+
+
ब्लग :

फोहोर-मानिस सम्बन्ध

आफ्नो घर भित्र-बाहिर, बाटो-घाटो, धारा, विद्यालय हाता सफाइमा सबैको जिम्मेवारी वहन गर्न सक्ने इच्छाशक्ति हुनुपर्छ । सरसफाइ समुदायको दायित्व हो किनकि संघ-संस्थाले पहल र अगुवाइ मात्र गर्ने हो ।

अजयकुमार झा अजयकुमार झा
२०८० भदौ १० गते १३:०८

सफाइ भनेको उज्ज्वलता, निर्मलता, स्वच्छता, पवित्रता हो । सफाइप्रति प्रेम र फोहोरप्रतिको घृणा भावले मानिसको सरसफाइप्रतिको दृष्टिकोण स्पष्ट पार्दछ । सरसफाइ मानिसले स्वयं गर्ने कार्य हो । हाम्रो सनातन संस्कृतिमा यो मान्यता छ कि जहाँ सफासुग्घर रहन्छ त्यहीं लक्ष्मीको वास हुन्छ ।

यसर्थ महालक्ष्मीको उपासना गर्नुको अर्थ आफ्नो घरपरिवार वरपर सफासुग्घर बनाएर राख्नु सनातनधर्मीको धर्म, कर्तव्य र आचरण हुन आउँछ । सनातन धर्मग्रन्थहरूमा सरसफाइ, स्वच्छता र पवित्रताको विषयमा निर्देशनको व्यापकता छ ।

देवालय भन्नासाथ पवित्र स्थान मानिन्छ । देवालय र तीर्थालयमा जाँदा मानिस पवित्र भएर जानु अनिवार्य हुन्छ भन्ने मात्र होइन कि देवालय र तीर्थालयमा शिर निहुराएपछि अन्तस्करण समेत निर्मल र पवित्र भएर आउँछ भन्ने कुरा व्यक्ति-व्यक्तिले अनुभूत गरेको विषय हो ।

हरेक चाडपर्वमा सरसफाइको महत्व विशिष्ट छ । चाडपर्व भन्नासाथ कुरा सरसफाइबाट प्रारम्भ हुन्छ । तर कतिपय चाड सरसफाइ र पवित्रताको स्थापनाकै लागि आयोजन गर्ने परम्परा पनि छ ।

व्यक्तिगत स्वच्छताको अर्थ शरीर, पहिरन, खानपिन आदि सफासुग्घर राख्नु हो । स्वास्थ्यको परिभाषा न केवल कुनै रोगबाट मुक्त रहनु हो, बल्कि शारीरिक, मानसिक र सामाजिक तवरले निरोगी व तन्दुरुस्त रहनु हो । स्वास्थ्यका लागि स्नान अत्यन्त आवश्यक हुन्छ । स्नान शारीरिक र मानसिक स्वास्थ्यको रक्षक हो ।

स्वच्छताको अर्थ शरीर, मन र हाम्रो चारैतिरका चीज वस्तुलाई सफा र स्वच्छ बनाएर राख्नु हो । स्वच्छता मानव समुदायको एक आवश्यक गुण हो ।

यो विभिन्न प्रकारको रोगबाट सुरक्षाको सरलतम उपायमध्ये एक र सबैभन्दा प्रमुख उपाय हो । सरसफाइ जीवनको आधारशिला हो । यसमा मानिसको गरिमा, शालीनता र आस्तिकताको दर्शन प्राप्त हुन्छ । स्वच्छताको माध्यमले मानिसको सात्विक वृत्तिलाई बढावा मिल्दछ ।

स्वच्छतामा आचरणको शुद्धता अति जरूरी हुन्छ । शुद्ध आचरणले मानिसको अनुहार तेजस्वी रहन्छ । सबैले त्यस्तो व्यक्तिलाई आदरको दृष्टिले हेर्दछन् । त्यस्तो व्यक्तिप्रति मानिसमा अत्यन्त श्रद्धा हुन्छ । उनको सामु अरूको शिर स्वतः निहुरिन्छ ।

स्वास्थ्य रक्षाका लागि स्वच्छता अनिवार्य तत्व हो । जब मनुष्य स्वच्छ रहन्छ, तब उसमा एक किसिमको स्फूर्ति र प्रसन्नताको सञ्चरण हुन्छ । व्यक्तिगत स्वच्छताको परिधिमा सिंगो परिवार र परिवारका सदस्यहरू स्वच्छतामा एक-अर्काको सहयोग पनि आउँछ । परिवारमा वयस्क सदस्यको दायित्व दुई गुणा बढी हुन्छ । शिशु र वृद्ध आफ्नो सफाइका लागि वयस्कमाथि निर्भर रहन्छन् ।

सरसफाइ मानिसको प्राकृतिक गुण हो । मानिसले आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्न चाहनु स्वाभाविक हो । आफ्नो वासस्थल र कार्यस्थलमा फोहोर हुन दिनुहुँदैन ।वरपर फोहोर गरी राख्नु पनि प्राणी मात्रको प्रवृत्ति हो ।

पान खाएर जथाभावी थुक्दा राताम्मे देखिने भित्ताहरू, बाटोमा देखिने चुरोटका ठुटा, चकलेट, बिस्कुट, चाउचाउका खोल जस्ता प्लाष्टिकजन्य फोहोर शहर मात्र होइन गाउँघर, चोक, बजार, गल्लीहरूमा देखिनु कुनै नौलो विषय हुँदैन ।

हुन त फोहोर गर्नुहुन्न भन्ने जानकारी प्रायः सबैमा छ तर बाटोमा हिंड्दा हिंड्दै हुने फोहोर जस्तै चाउचाउ, चिप्स, चकलेट खाएर बचेको खोल न हामी पकेटमा राख्छौं न त बाटोमा फाल्नका लागि डस्टबिन नै छ ।

बाटोमा हिंड्दै गर्दा प्याच्च थुक्ने, प्लाष्टिकमा प्याक गरिएका खानेकुरा खाएर फालिएको खोल, केरा, सुन्तला जस्ता फलफूल खाएर बोक्रा सडकपेटीमै फाल्ने बानीले पनि समुदायलाई दिनानुदिन दुर्गन्धित बनाएको छ ।

मानव जीवनमा सरसफाइको महत्वपूर्ण स्थान छ, किनभने यो उसको स्वास्थ्यसँग सम्बन्धित छ । मानिसले आफ्नो शरीर मात्र नभई घर र घरबाहिरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

मानिसले आफ्नो वरिपरि सरसफाइ गरेर धेरै रोगबाट बच्न सक्छ । सरसफाइलाई मानिसको नियमित बानी बनाउनुपर्छ । सबैले घरभित्र र वरपर सरसफाइ राख्नुपर्छ । सरसफाइको बारेमा भनाइ नै छ कि हरेक व्यक्तिले आफ्नो आँगन सफा गर्‍यो भने, सारा संसार सफा हुनेछ । सबैले आफ्नो घरको फोहोर बाहिर फाल्नुको सट्टा कन्टेनरमा जम्मा गरेर फोहोर फाल्ने ठाउँमा फाल्नुपर्छ ।

मानिसले आफ्नो घर र वरपर सफा राखेर स्वच्छ वातावरण निर्माण गर्नुपर्छ । फोहोर पानी र वर्षाको पानी आफ्नो घर वरपर जम्मा भएको कारण डेंगु, मलेरिया जस्ता धेरै प्रकारका घातक रोगहरू फैलिन थालेका छन् ।

महात्मा गान्धीले पनि सरसफाइ सम्बन्धी धेरै अभियान सुरु गरेका थिए । हामीकहाँ नेता र नागरिक समाजका प्रतिनिधिहरू मिलेर नदीनाला सफा गर्ने अभियान थाल्छन् तर त्यसलाई निरन्तरता दिंदैनन् ।

हाम्रो देशको पहाड, मधेश, गाउँ, शहर सबैतिर वास्तविकता यो छ कि यहाँ अधिकांश मानिस वा परिवार सरसफाइप्रति सचेत छैनन् । उनीहरू आफ्नो घर र वरपर मात्र होइन चोक, चौतारा, विद्यालय, मन्दिर आदि सार्वजनिक स्थानको सरसफाइप्रति पनि सचेत छैनन् ।

पवित्रस्थल मानिने देवालय, मन्दिरहरू अनपेक्षित रूपमा अधिक फोहोर देखिन्छन् । आम मानिस मात्रको कुरा नगरौं, सामाजिक सेवाका लागि निरुपित नागरिक समाजदेखि सरकारी निकायका लागि निर्वाचित प्रतिनिधिहरू पनि सरसफाइप्रति सचेत देखिंदैनन् ।

हाट, मेला जस्ता सार्वजनिक आयोजनहरूमा सहभागी आगन्तुकहरू पुग्छन् र स्वच्छताको महत्वदेखि अनभिज्ञताका कारणले त्यहाँ ठूलो परिमाणमा फोहोर बनाएर हिंड्छन् । सार्वजनिक सेवा प्रदायक सरकारी अड्डाहरू पनि धेरथोर यही अवस्थाका सिकार देखिन्छन् । सार्वजनिक अड्डाहरूमा अड्डाका अधिकारीदेखि सेवाग्राहीसम्म सबैले फोहोर भित्र्याउने काम त गर्दछन् तर फोहोर सफा पार्न तत्पर हुँदैनन् ।

अड्डा परिसरमा फोहोर राख्ने कन्टेनरहरू राखिएका रहेछन् भने पनि आफूले विसर्जित गरेका फोहोर कुराहरू ती कन्टेनरमा राख्न लाज मान्छन् । पान खानु एउटा परम्परा नै हो । जर्दा विनाको पान स्वास्थ्यका लागि आवश्यक पनि छ । तर परम्परामा पानसँगै पिकदानी पनि थियो, जसले पानबाट हुने फोहोरलाई रोक्दथ्यो ।

पानको परम्परा त कायमै रह्यो तर पिकदानी हरायो । जसले गर्दा पान सेवनका कारण फोहोर अत्यधिक बढेको छ । हिजोआज त झन् पानको पर्याय स्वरूप अनेक थरीका गुट्का सेवन गर्न थालिएको छ । गुट्का खाने र पटक पटक पिच्च–पिच्च थुकिरहने बानीले फोहोर बढाएको छ ।

कार्यालयको पर्खालहरू फोहोर हुन थालेपछि पर्खाललाई जोगाउन पर्खालमा अचेल भगवानको फोटो टाँस्न थालिएको छ । सरकारी कार्यालयमा स्विपर, चौकीदार र माली पनि भर्ना गरिएका हुन्छन् । यसका बावजुद सरकारी कार्यालयहरू फोहोरको रोगबाट मुक्त हुँदैनन् ।

अधिकांश मानिसले सरसफाइलाई धेरै कम महत्व दिन्छन् र यस्तो स्थानमा बस्दछन्, जहाँ वरपर फोहोर फालिएको हुन्छ । उनीहरू आफ्नो व्यवहारमा परिवर्तन हुनुपर्छ र वरपर सफा र स्वच्छ राख्नुपर्छ भन्ने कुराप्रति लापरवाही प्रदर्शन गर्दछन् ।

अनेकौं मानिसको भनाइ हुन्छ कि सरसफाइको काम सरकारी निकायको हो । त्यसैले आफूले केही नगरी सबै जिम्मेवारी सरकारमाथि छोडिदिएको हुन्छ । सरसफाइ वडा कार्यालय, नगरपालिका, गाउँपालिका र अन्य निरुपित सरकारी निकायहरूको होइन भन्ने होइन, तर यति भनेर आम मानिसले आफूलाई कर्तव्यच्यूत गर्न मिल्दैन ।

मानिसले जबसम्म स्वच्छताको महत्वलाई बुझ्ने छैनन् तबसम्म उनीहरूले आफूलाई सभ्य र सुसंस्कृत भन्न सक्ने छैनन् । वर्तमान समयमा सरकारी तथा गैरसरकारी संंस्थाहरूले सरसफाइको पक्षमा अनेकानेक अभियान र कार्यक्रम आयोजन गर्दछन् । तर तिनको प्रभाव कार्यक्रम चल्दासम्म मात्र रहन्छ ।

समाजमा खुला दिसा–पिसाबको प्रवृत्ति विरुद्ध अनेक प्रचार भइरहन्छन् । तर पनि अधिकांश मानिसले खुला दिसा गर्ने नराम्रो बानी त्याग्न सकेका छैनन् । जसले गर्दा अनेक रोग उत्पन्न भइरहेका छन् ।

यस्तो मानिन्छ कि फोहोर र रोग हमेसा एकसाथ शरीरमा प्रवेश गर्दछन् । शरीरलाई स्वस्थ र निरोगी राख्नको लागि स्वच्छता अत्यन्त आवश्यक हुन्छ ।

देश र समाजलाई सफासुग्घर राख्नुपर्ने दायित्व केवल सरकारको मात्र होइन, अपितु सबैको कर्तव्य हो । समुदायले मिलेर स्वच्छताप्रति आफ्नो कर्तव्यको निर्वाह गर्नुपर्छ ।

समाजका सबै सदस्यले आफ्नो वरपरको सफाइमा आफ्नो व्यक्तिगत र सामूहिक योगदान दिनुपर्छ । नदी, पोखरी, जलाशयको पानी फोहोर हुनबाट रोक्न सबैले मिलेर कार्य गर्नुपर्छ ।

मानिसमा स्वच्छताको विचार उत्पन्न गर्नका लागि शिक्षाको प्रचार गर्नु आवश्यक छ । शिक्षा पाएर नै मानिस स्वच्छतातर्फ प्रवृत्त हुनसक्छन् । दिनचर्यामा हामीले आफ्नो आचरणद्वारा बालबच्चालाई सरसफाइको उद्देश्य र महत्व बुझाउनुपर्छ ।

संयुक्त राष्ट्रसंघको निर्देशनमा सन् १९८० मा नेपालमा पनि सरसफाइ विशेष अभियान सुरु भयो । प्रारम्भमा स्वास्थ्यका लागि पानी (नेवा), नेपाल रेडक्रस सोसाइटी जस्ता केही संस्थाहरूले सरसफाइबारे जनचेतना जगाउन र पूर्वाधारको विकास गर्ने काम गरे ।

दुई दशकसम्म सयौं संस्थाले सरसफाइप्रति चेतना जगाउने कार्यमा योगदान गरे । अझै पनि गरिरहेका छन् ।

शौचालय निर्माण हुनु मात्र लक्ष्य होइन । शौचालयको उपयोग, शौचालय उपयोगपछिको व्यक्तिगत सरसफाइका साथै चर्पीको नियमित सफाइ पनि महत्वपूर्ण विषयको रूपमा रहेको छ । त्यससँगै घरआँगनको सफाइ, समुदायको सफाइका विषय पनि गाँसिएका छन् ।

फोहोर उत्पन्न गर्ने काम ९९ प्रतिशत मानिसले र १ प्रतिशत मात्र पशुले गर्दछन् । मानिसले गर्ने गरेको फोहोर गर्न छोडेमा र पशुले गर्ने वा भएका अन्य फोहोरहरूलाई व्यवस्थित गरिएमा फोहोर जटिल समस्याको रूपमा आइलाग्दैन ।

आफ्नो घरभित्र बाहिर, बाटोघाटो, धारा, विद्यालय हाता सफा तथा सफाइमा सबैको जिम्मेवारी वहन गर्न सक्ने इच्छाशक्ति हुनुपर्छ । सरसफाइ समुदायको दायित्व हो किनकि संघ-संस्थाले पहल र अगुवाइ मात्र गर्ने हो । समाजले त्यसलाई निरन्तरता दिनुपर्दछ ।

सरसफाइको प्रवद्र्धन अगाडि बढाएर मात्र वातावरणीय प्रदूषणमा कमी आउने होइन, पूर्ण सरसफाइको अवस्था निर्माण हुनु जरूरी छ । सचेतनाका कुराहरू प्रत्येक व्यक्तिले व्यवहारमा उतार्न आवश्यक छ ।

कतिपयले यसलाई असम्भव पनि भन्ने होला । तर यो सम्भव कुरा हो । वैदेशिक रोजगारका लागि कतार, मलेशिया, दक्षिणकोरिया आदि मात्र पनि जानेहरू फर्केर आएपछि त्यहाँको सरसफाइको गुणगान गर्दछन् । हामीले सरसफाइमा पूर्णता प्राप्त गर्दैनौं अथवा गर्न सक्दैनौं भन्ने छैन ।

विश्वका विकसित देशहरूमा विकास र आधुनिकताको जुन मानक तयार गरिएका छन् तिनमा स्वच्छताको महत्वपूर्ण स्थान छ ।

हामीले ती विकसित देशहरूको मोडेललाई अपनाएर अघि बढ्ने कुरा त गर्दछौं, तर के ती मानकहरूलाई आत्मसात् गर्न तयार छौं, विचार गर्नु जरुरी छ । स्वच्छताको दायरा यति विस्तृत छ कि यसलाई व्यवहारमा ल्याउन विभिन्न स्तरमा विचार गर्नु आवश्यक छ ।

मन, वचन, कर्म, शरीर, हृदय, चित्त, समाज, परिवार, संस्कृति र व्यवहारदेखि लिएर धर्म र विज्ञानसम्ममा स्वच्छताको विशेष महत्व छ । स्वास्थ्य, जीवन, परिवार, समाज, संस्कृति, राष्ट्र र विश्व चेतनाको उच्च आदर्श प्राप्त गर्नका लागि स्वच्छता पहिलो आधार हो ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?