश्वासको मतको प्रयोजनका लागि मात्रै बैठक सञ्चालन गर्न सत्ता गठबन्धनको सांसदले जिम्मेवारी नालिने उनले बताए । ‘उपसभामुखले बोलाएको बैठक उहाँले नै स्थगित गर्ने हो,’ उनले भने, ‘जिम्मेवारी नलिएका व्यक्तिले स्थगित गर्ने कुरा आउँदैन् ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुखले लिखित रुपमा जिम्मेवारी दिएका कारण बैठक सञ्चालन गर्ने वा नगर्ने जिम्मेवारी अध्यक्ष मण्डलका सदस्य सांसद इस्राइल मन्सुरीको भएको बताउँछन् । ‘उहाँले जिम्मेवारी लिनु पर्‍यो, कि उहाँले पनि अर्कालाई फेरि दिनुपर्‍यो त्यसैगरी लेखेर,’ उनले भने,’उहाँले नलिने भनेर उपसभामुखलाई जानकारी गराए उपसभामुखले अर्काेलाई तोक्नुहुन्छ ।’

जिम्मेवारी तोकिएका सांसदले जिम्मेवारी नलिए उपसभामुख आएपछि मात्रै बैठक हुने उनले बताए । उनले भने,’जिम्मेवारी लिन्न भनेको अवस्थामा असरल्ल हुन्छ, अस्ती ५-६ दिनसम्म प्रदेशमा सरकारविहीन भएजस्तै ।’

गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापालाई विश्वासको मत लिनका लागि भदौ १३ गतेसम्मको समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?