+
+

९ वर्षमा थपियो ३ हजार ११८ किलोमिटर विद्युत प्रशारण लाइन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १३:११

१० भदौ, काठमाडौं । नेपालमा पछिल्लो नौ वर्षमा तीन हजार ११८ किलोमिटर लामो विद्युत प्रशारण लाइन विस्तार भएको छ । लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई प्राथमिकता दिएको छ ।

हाल नेपालको विद्युत प्रशारण लाइनको सवस्टेसनको क्षमता ८ हजार ८६७ एमभीए पुगेको छ । नौ वर्षअघि आर्थिक वर्ष २०७१/७२ मा सवस्टेसनको क्षमता २ हजार १३२ एमभीए मात्र थियो । आर्थिक वर्ष २०७९/८० सम्म सवस्टेसनको क्षमता ६ हजार ७३५ एमभीए बढेको विद्युत प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा ६६ र १३२ केभीका प्रशारण लाइन रहेकामा २०७३/७४ देखि २२० र ४०० केभीका प्रशारण लाइन पनि सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७१/७२ मा २ हजार ६२४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकामा ३ हजार ११८ सर्किट किलोमिटर थपिएर आर्थिक वर्ष २०७९/८० मा ५ हजार ७४२ सर्किट किलोमिटर पुगेको छ ।

अहिले प्रणालीमा ६६ केभीको ५१४ र १३२ केभीको ३ हजार ९७९ सर्किट किलोमिटर लामो प्रशारण लाइन छ । त्यस्तै २२० केभीको एक हजार १० र ४०० केभीको १४८ सर्किट किलोमिटर लामो प्रशारण लाइन छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समय–समय विद्युत अवरुद्ध भएको उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न र गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि प्रशारण लाइनका पूर्वाधार सुधार तथा सदृढिकरण गरिरहेको बताए ।

स्थानीय बासिन्दाको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानको झञ्झटिलो व्यवस्थाका कारण प्रशारण लाइन विस्तारमा समस्या परेको बताए ।

सन् २०५० सम्मको विद्युत् माग धान्ने गरी काठमाडौंलगायतका देशका प्रमुख सहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेसन संरचनाहरुको गुरुयोजना तयार पारिएको घिसिङले बताए ।

तराई/मधेशका दक्षिण क्षेत्रमा औद्योगिक तथा सहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्गको आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माण सुरु गरेको पनि घिसिङले बताए ।

प्राधिकरणका अनुसार, हाल विभिन्न क्षमताका २ हजार ८५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । सबैभन्दा बढी १३२ केभीको १ हजार १११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । त्यस्तै २२० केभीको ९८८ र ४०० केभीको ७५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?