+
+

आमाले नै भन्नुभयो-बाबु विदेश जाने सुरसार गर !

याद मेटाउने एउटै उपाय थियो ममीलाई फोन गर्नु। एकदिन म फोनमा बोल्दैथिएँ। ममीले भन्नुभयो, ‘अब त नेपालमा बसेर हुन्न, यसो बाहिर जाने सुरसार गर्नुपर्छ होला कान्छा!’

सुरेश तिमल्सिना सुरेश तिमल्सिना
२०८० भदौ १३ गते ८:१६

एकदिन विद्यालयमा शिक्षकहरूले दिनुभएको गृहकार्य गर्न म घरको एउटा कोठामा बसिरहेको थिएँ। ‘क’ देखि ‘ज्ञ’ सम्म। जस्तै ‘क’ बाट कलम, ‘ख’ बाट खरायो यस्तै–यस्तै लेख्दैथिएँ।

‘स’ मा पुगेपछि म रोकिएँ। भान्सामा खाना खाने समय भएको रहेछ। दाइले मलाई बोलाउन आउनुभयो। म गृहकार्य गर्दागर्दै रोकिरहेको देखेर दाइले भन्नुभयो, ‘हुमक् समयमा गर्न पर्दैन ?’

म डराउन थालें। दाइले मेरो नजिक आएर कापी नियाल्दै भन्नुभयो, ‘सबाट सपना हुन्छ, छिटो सपना लेख।’

म सपना लेखेर दाइसँगै भान्सातर्फ लागें। भातको सिता चपाउँदै म अन्तै मन डुलाउन थालेछु। सायद सपनाले सताउन थालेर होला।

त्यो रात सबै गृहकार्य सकेर सुतें। घरबाट विद्यालय करिब १ घन्टा ३० मिनेटको दूरीमा थियो। म भोलिपल्ट विद्यालय गएँ। सबैले आ-आफूले गरेको गृहकार्य अगाडि गएर सुनाउन थाले।

मेरो पालो आयो। म अगाडि गएर ‘क’बाट कलम, ‘ख’बाट खरायो भन्दैथिएँ। ‘स’मा पुगेपछि ‘स’बाट सपना भनें।

त्यसपछि सरले सोध्नुभयो, ‘सुरेश तिम्रो सपना चाहिं के हो ?’

एकछिन त सोचमग्न भएँ। सोच्दैथिएँ। एक्कासी दिमाखमा एउटा उत्तर आयो।

‘सर मेरो सपना भनेको विदेश नगई नेपालमा नै बसेर पैसा भन्दा पनि इज्जत कमाउनु हो।’

विस्तारै मैले माथिल्लो कक्षामा प्रवेश गर्दै जादा +२ सम्मको अध्ययन पनि सकें। अब ब्याचलर अध्ययनको निम्ति काठमाडौंस्थित आरआर कलेजमा भर्ना भएँ।

एक महिना जतिमा म काठमाडौंबाट अध्ययन छाडेर चितवन जानुपर्ने भयो। चितवनमा मैले एउटा सपना देखें। अनि मलाई सपनाले डोर्‍याउँदै राजधानी शहरबाट चितवनतर्फ लग्यो।

जसोतसो अध्ययन चलिरहेको थियो। घरमा दिनदिनै फोन गर्ने मेरो बानी अहिले पनि हटेको छैन। अलिअलि अँध्यारो हुनलाग्यो कि घरको ज्यादै याद आउने।

याद मेटाउने एउटै उपाय थियो ममीलाई फोन गर्नु। एकदिन म फोनमा बोल्दैथिएँ। ममीले भन्नुभयो, ‘अब त नेपालमा बसेर हुन्न, यसो बाहिर जाने सुरसार गर्नुपर्छ होला कान्छा!’

म छाँगाबाट खसेको जस्तै भएँ। आफूले आफूलाई केही गरेर चिनाउँछु भन्ने कति ठूलो सोच बुन्दै थिएँ। त्यो दिनदेखि लगभग मेरो एउटा सपनाको अन्त्य भयो।

विस्तारै हिजोभन्दा भोलि, भोलिभन्दा पर्सि गर्दागर्दै घरका सबै सदस्यले मलाई विदेशिनुपर्छ भन्ने सन्देश दिन थाले।

ममीलाई त जसोतसो गरेर भनें, ‘ममी म तपाईंहरूको इज्जत बचाउँछु। तपाईंहरूको छोरा हुँ भनेर सबैलाई चिनाउँछु तर विदेश जा भनेर मलाई नभन्नुस्!’ मेरो बिन्ती ममीले त मान्नुभयो। तर दाइले सुन्नुभएन ।‍

अब दाइबाट फेरि उही कुरा आउन थाल्यो बारम्बार ।

अहिले म मेरा कैयौं सपना मारिरहेको छु। विदेश जानुहुँदैन भनेर अरुलाई उदाहरण दिने मान्छे म अहिले आफैं छाड्दैछु देश। साँच्चै मेरो एउटा सपनाको अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?