+
+

ललितानिवासको २२ रोपनी जग्गा सासू, श्रीमती र सालोको नाममा कर्मचारीलाई बकस (नामावलीसहित)

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ ४ गते १८:०२

४ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा सरकारी लिखत किर्ते गरेर हडप्न ९ जना कर्मचारी र दुई बिचौलियालाई २२ रोपनी १० आना जग्गा बकस दिएको पाइएको छ ।

सरकारी छाप दस्तखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । त्यसमा जग्गा हडप्न सहयोग गरेबापत २२ रोपनी १० आना जग्गा घुस लिने कर्मचारी र बिचौलियाको विवरण उल्लेख गरिएको छ ।

ती जग्गा २०४९ देखि २०५१ सालको अवधिमा व्यक्तिको नाममा गएको प्रतिवेदनमा उल्लेख छ । रायसहितको प्रतिवेदनमा उल्लेख भएअनुसार मालपोत विभागमा २०४६ सालको मंसिरदेखि २०४७ सालको केही समयसम्म मालपोत अधिकृत रहेका प्रेमबहादुर खापुङले १ रोपनी १४ आना २ पैसा जग्गा लिएका थिए । उनले श्रीमती खिमादेवी आङबुहाङ र भिनाजु मोहनप्रसाद भट्टराईको नाममा जग्गा लिएको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीसँग कागज गर्दै उनकी श्रीमती खिमादेवीले अरु केहीसँग मिलेर जग्गा प्राप्त गरेको भए पनि कसरी किनेको भन्ने थाहा नभएको बताएका छन् । ‘त्यो जग्गा सुवेदी थरका व्यक्तिहरुलाई २०६१ सालतिर बेचेको भन्ने सुनेको हुँ’, उनले भनेका छन् । ललितानिवासको हडप्ने क्रममा तयार गरिएको केही सरकारी कागजातमा उनको हस्ताक्षर पनि फेला परेको छ । तर, उनले ‘सम्बन्धित फाँटवालाले ल्याएको कागजातहरु विश्वासमा परेर सही गरी पठाएको’ भनेका छन् ।

मालपोत कार्यालय, भक्तपुरका तत्कालीन शाखा अधिकृत (पूर्वनिर्वाचन आयुक्त) सुधीर शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको उल्लेख छ । शाह अहिले सीआईबीको हिरासतमा छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईंको नाममा ३ रोपनी ५ आना जग्गा लिएको प्रतिवेदनमा उल्लेख छ । शाह र चापागाईं दुवैले सीआईबीसँग आफूहरुले जग्गा खरिद गरेको दाबी गरेका छन् ।

सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा भेटिएको छ । भण्डारीले सासू सोदाकुमारी चापागाईंको नाममा कित्ता नं. १९ को १० आना जग्गा राखेको देखिएको सीआईबीको रायसहितको प्रतिवेदनमा उल्लेख छ ।

मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङले सालो मोहनप्रसाद भट्टराई र उनकी श्रीमती शशिकला सुब्बाको नाममा कित्ता नंं १३ को १ रोपनी ३ आना जग्गा लिएको भनिएको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंको नाममा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा जग्गा लिएको उल्लेख छ । सरकारले राजनीतिक कारणले जफत गरेको जग्गा २०४७ सालमा हदबन्दी टुंगो लगाएर गृह मन्त्रालय मार्फत फिर्ता दिने निर्णय भएको थियो । तर, त्यसको विपरीत सुनीति राणा समेतको नाममा जग्गा दर्ता गर्न पुडासैनी समेतको संलग्नता रहेको सीआईबी निष्कर्ष छ ।

पुडासैनी नासु रहेका बेला प्रमुख मालपोत अधिकृत कलाधर देउजाले साढुदाइ इन्द्रबहादुर थापाको नाममा कित्ता नं. २८ को २ रोपनी ८ आना जग्गा लिएका छन् । मालपोत विभागका तत्कालीन निर्देशक मुकुन्दप्रसाद आचार्यले १ रोपनी जग्गा ज्वाईं बैकुण्ठ शर्मा रेग्मीको नाममा लिएको भेटिएको छ ।

देउजाको निर्णयका आधारमा २३ पुस २०४९ मा मिसिल नम्बर १०२४ को आधारमा २८ रोपनी १५ आना १ पैसा क्षेत्रफलको १९ कित्ता सरकारी जग्गा व्यक्तिको नाममा गएको सीआईबीको अनुसन्धानले देखाएको छ । ‘श्री ५ को सरकार गुठी’को नामको श्रेस्ता खारेज गरेर उनले सुनीति राणा, हेमनशमशेर जबरा र हाटकशमशेर जबरा समेतको नाममा जग्गा पास गरिदिएका थिए ।

कित्ता नं. २५ समेतको ७ रोपनी १४ आना जग्गा पनि श्री ५ को सरकार गुठी नामको श्रेस्ता खारेज गरेर व्यक्तिको नाममा लगेको खुलेको छ ।

समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल विनोदप्रसाद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा कित्ता नं. २१ र ३४ को २ आना र ११ आना जग्गा लिएको पाइएको छ । गृह मन्त्रालयको समरजंग कम्पनीमा अर्जुन भण्डारी प्रमुख रहेका बेला बिचौलियाले ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा नक्कली पशुपति टिकिन्छा गुठीको नाममा लैजाने प्रयास थालेका थिए ।

अनुसन्धान अधिकृतहरूका अनुसार, २०१७ सालको अंशबण्डाको लिखतमा गुठीको नाम उल्लेख छैन । २०२३ सालको नापीमा पनि गुठीको नाम श्री ५ को सरकार उल्लेख छ । २०४१ र २०४७ सालको नापीको फिल्ड बुकमा अहिले हडपिएको भनिएको जग्गाको धनी श्री ५ को सरकार समरजंग कम्पनी उल्लेख रहेको अधिकृतहरू बताउँछन् । तर, समरजंग कम्पनीको नाममा भएको २१ कित्ता जग्गा पशुपति टिकिन्छा गुठीको भएको भन्दै आशामाया महर्जनसहित १३ जना मोही भनिएकाको वारेसमा रामकुमार सुवेदीले गुठी संस्थानमा निवेदन दिएका थिए ।

त्यसक्रममा संस्थानको तहसिल शाखाले ३२ असार २०५९ मा ‘सो जग्गाहरू समरजंग कम्पनी अन्तर्गतको कस्तो प्रकृतिको जग्गा हो ? निवेदकको मागदाबी अनुसार गुठी कायम गर्न मिल्ने जग्गा हो वा होइन ? सो सम्बन्धी कार्यालयको प्रतिक्रिया पठाइदिन’ भन्दै पत्राचार गरेको थियो । जवाफमा भण्डारीले ‘उल्लेखित जग्गाको रेकर्ड नभेटिएको’ जवाफ पठाएका थिए । त्यही आधारमा जग्गा हडप्ने प्रक्रिया सुरु भएको अधिकृतहरुको भनाइ छ ।

पछि गुठी संस्थानबाट त्यो जग्गाहरुको सम्बन्धमा अभिलेख पठाउन भनेर पत्राचार हुँदा विनोदले गलत प्रलोभनमा परेर आफ्नो जिम्मामा रहेको जग्गाको अभिलेख नष्ट गरेको सीआईबीको निष्कर्ष छ । उनले गुठी संस्थानले सार्वजनिक सूचना जारी गर्दा समेत ‘मौन बस्दा समरजंग कम्पनीको हक मर्न गएको’ सीआईबीको निष्कर्ष छ ।

मालपोत कार्यालय, डिल्लीबजारका खरिदार युक्तप्रसाद श्रेष्ठले बहिनी निर्मलादेवीको नाममा कित्ता नं. २० र २६ को क्रमशः ५ आना र १ रोपनी ८ आना जग्गा लिएका रायसहितको प्रतिवेदनमा उल्लेख छ ।

बिचौलिया रामकल्याण अधिकारी र रामनाथ घिमिरेले पनि ललितानिवासभित्रको जग्गा लिएका छन् । अधिकारीले कित्ता नं. ९२ को ८ आना र कित्ता नं. ७० को २ रोपनी ४ आना जग्गा लिएका छन् । घिमिरेले कित्ता नं. ८३ को ३ रोपनी ४ आना जग्गा लिएका छन् ।

हेर्नुस् सूची

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?