+
+

माधव–झलनाथ टकरावले एकीकृत समाजवादीमा चिन्ता

दिपेश शाही दिपेश शाही
२०८० भदौ ६ गते २१:००

६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा नेताहरुले नेतृत्वलाई मिलेर अगाडि बढ्न दबाब दिएका छन् ।

मंगलबार सुरु पार्टीको छैटौं केन्द्रीय कमिटी बैठकमा नेताहरुले पार्टी निर्माण प्रक्रियामा अनेक समस्या झेल्नु परिरहेकाले नेतृत्वमै देखिएको मतभेदप्रति चिन्ता गरेका थिए ।

पहिलो दिन अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले केही राजनीतिक एजेन्डामा भिन्न मत राखेका थिए । त्यसपछि अध्यक्ष नेपालले राखेको राजनीतिक प्रतिवेदनमा पहिलो दिन मंगलबार ३० जना र दोस्रो दिन ८५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

अधिकांशले पार्टी निर्माण प्रक्रियामा भोगेका समस्या र अबको भविष्यबारे चिन्ता गरेको महासचिव घनश्याम भूसालले बताए । ‘आम रूपमा पार्टी निर्माणका क्रममा भोगेका अप्ठेरा, जटिलता, काम गर्दाका दुःख र त्यसबीचमा आन्दोलनलाई अगाडि बढाउनु पर्ने आवश्यकता र त्यसका लागि आवश्यक पर्ने हाम्रो आन्तरिक एकताको विषय र कार्यक्रमको कुराहरू उठेका छन्’, महासचिव भुसालले भने ।

‘साथीहरू सबै एक ठाउँमा हुँदैनन् । केही न केही मतभिन्नता भइहाल्छ । जीवन्त पार्टीमा बहस हुन्छ, यस्तो भएन भने पार्टी नै रहँदैन’, केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘तर सबैले मिल्नुपर्छ भन्ने कुरालाई प्राथमिकता दिनुभएको छ ।’

अन्य धेरै विषयहरू आए पनि पार्टीको मूल नेतृत्व एक ठाउँमा आएर जानुपर्ने धारणा राखेको चौधरीले बताए । उनका अनुसार, केन्द्रीय सदस्यहरूले पार्टी र आन्दोलन निर्माणको चुनौतीपूर्ण परिस्थितिलाई ध्यान दिएर एउटै दस्तावेज ल्याउन जोड दिएका छन् ।

‘नेताहरू बाझेर हुँदैन । नेता मिल्दा पार्टीका तल्ला कमिटीमा मिलेर जान सजिलो हुन्छ । नेता नै बाझ्न थालेपछि पार्टीका कमिटीमा पनि एकरूपता आउँदैन भन्ने विषय प्राथमिकताका साथ आएको छ’, चौधरीले भने, ‘विशेष गरी अध्यक्षले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन र त्यसमा सम्मानित नेता खनालले उठाउनुभएका केही प्रसंगको हकमा पनि खुलेर छलफल भइरहेको छ ।’

अध्यक्ष नेपालले पेश गरेको राजनीतिक दस्तावेजमाथि नेता खनालले सैद्धान्तिक र कार्यगत पक्षमा नै प्रश्न उठाएका छन् । नेपालले राजनीतिक प्रतिवेदनमा पार्टीको आन्तरिक कारणले जटिलता उत्पन्न भएको भन्दै त्यसलाई छुट दिन नसकिने उल्लेख छ ।

नेता खनालले पार्टी कमजोर हुनुमा एमालेसँग सैद्धान्तिक र नीतिगत रूपमा भिन्न देखिन नसक्नु रहेको भन्दै फरक धारणा पेस गरेका छन् ।

‘पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्नु अनुशासनहीन र अराजक कार्य हो । त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्त रोकिनुपर्छ । त्यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन सकिँदैन’, अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

नेपालले प्रतिवेदनमा पार्टी सानो छ भन्ने लघुताभास, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि मात्रै देखाउने, पार्टीको सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्न नसक्ने, जिम्मेवारी लिने तर त्यसलाई बहन नगर्ने प्रवृत्तिका कारण पार्टी कमजोर बन्दै गएको विश्लेषण गरेका छन् ।

तर, नेता खनालले पार्टी कमजोर हुनुमा एमालेसँग सैद्धान्तिक र नीतिगत रूपमा भिन्न देखिन नसक्नु रहेको भन्दै फरक धारणा पेस गरेका छन् ।

उनले पार्टीले प्रधान राजनीतिक अन्तरविरोध निक्र्यौल गर्न नसकेको, प्रधान शत्रु वा प्रतिद्वन्द्वीको निर्धारण नगरेको, एमालेलाई शत्रु र दक्षिणपन्थी शक्तिलाई मित्र शक्ति मानेर जाँदा पार्टी कांग्रेस र माओवादी केन्द्रको पिछलग्गुजस्तो बनेको भन्दै फरक धारणा राखेका थिए ।

‘एमालेको नेतृत्वसँग हाम्रो पार्टीको अन्तरविरोध चर्को छ । तर, राजनीतिक शक्तिको हिसाबले त्यो अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो’, खनालले भनेका थिए, ‘एमालेलाई शत्रु शक्तिजस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने र एमालेलाई मुख्य निशाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनुपर्छ ।’

नेपालले भने एमालेसँग स्पष्ट भिन्नता रहेको दावी गर्दै कांग्रेस र माओवादी केन्द्रसँगको अहिलेको गठबन्धनलाई लामो समयसम्म टिकाएर लैजानुपर्ने आवश्यकतालाई औंल्याइएका छन् ।

निर्वाचनपछि १० पुसमा माओवादी केन्द्रले एमाले, रास्वपा र राप्रपासँग नयाँ गठबन्धन बनाएर सरकार निर्माण गर्न केपी शर्मा ओलीले संविधानविरुद्ध आफ्नो आक्रमणलाई सही ठहर्‍याउने र नयाँ सरकारलाई आफ्नो योजना अनुसार सञ्चालन गर्ने चालबाजीका रूपमा विश्लेषण गरिएको छ । त्यसैले एमालेसँग भन्दा पनि कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धन सही रहेको नेपालको धारणा छ ।

‘निर्वाचनपछि राजनीतिमा देखिन थालेको विकृतिलाई रोक्न त्यो (कांग्रेस र माओवादी केन्द्रलगायत शक्तिसँग गठबन्धन बनाउनु) एक महत्वपूर्ण कदम हो’, नेपालको तर्क छ, ‘पाँचै वर्ष सरकार टिकाउने ध्येय र त्यसका लागि आवश्यक सहमतिका साथ बनेको यस गठबन्धनले प्रतिनिधि सभाको यस कार्यकालभरि स्थिरताको विश्वास जगाएको छ ।’

पार्टी सचिव रामकुमारी झाँक्रीले बैठकमा छलफल स्वाभाविक रहेकाले सबै विषयको टुंगो महाधिवेशनमा लाग्ने बताइन् ।

‘कसैलाई सिद्धान्त चित्त बुझ्दैन, कसैलाई कार्यक्रम चित्त बुझ्दैन । चित्त नबुझेका विषयहरू बैठकमा आइनै हाल्छन्’, सचिव झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘दुवै कोणबाट विषय उठेको छ । केहीले जबजलाई गुरुमन्त्र नै हो भनेका छन्, केहीले होइन यो त कार्यक्रम मात्रै हो पनि भनेका छन् । मूलतः अब हामी अघि बढ्नुपर्छ भन्ने नै छ ।’

उनले प्रतिवेदनमा नेपाल र खनालबीच देखिएको मतभिन्नता पार्टी महाधिवेशनबाट हल हुने बताइन् । ‘यो केन्द्रीय कमिटीको प्रतिवेदन मात्रै हो । महाधिवेशनमा पेस हुने दस्तावेज अर्को हुनेछ, त्यसमा यी सबै विषय समेटिन्छन्’, उनले भनिन्, ‘प्रतिवेदन लेख्ने जिम्मेवारी नै झलनाथ कमरेडले पाउनुभएको छ । महाधिवेशनको दस्तावेजमा अपुग विषयलाई उहाँले समेट्नु होला नि त !’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?