
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँ जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।
वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको समेत उनको भनाइ छ ।
‘उनीहरूले तीन वटा कुराहरू उठाए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ती गरेको थिएँ ? थाहा छैन,’ उनले भने, ‘चार चोटि जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’
जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए ।
‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन,’ कोइरालाले भने, ‘घुसपैठहरू आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो ।’
संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया 4