+
+
एसिया कप :

नेपाली क्रिकेटमा अर्को ठूलो पर्व

नेपाली बलरहरु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले विराट, बाबर र रोहितलाई बलिङ गर्दा कस्तो देखिएला ?  कुशल, आसिफ, रोहित, भीम, आरिफले जस्प्रित बुमराह, मोहम्मद शामी, शाहिन शाह अफ्रिदी, हरिस राउफ, नसिम शाहलाई चौका छक्का प्रहार  गर्दा कस्तो होला माहोल ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० भदौ १३ गते ८:०५

१३ भदौ, काठमाडौं । झण्डै तीन दशकअघि सुरु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो । यस यात्रामा नेपालले दोस्रो पटक ठूलो प्रतियोगिता खेल्दैछ । जुन नेपाली क्रिकेट र खेलको लागि अर्को ठूलो पर्व वा विशेष चाड जस्तै बन्दैछ ।

सन् १९९६ मा मलेसियामा एसीसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय पाइला सुरु गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी-२० विश्वकप खेलेर ठूलो चर्चा कमायो । नेपाली क्रिकेटमा त्यो ऐतिहासिक क्षण थियो र त्यसले एक हिसाबमा क्रान्ती नै ल्यायो । जुन नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पर्व थियो ।

त्यसपछि नेपालले फेरि विश्वकप खेल्ने लगातार प्रयास गर्दै आए पनि सफल हुन सकिरहेको छैन । तर टी-२० विश्वकप खेलेको ९ वर्षपछि नेपालले विश्व क्रिकेटकै पावरहाउसका रुपमा रहेका भारत र पाकिस्तान जस्ता टिमसँग मिनी विश्वकप मानिने एसिया कपमा खेल्दैछ ।

झण्डै चार दशक लामो इतिहास रहेको एसिया कपमा नेपालले पहिलो पटक खेल्दैछ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गर्नुअघि नै सुरु भइसकेको एसिया कपमा नेपालले पहिलो सहभागितामै भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्ने अवसर पाएको छ ।

अहिले सारा नेपाली यसैको प्रतिक्षामा छन् । सारा नेपाली र देशलाई नै अहिले क्रिकेटको यो माहोलले एकजुट बनाएको छ ।

नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ भन्ने सुन्दा पनि मनै आनन्द हुन्छ । अब धेरै बेर कुर्नपर्दैन । नेपालले आजै बुधबार मुल्तानमा घरेलु टोली पाकिस्तानसँग खेल्दै त्यो सपना पनि पूरा गर्दैछ । विश्व चर्चित बाबर अजामको कप्तानीमा रहेको पाकिस्तान भर्खरै मात्र ओडीआईको नम्बर वान टोली बनेको छ ।

त्यस्तो टोलीसँग नेपालले पहिलो पटक खेल्दैछ । समकक्षी बाबर अजामसँगै टसका लागि पिचमा पुग्दा रोहित पौडेल एसिया कप २०२३ को सबैभन्दा कान्छो कप्तानको रुपमा मैदान उत्रनेछन् । नेपालले एसिया कपमा डेब्यु गर्नेछ । पाकिस्तानसँग पहिलो पटक आधिकारिक खेल खेल्नेछ । मुल्तान क्रिकेट स्टेडियममा खेल नेपाली समयअ नुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

यसै गरी  आउने सोमबार नेपालले टेष्ट र टी-२० मा नम्बर वान रहेको टिम छिमेकी देश भारतसँग श्रीलंकाको क्यान्डीमा खेल्दैछ । त्यो खेल अझै धेरै प्रतीक्षित बनेको छ ।

नेपाली समर्थकहरु अहिले टिकट काटेरै मुल्तान र क्यान्डीमा नेपालको खेल हेर्न जाँदैछन् । सारा विश्वकले नै नेपाली क्रिकेटलाई नियालिरहेको छ र एसिया कपपछि नेपालले अझ धेरै चर्चा पाउने पक्का छ ।

पहिलो पटक एसिया कप खेल्दा नै भारत र पाकिस्तानसँग खेलिहाल्न पाउनु चानचुने कुरा भने होइन ।

नेपालले कस्तो नतिजा ल्याउला हार जित के होला भन्ने अहिले चासो होइन । नेपालले पहिलो पटक यति ठूलो टिमसँग खेल्दैछ र त्यसमा नेपालको प्रदर्शन कस्तो होला नेपाली खेलाडीले रन रन हान्ला कति विकेट लेला भन्ने ठूलो विषय बनेको छ ।

विश्वकपमा सहभागिता मात्र नभई विश्वकप नै जितिसकेका नेपालभन्दा धेरै अनुभवी टोली, घरेलु संरचना, लगानी खेलाडीको पारिश्रमिक सबै हिसाबले नेपालभन्दा भारत र पाकिस्तान धेरै गुणा अगाडि छ । यिनै टिमसँग नेपालले खेल्नु आफैंमा एउटा इतिहास हो ।

विराट कोहली, बाबर अजाम, रोहित शर्माको विकेट कसले लिन्छ होला अनि कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, भीम शार्कीले कसलाई छक्का चौका हान्लान् भनेर समर्थक प्रतीक्षामा छन् ।

नेपाली बलहररु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले विराट, बाबर र रोहितलाई बलिङ गर्दा कस्तो देखिएला ?  कुशल, आसिफ, रोहित भीम, आरिफले जस्प्रित बुमराह, मोहमम्द शामी, शाहिन शाह अफ्रिदी, हरिस राउफ, नसिम शाहलाई चौका छक्का प्रहार  गर्दा कस्तो होला माहोल ?

अहिले सबै त्यसकै पर्खाइमा छन् । नेपालको खेल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुँदा करौडौंले टिभीमा पनि हेर्ने अवसर पाउनेछन् ।

यसअघि सधैं टिभीमै हेरिका खेलाडीविरुद्ध आज नेपाली खेलाडी नै मैदान उत्रनेछ ।

अब यो नेपाली क्रिकेटका अर्को इतिहासको रुपमा रहनेछ । यदि नेपालले कुनै किसिमको अप्रत्यासित नतिजा निकालिहालेमा त्यो अर्को इतिहास बन्नेछ र नेपाललाई एसिया कपमा बोनस नै मिल्नेछ ।

नेपाललाई पहिलो पटक एसिया कपमा छनोट गराउने नेतृत्व गरेका नेपाली टोलीका कप्तान रोहित पौडेलले नेपाल लायक भएर नै एसिया कप खेल्न आएको मंगलबार प्रिम्याच कन्फ्रेन्समा बताइसकेका छन् ।

उनले नेपाल र पाकिस्तानी खेलाडीको फरक बारे सोध्दा खेलाडीको सीप उस्तै रहेको तर अनुभवको आधारमा पाकिस्तान माथि रहेको बताएका थिए । अब नेपाली खेलाडीले ती अनुभवी खेलाडीविरुद्ध खेल्दै सिक्ने अवसर पाउनेछन् ।

एसिया कपमा यस पटक पाँच टेष्ट राष्ट्र र एक एसोसिएट गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । दुई ठूला टोली भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छन् । अर्को समूहमा श्रीलंका अफगानिस्तान र बंगलादेश छन् ।

सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको नेपालले गत वर्ष सम्पन्न विश्व क्रिकेट लिगबाट अर्को चार वर्षका लागि ओडीआई मान्यता बचाउँदै जिम्बाव्वेमा विश्वकप छनोट नै खेलेको थियो । तर नेपाल विश्वकपमा पुग्न भने सकेन । भारत र पाकिस्तानसँग खेल्न विश्वकप नै पुग्नपर्छ भन्ने ट्याग अब हटेको छ । मिनी विश्वकपको रुपमा रहेको एसिया कपमै नेपालले ठूला टिमसँग खेल्दैछ ।

विश्वकपमा सहभागिता मात्र नभई विश्वकप नै जितिसकेका नेपालभन्दा धेरै अनुभवी टोली, घरेलु संरचना, लगानी खेलाडीको पारिश्रमिक सबै हिसाबले नेपालभन्दा भारत र पाकिस्तान धेरै गुणा अगाडि छ । यिनै टिमसँग नेपालले खेल्नु आफैंमा इतिहास बन्ने छ ।

नेपालमा त विदेशी टिम ल्याएर खेलाउने राम्रो सुविधा सम्पन्न क्रिकेट स्टेडियममा नै छैन भने घरेलु संरचना प्रायोजक देखि लिएर धेरै कुरामा अझै काम गर्न बाँकी नै छ ।

सन् २०१४ मा टी२० विश्वकप खेलेपछि एउटा स्तरमा पुगेको नेपाली टोली अहिले एसिया कप खेल्दै गर्दा अर्को महत्वपूर्ण खुड्किलो पूरा गर्ने चरणमा छ । तर यो यतिमा मात्रै सीमित नहोस् । पाकिस्तान जानुअघि कप्तान रोहित पौडेलले एसिया कपले नेपाली क्रिकेटमा ठूलो महत्व राख्ने बताएका थिए ।

नेपालका लागि विश्वप जस्तै क्यान पदाधिकारीले यसको महत्व राम्रोसँग बुझ्न जरुरी छ र क्रिकेटमा आवश्यक लगानी गर्ने र सरकार र प्राइभेट क्षेत्रको संलग्नतालाई बढाउनका लागि भूमिका खेल्नुपर्छ । नत्र नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो भन्ने इतिहासमा मात्रै कायम हुनेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?