+
+

आफ्नै लयमा शशांक कोइराला

६६ वर्षको उमेरमा हिंडिरहेका उनी अबको ५/७ वर्ष मात्र आफ्ना लागि रहेको मान्छन् । त्यसपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने सोचमा रहेका उनी १५औं महाधिवेशनबाट सभापति बनेर पार्टीको नेतृत्व गर्न चाहन्छन् ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० भदौ ११ गते २०:०६

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन पूरापूर दुई वर्षभन्दा बढी बाँकी छ । पार्टी विधानले दिएको सुविधा उपयोग गरी सभापति शेरबहादुर देउवाले कार्यकाल लम्ब्याउन खोजे थप एक वर्षसम्म पर धकेलिन सक्छ ।

नेतृत्वका आकांक्षीहरूलाई भने महाधिवेशन लागिसकेको छ । अहिलेसम्म उपसभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिका सम्भावित उम्मेदवार हुन् । तर अरू पनि सम्भावित नाम कांग्रेसभित्र चर्चामा छ ।

त्यसमध्ये एक हुन्, पूर्वमहामन्त्री डा. शशांक कोइराला । संस्थापन समूहतिर नगएका र शेखर–गगन समूहतिर नअटाएका नेताहरूले उनलाई अगाडि सार्न चाहेका छन् ।

डा. शशांक पनि तयार देखिन्छन् । ‘वर्षापछि पूर्वदेखि पश्चिमसम्म घुमेर सबै साथीलाई भेट्छु’ पूर्वमहामन्त्री शशांकले अनलाइनखबरसँग भने, ‘उनीहरूको चाहना बुझेपछि मात्र म निर्णय गर्न सक्छु भन्ने लागेको छ ।’

नेतृत्वमा स्थापित गर्ने योजनाबद्ध प्रयास

कांग्रेसमा कृष्णप्रसाददेखि सुरु भएको कोइराला परिवारको राजनीतिलाई निरन्तरता दिन २०४६ पछि थुप्रै प्रयोग भए । चिकित्सा पेशामा रमाइरहेका डा. शशांकलाई पनि प्रयोगकै क्रममा गिरिजाप्रसाद कोइरालाले राजनीतिमा ल्याएका थिए ।

गिरिजाप्रसादले सुरुमा कोइराला परिवारको उत्तराधिकारीका रूपमा बीपीका जेठा छोरा प्रकाशलाई बढाउन खोजे, तर २०६१ को शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्री बन्न पुगेपछि उनी कोइराला परिवारको उत्तराधिकारी बन्ने अवस्था रहेन ।

लगत्तै, गिरिजाप्रसादले बीपीका कान्छा छोरा शशांकलाई कांग्रेसको सक्रिय राजनीतिमा ल्याए । २०६४ को संविधानसभा चुनावमा नवलपरासी–१ बाट चुनाव जितेका उनी २०६७ मा काठमाडौंमा भएको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य भए । फागुन २०७२ मा भएको १३औं महाधिवेशनबाट त महामन्त्री नै चुनिए ।

त्यही वेला शशांकलाई कोइराला परिवारबाट कांग्रेसको नेतृत्वमा स्थापित हुन बाटो खुलेको मानिएको थियो । किनकि कांग्रेसको एउटा जमात उनमा पिता बीपीको अनुहार देख्थे । मृदुभाषी उनी कुनै अनियमितता वा विवादमा मुछिएका थिएनन् ।

बिर्सनलायक कार्यकाल

कांग्रेसको महामन्त्रीका रूपमा कोइरालाको झण्डै ६ वर्ष लामो कार्यकाल भने बिर्सनलायक रह्यो । उनले न राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाउन सके, न पार्टी राजनीतिमा । सभापति शेरबहादुर देउवाले मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई हातमा लिएर मनमौजी रूपमा पार्टी चलाए । निर्वाचित महामन्त्री कोइरालाले विधानले दिएको अधिकार अनुसार, भूमिका खोजेनन् ।

बरु २०७४ को आम चुनावपछि सभापति देउवाको बचाउमा उत्रिंदा आफ्नै समूहका नेताहरूको तारो बन्न पुगे । नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेको त्यो चुनावमा कांग्रेस (कुल १६५ सिट) प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएपछि संस्थापन इतरका नेताहरूले सभापति देउवाको राजीनामा मागे, विशेष महाधिवेशन गर्नुपर्ने तर्क गरे । तर महामन्त्री शशांकले ‘उहाँले टिकट मात्र वितरण गरेको हो’ भन्दै देउवाको बचाउ र प्रतिवाद गरे ।

शशांकलाई अहिले पनि लाग्छ, जे गरें ठिक गरें । किनकि महामन्त्रीले नै सभापतिको विरोध गरेको भए पार्टी दुर्घटनामा पर्न सक्थ्यो । तर आफ्नो भूमिकाले पार्टीको दुर्घटना बचाएको बताउने शशांकको आफ्नै राजनीति भने ‘दुर्घटना’मा प¥यो ।

१४औं महाधिवेशनमा संस्थापन इतर समूहका नेताहरूले बहालवाला महामन्त्री कोइरालालाई नेता स्वीकार गरेनन् । लामो समयदेखि गुट चलाएर आएका बहालवाला सभापति देउवालाई आफूले मात्र हराउन सक्ने उनको दाबी थियो । तर त्यसवेला सभापतिको आकांक्षी रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायत कोही पनि उनको दाबीमा सहमत देखिएनन् ।

कोइराला परिवारका तीन तेता सुजाता, शशांक र शेखरको लञ्ज मिटिङ

कोइराला परिवारमै उनी सर्वसम्मत भएनन् । दाजु डा. शेखर कोइराला समेत आफूलाई सभापति छाड्न तयार नभएपछि उनले केन्द्रीय सदस्यमा चित्त बुझाए ।

जबकि कतिपयलाई अहिले पनि गिरिजाप्रसादाले सुरुमै प्रकाश कोइरालाको साटो शशांकलाई ल्याएको भए नेतृत्वमा स्थापित भइसक्थे भन्ने लाग्छ । उनीहरूको अर्को बुझाइ पनि छ, १३औं महाधिवेशनको एक महिना अगाडि तत्कालीन सभापति सुशील कोइरालाको निधन हुनुले कोइराला परिवारका निम्ति दुर्भाग्य बन्यो । उनीहरूमध्ये एक नेता भन्छन्, ‘यदि सुशील’दा हुनुभएको भए शशांकलाई सहज हुन्थ्यो ।’

अब देउवाकै आश !

६६ वर्षको उमेरमा हिंडिरहेका उनी अबको ५/७ वर्ष मात्र आफ्ना लागि रहेको मान्छन् । त्यसपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने सोचमा रहेका उनी १५औं महाधिवेशनबाट सभापति बनेर पार्टीको नेतृत्व गर्न चाहन्छन् । गत २–१० साउनमा भएको केन्द्रीय कार्यसमितिको बैठकका वेला नेताहरूलाई चियापान कार्यक्रम राखेर त्यसको संकेत दिइसकेका छन् ।

सभापति देउवाले उनलाई प्रचण्ड सरकारमा पठाउन चाहेका थिए । तर सभापतिको तयारीका लागि भनेर नै उनले मन्त्री बन्न अस्वीकार गरे ।

निकटवर्तीहरू शशांकलाई बारम्बार प्रश्न गर्छन्, ‘सभापति बन्न तिम्रो टिम खोइ ?’ उनी नेताहरूलाई प्रति प्रश्न गर्छन्, ‘बीपीको छोरा मैले पनि शशांक गुट बनाउने ?’

बरु उल्टै पार्टी सभापति देउवाको समस्या नै गुट भएको उनको निष्कर्ष छ । ‘शेरबहादुरजीको शैलीमै समस्या छ’ सुशील कोइरालाले आफ्नो जीवनको अन्तिम अवस्थामा जसरी भए पनि पार्टीलाई शेरबहादुरबाट बचाउनुपर्छ भनेको स्मरण गर्ने पूर्वमहामन्त्री शशांक भन्छन्, ‘सभापति भइसकेपछि सबै मेरो मान्छे भन्नुपर्ने हो, तर उहाँले त्यसरी कहिल्यै सोच्नुभएन । पार्टीका हरेक मान्छेलाई मेरो गुटको हो कि होइन भनेर हेर्नुहुन्छ ।’

कांग्रेसमा गुट नभई सभापति जित्ने अवस्था छ त ? शशांक भन्छन्, ‘अहिले पनि विश्वास छ, विना गुटको पनि सभापति हुन सकिन्छ ।’ पार्टीलाई एकजुट बनाएर राख्छु भन्ने विश्वास दिलाउन सके कार्यकर्ताले विश्वास गर्ने उनको दाबी छ ।

२०७४ को होलीको अवसरमा आफैंले आयोजना गरेको ‘लञ्ज मिटिङ’ मा पुगेका सभापति शेरबहादुर देउवालाई स्वागत गर्दै शशांक कोइराला ।

उनको विश्वासको अर्को आधार हो, सभापति देउवा । कांग्रेसको विधान अनुसार देउवा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न पाउने छैनन् । तर उनले अहिलेसम्म आफ्नो उत्तराधिकारीका रूपमा कसैलाई अघि सारेका छैनन् । कांग्रेस नेताहरूका अनुसार नेतृत्वका हरेक आकांक्षीका लागि देउवाको समर्थन महत्वपूर्ण छ । शशांकका लागि पनि नहुने कुरै भएन ।

कांग्रेसमा देउवा र कोइराला परिवार मिल्नुपर्छ भन्ने मत राख्ने नेताहरू पनि छन् । १४औं महाधिवेशनमा पनि कतिपय नेताहरूले देउवा–कोइराला टिम बनाउन पहल नगरेका होइनन् । देउवा, शशांकलाई आफ्नो प्यानलबाट उपसभापति लडाउन तयार पनि देखिएका थिए ।

‘सुशील’दा, गिरिजाप्रसादलाई सुनेर आएको म शेरबहादुरजी कहाँ कसरी जाने भन्ने लाग्यो’ शशांक निकटवर्तीहरूलाई सुनाउने गर्छन्, ‘नभए अहिले उपसभापति हुन्थें ।’

देउवा टिममा नजाने निर्णय गर्नु गलत नभएको विश्लेषणमा रहेका उनी अहिले पनि देउवाको टिममा जाने पक्षमा छैनन् । बरु आफ्नो विचारमा देउवा आउनसक्ने दाबी गर्छन् ।

कांग्रेसमा गुटको राजनीतिको अवधि लामो नभएकाले सबैले आफ्नो नेतृत्व स्वीकार गर्ने अवस्था आउनसक्ने विश्लेषण सुनाउँदै उनी भन्छन्, ‘अप्सन नभएपछि के गर्ने ? त्यो परिस्थिति आउँदैछ ।’

नेताहरूका अनुसार अन्तिम समयसम्म कसैलाई पनि उत्तराधिकारी नतोक्ने मूडमा रहेका देउवाले शशांकलाई समर्थन गर्लान् वा नगर्लान् भन्ने अनुमान गर्न निकै हतारो हुन्छ । त्यसो नहुँदा शशांकलाई नेतृत्वको दौडमा स्थापित हुन सहज देखिन्न ।

किनकि १४औं महाधिवेशनमै उनको नेतृत्व स्वीकार गर्न तयार नभएका शेखर–गगनहरूले १५औं महाधिवेशनमा उनलाई सभापति बनाउन सघाउने सम्भावना देखिन्न । शेखर र गगन दुवै सभापतिका आकांक्षी हुन् । पुस २०७९ मा संसदीय दलको चुनावताका भएको सहमति कायमै रहे गगनले सभापतिमा शेखरलाई समर्थन गर्नेछन् । अर्थात् संस्थापन इतर समूहबाट शशांक हुने छैनन् ।

देउवा र शेखर–गगन समूहसँग प्रतिस्पर्धा गर्ने गरी शशांकको आफ्नै समूहले आकार लिइसकेको छैन । त्यसका बाबजुद बीपीका छोरा हुनु उनको सबैभन्दा ठूलो सबल पक्ष हो । तर खानपिनमा मात्र रमाउने, राष्ट्रिय राजनीतिका विषयमा मौन बस्न र पार्टीभित्र सही विषयका लागि नलड्ने शैली सबभन्दा ठूलो समस्या हो । आजको दिनमा शशांकको अवस्था ब्याट्री डाउन भएको गाडी जस्तै भएकाले आफूहरूले धकेलेर मात्र गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै एक नेता भन्छन्, ‘बीपी कोइराला १०० वर्ष पछाडि के हुन्छ भनिदिन्थे, यिनीहरूलाई आज के भइरहेको छ भन्ने समेत थाहा छैन ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?