+
+

काठमाडौंमा व्यावसायिक संस्थाका शौचालयलाई ‘सार्वजनिक’ बनाउने योजना असफल

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ १३ गते १८:५५

१३ भदौ, काठमाडौं । व्यवसायिक संस्थाका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने काठमाडौं महानगरपालिकाको योजना असफल भएको छ । महानगरले बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३५ वटा संघसंस्थाका शौचालय सार्वजनिक प्रयोगमा ल्याउने सम्झौता गरेको थियो ।

तर, तीमध्ये होटल तथा रेष्टुरेन्टबाहेक अन्य संस्थाका शौचालयको सार्वजनिक प्रयोग अत्यन्तै कम भएको छ । महानगरले सुरुमा नबिल बैंकसँग यस्तो सम्झौता गरेको थियो । त्यसपछि अन्य ३४ कम्पनीहरुसँग सम्झौता गर्दै सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने भनेको थियो । तर, हाल ती संस्थाका शौचालय सार्वजनिक प्रयोगमा छैनन् ।

महानगरसँग कामना सेवा बैंकले आफ्नो शौचालय सार्वजनिक प्रयोगमा दिने सम्झौता गरेको थियो । तर, बैंकको बाहिर सार्वजनिक शौचालयको बोर्ड छैन । सार्वजनिक विदाको दिन बैंक बन्द हुँदा शौचालय पनि बन्द हुन्छ ।

यस्तै, नबिल बैंकले कार्यक्रम नै आयोजना गरेर निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने सम्झौता गरेको थियो । तर, बैंकमा छिर्दा नाम टिपाउनुपर्ने व्यवस्था, सार्वजनिक विदाको दिन बैंक बन्द हुनेलगायत समस्याले यसको प्रयोग सहज भएको छैन ।

नयाँ बानेश्वरमा घराना रेष्टुरेन्टमा राखेको ‘पब्लिक ट्वाइलेट’को बोर्ड काठमाडौं महानगरपालिकाले नै हटाइ दिएको छ । रेष्टुरेन्टका व्यवस्थापक महेश दाहालका अनुसार महानगरले दिएको बोर्ड विज्ञापनको मापदण्डमा नपरेको भन्दै हटाएको हो । तर रेष्टुरेन्टमा भने कसैले ट्वाइलेट सोध्न आए उपलब्ध गराइरहेको उनले बताए । ‘ग्राहकहरु त स्वाभाविक रुपमा गइहाल्छन्, कोहीकोही आपत् परेका बेला सोध्न आइपुग्छन्, सँधै यही बाटो हिँड्ने मान्छे त सिधै आवतजावत गर्छन्,’ दाहालले भने ।

यस्तै चिकेन स्टेसनले पनि महानगरसँग सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न दिने भनेर सम्झौता गरेको छ । तर, निःशुल्क सार्वजनिक शौचालय भने राखेको छैन । केएफसीले आफ्नो विभिन्न शाखामा निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिइरहेको छ ।

केएफसीले बोर्डसहित उक्त सेवा दिए पनि धेरैलाई जानकारी नहुँदा शौचालय प्रयोगका लागि मात्र मानिसहरु जाने गरेका छैनन् । केएफसी बौद्ध शाखाकी व्यवस्थापक सुस्मिता पौडेलले महानगरको सम्झौता अनुसार निःशुल्क सार्वजनिक शौचालय चलिरहेको बताइन् । ‘केही केही मान्छे बोर्ड हेरेर आएर ट्वाइलेटबारे सोध्छन्, थाहा हुने नसोधी आएर ट्वाइलेट जान्छन्,’ पौडेलले भनिन् । महानगरले निःशुल्क सार्वजनिक शौचालय दिने भनेका अधिकांश स्थानमा बोर्ड नै भेटिँदैन ।

सार्वजनिक शौचालय आफैं बनाउने तयारी

व्यावसायिक संस्थासँग सम्झौता गरेर सार्वजनिक शौचालय प्रयोगको योजना असफल भए पछि महानगर आफैँले शौचालय बनाउने भएको छ । सोहीअनुसार काठमाडौं महानगरपालिकाले सबै वडा कार्यालयसँग शौचालयको लागि स्थान माग गरेको छ ।

मंगलबार महानगरको सार्वजनिक निजी, साझेदारी इकाइका प्रमुख डा. शिवराज अधिकारीले सबै वडा कार्यालयलाई पत्र पठाउँदै महानगरले तयार गरेको डिजाइनअनुसार उपयुक्त स्थान पठाउन भनेका हुन् ।

महानगरपालिकाको गत १८ पुसमा नगर कार्यपालिकाले वडा कार्यालयलाई सार्वजनिक शौचालय बनाउन उपयुक्त स्थान पहिचान गरी आफ्नो वडा क्षेत्रभित्र सुविधा सम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार महानगरपालिकाको शहरी योजना आयोगको प्राविधिक सहयोगमा महानगरपालिका क्षेत्रमा स्थान अनुसार उपयुक्त हुने विभिन्न ४ प्रकारका सार्वजनिक शौचालयको ड्रइङ डिजाइन तयार गरेको छ । तीमध्ये वडा क्षेत्रमा उपलब्ध हुने स्थानलाई उपयुक्त हुने किसिमको ड्रइङ, डिजाइन छनौट गरी सार्वजनिक शौचालय सञ्चालनका लागि खरिद प्रक्रियामा अगाडि बढाउन पत्रमा भनिएको छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?