+
+

राष्ट्रपतिमा ट्रम्पलाई चुनौती दिइरहेका रामास्वामी

एजेन्सी एजेन्सी
२०८० भदौ १२ गते १७:४३

१२ भदौ, काठमाडौं । भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामीले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी अभियान अघि बढाइरहेका छन् । रिपब्लिकन पार्टीको प्रारम्भिक निर्वाचनका लागि उनले राष्ट्रपतिको उम्मेदवारका रुपमा आफूलाई उभ्याएका हुन् ।

प्रारम्भिक निर्वाचनबाट विजयी हुने उम्मेदवार नै रिपब्लिकनबाट राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्न पाउनेछ । आफ्नो उम्मेदवारीबारे रामास्वामी भन्छन्‌, ‘म आजको ट्रम्पसँग नभएर सन् २०१५ को ट्रम्पसँग मिल्दोजुल्दो छु । त्यसैले मैले प्रारम्भिक निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।’

अबको दुई सातामा रिपब्लिकनले राष्ट्रपति निर्वाचनका लागि बहसको कार्यक्रम राखेको छ । त्यहाँ उनले संभवत: ट्रम्पको झैं उग्र प्रस्तुति दिनेछन् । विरोधीलाई चेतावनी दिने आक्रामक प्रस्तुतिका लागि रामास्वामी तयार छन् । रिपब्लिकन पार्टीबारे दख्खल राख्ने जोन फेरी भन्छन्, ’बहस रामास्वामीका लागि निकै सुखद हुनेवाला छ । यसअघि पनि रामास्वामीको चर्चा धेरै भएको छ ।’

चौतर्फी तारिफ बटुलेका रामास्वामीले जलवायु परिवर्तनका मुद्दालाई भने बेवास्ता गरेका छन् । यस्तै लागुऔषधको डिलर समाप्त पार्ने भन्दै मेक्सिकोमा सैन्य कारबाहीको एजेण्डा ल्याउन सक्ने पनि अनुमान गरिएको छ । जलवायु परिवर्तनको मुद्दामा बेवास्ता र मेक्सिकोमा सैन्य कारबाही निकै खतरनाक रहेको भन्दै उदारवादीहरुले विरोध जनाइरहेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि पार्टीभित्रको प्रारम्भिक चुनावको मत सर्वेक्षणमा रामास्वामी ट्रम्पभन्दा निकै पर छन् । तर उनको उदयले राजनीतिमा अनुभव नै नभएको कट्टरपन्थीलाई पनि रिपब्लिकनमा स्थान रहेको संकेत गर्ने जानकारहरु बताउँछन् ।

विगतमा रिपब्लिकनबाट सांसद बनेर वर्तमानमा पार्टीको कटु आलोचक भनेका जोन वालेस भन्छन्, ‘रिपब्लिकन अरुको मानमर्दन गर्ने र अधिनायकवादी चरित्रको उम्मेदवारको तलासमा रहेको छ । यसमा ट्रम्प नै उपयुक्त हुन्छन् । यदि ट्रम्प भएनन् भने डी सान्तिस र रामास्वामीमध्ये एक नै उपयुक्त पात्र हुन् ।’

को हुन् विवेक रामास्वामी ?

विवेक रामास्वामी भारतीय आप्रवासी अभिभावकका छोरा हुन् । औषधि व्यवसायी धनाढ्य ३८ वर्षीय रामास्वामी ओहायोमा जन्मिएका हुन् । सन् २०२१ मा पुस्तक प्रकाश गर्नुअघि नै उनले आफ्नो पुस्तकमा दिगो र समतामूलक व्यापारिक नीतिबारे चर्चा गरेका छन् ।

रामास्वामी फक्स न्युज लगायतका च्यानलबाट आफ्ना विचार राख्थे । पहिचानको राजनीतिमा सबैले ध्यान दिनुपर्ने उनको मत हुन्थ्यो । रामास्वामी वर्ण विशेषको सर्वोच्चताको प्रखर विरोधी हुन् ।

प्रारम्भिक निर्वाचनमा उम्मेदवारी घोषणा गर्दा रामास्वामीलाई कमैले चिन्थे तर मतसर्वेक्षणमा जब उनी डी सान्तिससँगको हाराहारीमा आए तब उनी धेरैको नजरमा परे । अनुभवको कमीका बाबजुद रामास्वामीलाई एउटा कुराको फाइदा रहेको जर्ज वासिंटन विश्वविद्यालयका प्राध्यापक टोड बेल्ट बताउँछन् । ‘धेरै अमेरिकालाई के लाग्छ भने वासिंटनको सुधार बाहिरकै मूलको मानिसबाट हुन्छ । भारतीय मूलका रामास्वामीले व्यापारमा पनि आफूलाई प्रमाणित गरिसके । अझ उनको युवा जोसले धेरैलाई आकर्षित गर्न सक्नेछ’ उनले भने ।

रामास्वामीले हार्वर्ड र यल विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका छन् । हार्वर्डमा स्नातक पढेका उनी अतिरिक्त क्रियाकलापमा निकै रुचि राख्थे । सामाजिक विषयमा बहसदेखि संगठित हुने सीप उनले हार्वर्डमा हुँदादेखि नै विकास गरे । हार्वर्डमा उनी दक्षिण एशियाली संगठनको अध्यक्ष समेत बने । त्यहीं नै उनी रिपब्लिकन क्लबमा आवद्ध भए । उनी आफूलाई स्वतन्त्रताप्रेमी भन्न रुचाउँछन् ।

हार्वर्डबाट जीवविज्ञानमा स्नातक गरेक उनले यलमा गएर कानुन पढे । अन्य उम्मेदवारले चुनावी अभियानका लागि चन्दा संकलन गरिरहँदा रामास्वामीले त्यसका लागि १ करोड ५० लाख अमेरिकी डलर व्यक्तिगत रुपमै दिएका छन् ।

के छन् रामास्वामीका नीति ?

वाक्कलामा निपुण रामास्वामी अमेरिकी जासुसी संयन्त्र एफबीआई खारेजीको पक्षमा छन् । यसले नागरिक स्वतन्त्रता हनन गरेकाले संस्था नै खारेज हुनुपर्ने उनको माग छ । कलेज पढ्दा नै रामास्वामीले यसका तात्कालीन निर्देशक रोबर्ट मुलर हार्वर्डको एक बहसमा थिए । त्यहाँ रहेका रामास्वामीले मुलरलाई सोधेका थिए, ‘के तपाईंलाई लाग्दैन कि नागरिक स्वतन्त्रता हननको विषयमा एफबीआईमाथि स्वतन्त्र कुनै निकायले छानबिन गर्नुपर्दैन ?’

त्यसबेलै यस्ता प्रश्न तेर्साएका रामास्वामीले हाल त्यसको खारेजी गर्नुपर्ने आवाज उठाएका हुन् । उनले शिक्षा मन्त्रालय र आन्तरिक राजश्व विभाग खारेज गर्ने बताएका छन्  । यस्तै उनले अमेरिका फर्स्टकै नीतिलाई प्राथमिकता दिएका छन् । उनले २५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मतदानमा सहभागी नगराउने आफ्नो नीति रहेको बताएका छन् ।

जलवायु परिवर्तनको मुद्दालाई ट्रम्पले झैं उनले पनि एक झुटो मुद्दा भनेका छन् । उनको चुनावी अभियानको क्रममा गत बुधबार भएको बहसमै उनले भनेका थिए, ‘जलवायु परिवर्तनका मुद्दा हावादारी हो ।’

जलवायु परिवर्तनका मुद्दा जबर्जस्ती अघि सारिएको अतिवादी एजेण्डा रहेको उनको भनाइ छ । यस्तै अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोगको पनि उनले विरोध गरेका छन् । रामास्वामी भन्छन्, ‘हाम्रा नेताहरुले किभलाई सायद तीर्थ र जेलेनेस्कीलाई धर्मगुरु सम्झेका छन् । उनीहरु बारम्बार त्यहाँ पुग्नु र निरन्तर सहयोग गर्नु अमेरिकाका लागि निकै घातक छ । त्यहाँ खर्च गर्नुको सट्टा आफ्नो दक्षिणी सीमा बलियो बनाउन अमेरिका केन्द्रित हुनुपर्छ’, उनले भने ।

रामास्वामी कसरी बने धनाढ्य ?

कलेज पढ्दादेखि नै रामास्वामीको ध्यान व्यापारमा थियो । हार्वर्डमा हुँदा उनले लगानी गर्ने समूह खडा गरेका थिए । त्यस समूहले उद्यम गर्न चाहने विद्यार्थीलाई सहयोग गर्थ्यो । कलेजमा हुँदा नै रामास्वामीले परामर्शदाता कम्पनी पनि स्थापना गरेका थिए ।

सन् २००७ मा स्नातक गरेपछि उनी लगानी गर्ने अर्को कम्पनी क्युभिटीमा साझेदार भए । २८ वर्षकै उमेरदेखि नै साझेदारीमा व्यापार गरिरहेका उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहे । सन् २०१३ मै उनी करोडपति थिए । सन् २०१४ मा उनले औषधिको विकास र कारोबार गर्ने कम्पनी रोभिएन्टमा लगानी गरे ।

सन् २०१५ मा उनले बायोटेक कम्पनीमा आईपीओ पनि जारी गरे ।  बायोटेक कम्पनीमा धेरैले लगानीकर्ता आकर्षिक भएको पहिलो कम्पनी रोभिएन्ट नै थियो । रामास्वामीको कम्पनीले सुरुवातमा अल्जाइमरको औषधि बनाउन खोज्यो तर असफल भयो । पछि प्रोस्टेट क्यान्सर लगायत रोगको औषधि बनाउन कम्पनी सफल भयो  । सन् २०१६ मै रामास्वामीलाई फोर्ब्सले ४० वर्ष मुनिको धनाढ्य युवाको सूचीमा समावेश गरेको थियो ।

Ramaswamy participates in a toast with supporters at the Jalapeno Pete's bar at the Iowa State Fair in Des Moines on Aug. 11, 2023. (Brandon Bell—Getty Images)

ट्रम्पका कट्टर समर्थक रामास्वामी अहिले उनैलाई चुनौती दिन खोजिरहेका छन् । ट्रम्प डी सान्तिसका लागि करोडौं चन्दा उठ्दा उनको हकमा लाखमा मात्र सीमित छ । तर पनि रामास्वामीले हरेस खाएका छैनन् । उमेरमा जोन केरी र सार्पटन सिनेटरका लागि बहसमा थिए । त्यस बहसमा रामास्वामीले सार्पटनलाई सोधेका थिए, ‘डेमोक्र्याटका अनुभवी राजनीतिज्ञ हुँदाहुँदै राजनीतिमा कम अनुभव भएको तपाईंलाई मत किन दिने ?’

सार्पटनले जवाफमा भनेका थिए, ‘तिमीले मलाई मत नदिन पनि सक्छौ । किनभने राजनीतिलाई पेशा बनाएका भन्दा बढी राजनीतिक अनुभव मसँग छ । म १२ वर्षको उमेरदेखि आन्दोलनमा सहभागी छु । विगत ३० वर्षदेखि सामाजिक नीति बनाउन सक्रिय छु । राजनीतिमा कम अनुभव छ भनेर मानिसहरुलाई दिग्भ्रमित कसैले नपार्नू । राजनीतिलाई पेशा बनाएकाहरुको भन्दा मेरो कौशलता र अनुभव कुनै मानेमा कम छैन ।’

नागरिक अधिकारकर्मी सार्पटनको त्यही अभिव्यक्तिलाई मनन गर्दै अहिले रामास्वामी चुनावी अभियानमा छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?