 
																			४ भदौ, काठमाडौं । तपाईं कुनै काम लिएर सिंहदरबारभित्रका कुनै मन्त्रालय वा कार्यालयमा जानुभएको छ भने ढोकै अगाडि गाडी रोकेको पक्कै देख्नुभएको होला । भित्र प्रवेश गर्ने बाटोसमेत छेकेर राखिएका गाडी त्यस कार्यालय वा मन्त्रालयका सबैभन्दा उच्च तहका व्यक्तिहरू मन्त्री वा सचिवको हो ।
ती गाडीको पछाडि अरु धेरै गाडीहरु लाइन लगाएर राखिएको पनि देखिन्छ । धेरै जनसम्पर्क हुने मन्त्रालयहरुमा त गाडीले बाटो छेक्दा सर्वसाधारणहरु भित्र प्रवेश गर्ने बाटो नपाएर अलमलमा समेत पर्छन् ।
मन्त्रालयहरुमा मन्त्रीका जस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रधानमन्त्रीको गाडी रोकिएको हुन्छ । धेरै मन्त्रालयको ढोका वरपर बोर्ड नै राखेर लेखिएका छन्, ‘मन्त्री र सचिवज्यूबाहेकको गाडीलाई पार्किङ निषेध गरिएको छ ।’
मन्त्री र सचिवको गाडी ढोकैमा किन रोकिन्छ त ? धेरैले यसलाई सिंहदरबारको संस्कार भनेर टिप्पणी गर्ने गरेका छन् । अहिलेसम्म मन्त्री, सचिव, सहसचिव र अन्य कर्मचारीको गाडी कहाँ कसरी राख्ने भन्ने नियम, मापदण्ड छैन । यो मन्त्रालयहरु आफैंले जोगाएर राखेको पुरानो परम्परा हो ।
ढोकामा मन्त्री र सचिवको गाडीलाई दिइएको ‘आरक्षण’को परम्परागत व्यवस्थालाई अंगाल्दै प्रधानमन्त्री र मन्त्रीहरु ढोकामै पुगेर गाडीबाट उत्रिन्छन् । उनीहरु मन्त्रालयमा रहँदासम्म गाडी ढोकामै रहन्छ । मन्त्रालयबाट बाहिरँदा ढोकैबाट गाडी चढ्छन् ।
यसरी गाडी रोक्दा काम विशेषले मन्त्रालय जानेहरुलाई असुविधा मात्र होइन, हाम्रा प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ सरकारी अधिकारीहरुको सभ्यता पनि छर्लङ्गै पारिदिएको छ ।
कसैले नत्यागेको प्रचलन
पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वअध्यक्ष सूर्यनाथ उपाध्याय झण्डावाला गाडीले ढोकामा लगेर मन्त्रीलाई छाड्ने र ढोकैमा लिने जाने प्रचलन पुरानै भएको बताउँछन् । उनको सम्झनामा पञ्चायतकालमा ढोकामै गाडी रोक्ने चलन झांगिसकेको भने थिएन । ‘मन्त्रीलाई झारेर मन्त्रालयको आँगनतिर गाडी रोकिन्थे,’ उनले ब्यंग्य गर्दै भने, ‘प्रजातन्त्रिक व्यवस्था भएकाले अहिले यस्तो प्रवृत्ति थप मौलाएको होला ।’
बहुदलपछि नेपाली कांग्रेस, नेकपा एमाले, माअोवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश केन्द्रित दलका धेरै नेता मन्त्री भए, सबैले यही संस्कारलाई निरन्तरता दिए । देशमा पटक–पटक व्यवस्थाहरु बदलिंदा पनि यो मामिलामा सिंहदरबारको संस्कार बदलिएको छैन ।
हिजोआज मन्त्री र सचिवहरु मन्त्रालयमा छन् कि छैनन् भन्ने थाहा पाउन ढोका अगाडिको गाडी हेरे पनि हुने भएको छ । एक बहालवाला सचिव सबैले सामान्य रुपमै लिएकाले सिंहदरबारमा यो अभ्यासलाई स्वभाविक रुपमा लिइन्छ । कतिपय मन्त्री र सचिवले ढोकाबाटै गाडी चढ्ने र ओर्लनेलाई आफ्नो शक्तिको अभ्यासको रुपमा पनि लिएका छन् ।
‘हुन त यो अनुशासनको पनि विषय हो, तर हाम्रोमा कसैले पनि यस्तो अभ्यास तोड्न सकेका छैनन्’, ती सचिवले भने, ‘सिंहदरबारको नियमित दृश्य भएकाले पनि पनि यसको गाम्भीर्यलाई ध्यान दिएको रहेनछु ।’
‘फेर्नुपर्ने व्यवस्था’
पूर्वसचिव गोपीनाथ मैनाली कुनै वृद्ध व्यक्ति मन्त्री हुँदा ढोकैसम्म पुर्याउने र कुरेर बस्ने प्रचलनबाट यसको थालनी भएको हुन सक्ने बताउँछन् । मन्त्री÷सचिवको गाडीलाई ढोकामा तेस्र्याउने प्रचलनले जनप्रतिनिधि तथा कर्मचारी र सर्वसधारणबीचको अन्तर सहजै छुट्टिने उनले बताए ।
शक्ति सम्पन्न पदाधिकारीले मन्त्रालयको छिर्ने बाटो नै मिचेरै गाडी रोक्ने गर्दा सर्वसधारणले शक्ति र सत्तामा पुग्नेहरुसँग धेरै आशा गर्न नसक्ने उनको तर्क छ । त्यसले मन्त्रालय परिसरमा उपस्थित सर्वसधारणसँग हुने संवाद पनि घटेर सत्ता र जनताबीच दूरी बढ्ने मैनाली बताउँछन् ।
‘सिंहदरबारमा पार्किङको समस्या छ, साँघुरो सिंहदरबारभित्र गाडी धेरै भएर समस्या भएको पनि छ’, उनी भन्छन्,‘तर, मन्त्री र सचिवकै गाडी ढोकामा अगाडि रोक्नुको अर्थ र औचित्य कसैगरी पुष्टि हुन सक्दैन, यसलाई गलत अभ्यास मानेर सच्याउनु नै पर्छ ।’
विगतमा कतिपय मन्त्री र सचिवहरुका गाडी प्रहरी गणमा र मन्त्रालयहरुका गाडी रेडियो नेपालसँगैको खाली जमिनमा रोक्ने प्रचलन पनि थियो । तर मन्त्रालयको ढोकैमा गाडी राख्दा उच्च पदस्थले सहज मानेपछि यो चलन पनि हरायो । पूर्वसचिव मैनाले सरकारले चाहेमा सिंहदरबारभित्र व्यवस्थित पार्किङ स्थल बनाउन सक्ने बताउँछन् ।
‘विदेशी पाहुनाहरु आउँदा पनि ढोकाअगाडि गाडी रोकेको देखिने अवस्थाले हाम्रो प्रतिष्ठामा समेत धक्का दिन्छ’, उनी भन्छन्, ‘हाम्रो संघीय सचिवालय र मन्त्रालयहरुको व्यवस्थापन पक्षलाई पनि यसले साह्रै कमजोर देखाइदिन्छ ।’
पूर्वसचिव उपाध्याय आफ्नो गाडीको पार्किङबारे मन्त्री र सचिवहरुले चासो नै नदिने गरेको बताउँछन् । यो विषय चालकको जिम्मामा भएको भन्दै उनले जो पनि आफूलाई सकेसम्म ‘ठूलो’ देखाउने प्रवृत्तिमा लाग्दा यस्तो अवस्था आएको बताउँछन् ।
‘मन्त्रीर सचिवले मन्त्रालय ढोका अगाडि गाडी नरोक्नू भनिदिए त यस्तो अवस्था हट्थ्यो’, उनी भन्छन्, ‘सबैले सानोतिनो कुरा भनेर बेवास्ता गर्दा नै यस्तो भइरहेको त हो ।’

 
  
  
  
   
   
  
 
तस्वीरः शंकर गिरी/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4