+
+
मन्थन :

धरान काण्डको पछिल्लो कडी

चिन्तन र संस्कृतिमा समावेशीकरण वैदिक नीतिशास्त्रको खास विशेषता हो । मुन्धुम लगायत हिमालय पर्वतीय सभ्यताका अन्य धर्मभित्र पनि यो सार अभिव्यक्त छ । यसकारण वैदिक र मुन्धुमीहरूले आपसमा दूरी बढाउन जरूरी छैन । बरु धर्मको यो मर्मलाई आत्मसात् गर्न जरूरी छ ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०८० भदौ ११ गते २०:३९

स्थानीय चुनावमा निर्दलीय मेयरलाई जिताएर चर्चामा आएको धरान केही दिनयता ‘गोरु काण्ड’ का कारण चर्चित छ । गोरु काटेको आरोपमा प्रशासनले केही स्थानीयलाई केही समयअघि धरपकड गर्‍यो, मुद्दा चलायो । यसको जवाफमा केही व्यक्तिले विद्रोह स्वरूप ‘गोरु काटेर सार्वजनिक भोज गरेको’ भन्दै सामाजिक सञ्जालमा प्रचार गरे ।

जब यो विषय व्यापक भयो, वैदिक (हिन्दु) हरूले आफ्नो धार्मिक परम्पराको अपमान भएको महसुस गरे । गोरु काटिएको घटनाको विरोध गर्न ठूलो संख्यामा प्रदर्शनकारी धरान आउने तयारी गरे । यो थाहा पाएपछि सम्भावित अनिष्टलाई टार्न प्रशासनले २४ घण्टे निषेधाज्ञा नै जारी गर्नु पर्‍यो ।

अहिले धरान शान्त छ । अझै पनि मानिसहरू पक्ष र विपक्षमा विभाजित छन् । ‘गोरु काण्ड’ ले नेपाली समाजलाई कता लैजाला ? यसले कतै अन्तरधार्मिक द्वन्द्वको बीउ त रोपेन ? मानिसहरूले चिन्ता प्रकट गर्न थालेका छन् ।

वैदिकहरू आफ्नो धर्म परम्पराको अपमान भएको भन्दै असन्तुष्ट छन् । मुन्धुमीहरू, संविधानको मर्म विपरीत आदिवासी-जनजातिमाथि पञ्चायती शैलीमा प्रशासनिक दमन भएको भन्दै असन्तुष्ट छन् । यी चिन्ता र असन्तुष्टिलाई सम्बोधन गरिएन भने यही विषय भविष्यमा द्वन्द्वको कारक हुनसक्छ । यसतर्फ समयमै सबैको ध्यान जान जरूरी छ ।

धरानमा यसपालि जे भयो, यसमा सामाजिक सञ्जालको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । घटना यहाँसम्म विस्तार हुनुमा सामाजिक सञ्जालले पैदा गरेको भ्रम पनि धेरै हदसम्म जिम्मेवार देखियो । यसतर्फ पनि सम्बन्धित सरोकारवालाहरूले ध्यान दिन जरूरी छ । यो बाहेक दुवै पक्ष (प्रशासन र विद्रोही) को अतिवादी सोच पनि सच्याउन जरूरी छ ।

घटनाको पृष्ठभूमि

‘गोरु काण्ड’ धरानको लागि पहिलो घटना होइन । नयाँ संविधान घोषणा भएयता पटक-पटक यो विषयमा प्रशासन र स्थानीयबीच द्वन्द्व चलिरहेको थियो । यसपालिको घटना यसको पछिल्लो कडी मात्रै हो । तर गोरु काटिएको विषयलाई यसअघि प्रशासन बाहेक कसैले पनि विरोधको विषय बनाएको थिएन ।

यसपालि मात्र यो घटनाले यत्रो ठूलो रूप लियो । यसको पृष्ठभूमि धरानकै ‘चर्च काण्ड’ बाट सुरु हुन्छ । केही समयअघि विजयपुर क्षेत्रमा ‘मन्दिरको छेउमै अवैधानिक तरिकाले चर्च बनाइएको’ भन्ने विवाद देखा पर्‍यो । यसले वैदिकहरूलाई सशंकित बनाएकै थियो । यस मामिलामा धरानका मेयर हर्क साम्पाङले दिएको अभिव्यक्तिले पनि वैदिकहरूलाई झन् सशंकित बनायो । साम्पाङ ‘चर्च बनेको विषयमा आफू केही नबोल्ने, अदालतले बोल्नुपर्ने’ भनी तर्किएका थिए ।

उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक विरोध भयो । विरोधीले साम्पाङका फरक-फरक प्रसंगका फोटो जोडेर उनी इसाई समर्थक र हिन्दु विरोधी हुन् भन्ने देखाउन खुब प्रयास गरे । एकातिर क्रिसमसमा चुच्चे टोपी लगाएर केक काटेको फोटो र अर्कोतिर ‘धर्म भनेको अन्धविश्वास हो’ भन्ने उनको फेसबुक स्टाटसलाई एकठाउँ जोडेर उनलाई हिन्दु विरोधी देखाउन प्रयास गरियो ।

साम्पाङले यसबारे जे सफाइ दिए, त्यो पर्याप्त भएन । अर्कोतिर उनले विरोधीलाई जवाफ फर्काउने क्रममा ‘बाहुन–क्षेत्रीले आफूलाई विरोध गरिरहेको’ भन्ने गलत अभिव्यक्ति दिए । तब साम्पाङ विरोधीको ठूलो जमात तयार भयो । यही परिवेशमा ‘गोरु काण्ड’ पनि थपियो । मानिसहरूलाई लाग्यो, गोरु काण्डमा पनि मेयर साम्पाङकै हात छ ।

यो धेरै पुरानो विवाद हो । तर सामाजिक सञ्जालले यस्तो भ्रम पैदा गर्‍यो । मानिसहरूले धरानमा साम्पाङकै नेतृत्वमा हिन्दु धर्म विरोधी गतिविधि भइरहेको अर्थ लगाए । तब यत्रो विरोध प्रदर्शनको तयारी भयो ।

घटना अतिरञ्जित हुनुको दोस्रो कारण विद्रोहीहरूको क्रियाकलाप पनि हो । थाहा पाए अनुसार, धरानको ‘गोरु काण्ड’ का विद्रोहीहरू मुन्धुमी हुन् र मूलतः प्रशासनलाई चुनौती दिन गोरुको मासु खाएको प्रचार गरेका थिए । तर यसले हिन्दु जनमानसलाई चुनौती दिए जस्तो देखियो । केही ‘धमिलो पानीमा माछा मार्न चाहने’ हरूले यसलाई अतिरञ्जित बनाएर प्रचार गरे । परिणाम, एउटा ठूलो सामाजिक द्वन्द्व पैदा भए जस्तो भयो ।

धर्मको सार

संसारमा मूलतः दुई खालका धर्म छन् । एक खालका धर्म, स्वर्ग-नर्क भन्दा पर पूर्वजन्म, पुनर्जन्म र निर्वाण/मोक्षसम्म पुग्दछन् । अर्को खालका धर्म स्वर्ग-नर्कमै चक्कर लगाउँछन् । यिनीहरूमा पूर्वजन्म, पुनर्जन्म र निर्वाण/मोक्षको अवधारणा नै हुँदैन ।

हिमालय पर्वतीय सभ्यतामा जति पनि धर्म पैदा भए, तिनीहरू पहिलो खालका धर्म हुन् । जस्तो कि वैदिक, बौद्ध, जैन, मुन्धुम, बोन, शिख, कविर आदि । हिमालय पर्वतभन्दा बाहिर पैदा भएका यहुदी, इसाई र इस्लाम दोस्रो खालका धर्म हुन् । यद्यपि सबैको आ-आफ्नो मौलिकता र महत्व छ ।

धर्म भनेको जीव-जगतका स्वभावको सूक्ष्म नियमको खोज हो । यो खोजका उपाय अनेकन् छन् । यस अर्थमा मुन्धुम र वेद÷वेदान्तमा केही भिन्नता होला । तर जीवन-जगतको स्वभावका विषयमा मुन्धुम र वेदको निष्कर्ष समान छ । यस अर्थमा वेद र मुन्धुम एक-अर्का विरोधी होइनन् । यी फरक नदी अवश्य हुन् । तर यिनीहरूको मुहान एउटै हो । यी दुवैको अभिमुखीकरण एउटै छ । त्यसकारण वैदिक र मुन्धुमीबीच दूरी होइन, निकट सहकार्य नै उपयुक्त हुन्छ ।

वैदिकहरूले विगतमा गाईको मासु खान्थे भन्ने केही भौतिकवादी विद्वानका कुरा पनि सही होइनन् । वेदविज्ञहरूले वेदका केही शब्दहरूलाई हिंसापरक अर्थ लगाएको कुराको खण्डन गरेका छन् ।

जस्तो कि ‘मेध’ शब्द हिंसापरक होइन, यज्ञको पर्याय हो । दर्शपूर्णमास, सोमयज्ञ, अग्निष्ठोम, वाजसेय, राजसूय, सौत्रामणि आदि यज्ञ यजुर्वेदको मन्त्रैमा आउँछन् ।

मेध शब्दको प्रयोग गरेर जुन यज्ञको प्रकरण त्यसमा उल्लेख गरिएको छ, तिनीहरूमा अश्वमेध, पुरुषमेध, सर्वमेध, पितृमेध आदि शब्द आउँछन् । यी शब्दको अर्थ हिंसा होइन ।

वेदमा गौ (गाई) सम्बोधन पोषणदायक दिव्यशक्तिको रूपमा प्रयोग भएको छ । अश्व (घोडा) शब्दलाई तीव्र गतिमा संचार हुने तत्वका अर्थमा प्रयोग गरिएको छ । यसै परिभाषा अनुसार वेदले किरण, अग्नि, सूर्य र ईश्वरसम्मलाई अश्व (घोडा) भनेको छ । वेदमा प्रयोग भएका यस्ता बिम्बहरूले पदार्थका मूलभूत गुण-धर्मलाई व्याख्या गर्दछन् ।

वेदविज्ञहरू भन्छन्, यदि मेध शब्दको अर्थ हिंसा हुन्थ्यो भने पितृमेध भन्ने शब्द हुन्नथ्यो । अश्वमेध वास्तवमा शुद्ध सात्विक आध्यात्मिक प्रयोग नै हो । वीर्य वा अश्व शब्द मनुष्यको पुरुषार्थ हो । त्यसलाई दिव्य मेधाले संचालित गर्नु नै अश्वमेध हो । यो प्रयोग जब विराट स्तरमा वा राष्ट्रिय स्तरमा गरिन्छ तब आदर्श राष्ट्र बन्दछ भन्ने मान्यता हो ।

‘अश्वमेधः यच्चन्द्रमाः’ भनेर सूर्य र चन्द्रलाई पनि अश्वमेध भनिएको छ । त्यसैले अश्वमेध मानवीय पुरुषार्थलाई दिव्य चेतनाले संचालित गर्ने एक सूक्ष्म वैज्ञानिक प्रक्रिया हो । सर्वमेधको अर्थ आत्मालाई परमात्मामा समर्पण गर्नु हो ।

पुरुषमेध भन्नाले आदर्श समाजमा कुन प्रकारका व्यक्तिलाई कहाँको काममा नियुक्त गर्ने भन्ने निश्चित गर्नु हो । यसरी वेदविज्ञहरूले मेध शब्दको हिंसापरक अर्थको खण्डन गरेका छन् ।

अर्को रोचक कुरा, वैदिक धर्मका लागि देवता र भगवान एउटै चिज होइनन् । वैदिक धर्मले देवतालाई श्रद्धा गर्नुपर्ने कुरा त गर्दछ तर देवतालाई पुजेर भगवान (भगवत्ता) प्राप्त हुँदैन भन्ने कुरामा पनि उत्तिकै जोड गर्दछ ।

कृष्ण व्यक्ति होइन बिम्ब हुन् । निरपेक्ष सत्य (भगवान) रूपी प्रतीक पात्र हुन् । देवलोक र परमधाम पनि यस्तै बिम्ब हुन् । जसले मृत्युपछिको जीवनको गुणस्तरतर्फ संकेत गर्दछन् । देवलोक भन्नाले सकार (पुण्य)को लोभ भएको अज्ञान अवस्था । परमधाम भन्नाले सकार (पुण्य) र नकार (पाप) को द्वैतबाट मुक्त (परमज्ञान) भएको मुक्त अवस्था ।

मानिसका लागि भौतिक तत्व ‘साधन’ हुन् ‘साध्य’ होइनन्, मानिसले ‘साधन’ लाई ‘साध्य’ मान्ने भूल गर्नुहुँदैन भन्ने हो । गाई वा अन्य सबै प्रकारका प्राणी र भौतिक वस्तु श्रद्धायोग्य साधन (देवता) हुन् तर साध्य (परमज्ञान/मोक्ष/निर्वाण) होइनन् भन्ने नै हो ।

धर्मको मर्म

समुदायको खाद्य परम्परा बिल्कुलै सामाजिक परिवेशको उपज हो । मैदानी इलाकामा फैलिएको वैदिक समुदायका लागि हावापानी र अन्न उत्पादन सहज थियो । उक्त सभ्यताका लागि गाई/गोरु महत्वका चिज भए । आयुर्वेदले गौमूत्र र दूधको औषधीय गुण पनि थाहा पायो । त्यसकारण उनीहरूले गाईलाई देवता (श्रद्धा गर्नुपर्ने भौतिक वस्तु) माने ।

बौद्ध पन्थ मूलतः अहिंसामा आधारित छ । तैपनि जब यो कठिन हिमाली/पहाडी इलाकातिर विस्तार भयो, तब यसमा पनि मांसाहारी परम्परा पैदा भयो । मुन्धुम पनि हिमाली÷पहाडी समुदायको धर्म भएकाले यसभित्र मांसाहारले प्रवेश गरेको हो । यद्यपि आजसम्म आउँदा मुन्धुम भित्र पनि शाकाहारी पन्थ पैदा भएका छन् ।

विभिन्न पन्थहरूमा पैदा भएका शाकाहारी वा मांसाहारी खाद्य परम्परा, धर्मका कारणले होइन, मौसम र भौगोलिक परिवेशका कारणले पैदा भएका हुन् । जहाँ अत्यधिक चिसो र अन्न फलाउन कठिन अवस्था भयो, त्यहाँका धार्मिक समुदायमा मांसाहारको परम्परा स्थापित भयो । नत्र सबैखाले धर्मले प्राणी हत्यालाई नाजायज नै भन्दछन् ।

वैदिक धर्ममा गाई मात्र होइन, कुकुर, काग, सर्प, हात्ती, बाँदर लगायत सबै प्रकारका प्राणीलाई देवता मान्ने चलन छ । खोला, पहाड, हिमाल, सूर्य, चन्द्रमा आदिलाई पनि देवता नै मानिन्छ । तर वैदिक ग्रन्थहरूले कहिल्यै संकीर्णता देखाएका छैनन् । बरु विश्वभरका सबै खालका मानिसलाई समव्यवहार गर्ने कुरामा जोड गरेका छन् ।

चिन्तन र संस्कृतिमा समावेशीकरण, वैदिक नीतिशास्त्रको खास विशेषता हो । मुन्धुम लगायत हिमालय पर्वतीय सभ्यताका अन्य धर्मभित्र पनि यो सार अभिव्यक्त छ । यसकारण वैदिक र मुन्धुमीहरूले आपसमा दूरी बढाउन जरूरी छैन । बरु धर्मको यो मर्मलाई आत्मसात् गर्न जरूरी छ ।

दुई अति

विगतको राज्यको चरित्र नै साम्प्रदायिक थियो । त्यसकारण हिन्दु इतर समुदाय माथि इतिहासमा खाद्य परम्पराकै निहुँमा पटक-पटक दमनका शृंखला चले । हाल परिवेश केही बदलिएको पक्कै हो ।

आज नेपालका घना मुस्लिम तथा जनजातीय बस्तीभित्रको खाद्य संस्कृति कस्तो छ ? यो त्यहींका मानिसलाई मात्र थाहा छ । प्रशासनले खोज्दै गएको पनि छैन । कसैले ‘हामीले यो खायौं’ भनेर देखाएको पनि छैन ।

केही समययता धरानमा मात्र यो विवाद पैदा भइरहेको छ । यसमा राज्य र विद्रोही दुवै पक्षका दोष छन् । राज्यको दोष के हो भने, संविधान नै पाश्चात्य अन्धनक्कलमा बनेको छ । नेपाली समाज, जहाँ धर्म नै विज्ञान, पहिचान र संस्कृतिको आधार हो, यस्तो ठाउँमा धर्मलाई पाश्चात्य ‘रिलिजन’ कै स्थानमा सीमित गरिएको छ ।

नेपाली समाजको मौलिकता अनुसारको संघीयता रचना गरिएको छैन । सामुदायिक कानुन (कस्टमरी ल) लाई स्वीकार गरिएको छैन । संविधान र कानुनबीचको विरोधाभास अझै कायम छ । जसका कारण कहिले वैदिकहरूलाई अपमान हुने र कहिले मुन्धुमीहरूलाई दमन हुने अवस्था सृजना भइरहेको छ ।

यता विद्रोहीहरूको दृष्टिकोण पनि पाश्चात्य यान्त्रिक चिन्तन परम्परामै आधारित छ । पहिचान सम्बन्धी यान्त्रिक दृष्टिकोणका कारण उनीहरू विभाजनमुखी छन् । विविधता र एकता परिपूरक छन् भन्ने तथ्यमा ध्यान दिइरहेका छैनन् । वेद र मुन्धुम बीचमा अनावश्यक भेद खोजिरहेका छन् । सहकार्य र सहअस्तित्वको महत्वलाई बेवास्ता गरिरहेका छन् ।

विद्रोहीहरूले आत्मसात् गर्नुपर्ने पक्ष यो हो कि, नेपालको सन्दर्भमा पहिचान र सामुदायिक अधिकारको कुरा कानुनी प्रश्न मात्र होइन, यसमा अन्तरसामुदायिक मनोविज्ञान र संवेदनशीलता पनि जोडिएको हुन्छ । यो विषयलाई विद्रोहीहरूले बेवास्ता गर्न मिल्दैन ।

सारमा, धरानमा जे भयो यसमा राज्य र विद्रोही दुवैको अतिवादी सोच जिम्मेवार देखियो । सामाजिक सञ्जालले यही विषयलाई अतिरञ्जित प्रचार गर्‍यो । जसका कारण पूरै मुलुक तरंगित बन्ने अवस्था सृजना भयो ।

‘प्रविधि-क्रान्ति’ सहितको नेपाली समाजको बहुआयामिक संवेदनशीलतालाई सबै पक्षले बुझ्दा मात्र आगामी दिनमा सबै पक्षको हित हुनेछ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?