+
+

पाकिस्तानविरुद्ध नेपाल : ऐतिहासिक खेलमा थोरै मज्जा, थोरै खल्लो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते २३:२८

१३ भदौ, काठमाडौं । एकदिवसीय क्रिकेटमा विश्वकै पहिलो वरियताको टिम । उसकै घरेलु मैदान मुल्तान क्रिकेट रंगशाला ।

एसिया कपको पहिलो खेलमा बुधबार नेपालले पाकिस्तानसँग खेल्दा गुमाउनु केही थिएन । जित्नु थियो त ठूलो टिमहरुसँग पनि नेपालले सम्मानजनक खेल खेल्न सक्छ भन्ने विश्वास ।

मुल्तान क्रिकेट रंगशालामा भएको खेलमा २३८ रनको फराकिलो हार व्यहोर्ने क्रममा नेपालले थोरै आत्मविश्वास देखाएको छ । अनि अझै काम गर्नुपर्ने पनि देखिएको छ । ‘यो हाम्रा लागि एउटा उत्सव हो’ नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘बलिङतर्फ सुरुको २५/३० ओभर हामीले त्यो मज्जा लियौं । ब्याटिङतर्फ हामीले लिनुपर्ने जति मज्जा लिन सकेनौं ।’

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले फाखर जमान र इमाल उलहकलाई ओपनिङमा पठायो । अनुशासित बलिङ गरेको नेपालले उनीहरुलाई दबावमा राखे । छैटौं ओभरको तेस्रो बलमा करण केसीले जम्मान असिफ शेखको हातबाट क्याच गराए भने सातौं ओभरको पहिलो बलमा कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत इमाम उल हकलाई रन आउट गराए । इमामले त्यसअघि जीवन दान पाए पनि त्यसको लाभ उठाउन सकेनन् ।

इमाम आउट हुँदा पाकिस्तानको स्कोर २५/२ थियो । त्यसपछि कप्तान बाबर आजमले नयाँ ब्याट्सम्यान मोहम्मद रिजानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । २४औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी एत्कृष्ट फिल्डिङ गर्दै त्यो साझेदारी तोडे, उनले ४४ रनमा खेलिरहेका रिजवानलाई रन आउट गरे । नयाँ ब्याटर सलमान आगा थप १३ रन जोड्दा सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच गराए ।

नेपालको अनुशासित बलिङका कारण विश्वका नम्बर वान ब्याट्सम्यान बाबर पनि खुलेर खेल्न सकिरहेका थिएनन् । २९ औं ओभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका उनले अर्को बलमा जीवनदान पाए । आफ्नै बलमा करणले क्याच लिन सकेको भए परिस्थिति फरक हुनसक्थ्यो ।

पूर्व कप्तान मल्ल त्यसलाई विकेटको आधा सम्भावना मान्छन् । ‘यदि त्यो विकेट लिएको भए कम्तीमा पाकिस्तानको ६०/७० रन कम हुन्थ्यो’, उनको विश्लेषण छ ।

त्यसपछि पनि विकेटको खोजीका क्रममा कप्तान रोहितकुमार पौडेलले आफूसँग भएका विकल्पहरु प्रयोग गर्ने क्रममा ३४औं ओभरको बल कुशल भुर्तेललाई थमाए । उनले दुई चौकासहित १० रन दिए । त्यही ओभरमा दुई चौका हानेका बाबर र इफ्तिखार अहमदले खुलेर खेल्न थाले । बाबर र उनले बाउन्ड्री हान्न लागे । यद्यपि ४० ओभरको समाप्तीमा पाकिस्तानको स्कोर २१३/४ मात्र थियो ।

तर अन्तिम १४ ओभरमा नेपालले १२९ रन दियो । ४१औं ओभरको दोस्रो बलमा करिअरको १९औं शतक बनाएका बाबरले ४८औं ओभरको अन्तिम बलमा एक रन लिँदै १५० रन पूरा गरे । अनि इफ्तिखारलाई करिअरको पहिलो शतक बनाउन साथ दिए । उनले ४९औं ओभरको पाँचौं बलमा करणलाई चौका हान्दै १०० रन कटाए ।

पाकिस्तानी कप्तान बाबर करिअरकै सर्वाधिक रन बनाउने सम्भावनालाई भने सोमपालले तोडे । अन्तिम तेस्रो बलमा उनी १५१ रनमा आउट भए र इंग्ल्याण्डविरुद्ध २०२१ मा बनाएको १५८ रनको स्कोरलाई भेट्टाउन पाएनन् । अन्तिम बलमा शाबाद खानलाई पनि आउट गर्दै सोमपालले आफ्नो नाममा २ विकेट लेखाए ।

तर पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको विशाल स्कोर बनाउन सफल भयो । डेथ ओभरको बलिङमा केही कमजोरी र दुई डाइरेक्ट हिटका बाबजुद ग्राउण्डमा भएका केही मिसफिल्डले पनि त्यो अवस्था बन्यो । खेलका क्रममा कुनै बेला मैदानमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट देखिन्थ्यो भने कुनै बेला तिनै खेलाडीमा हडबडाहट देखिन्थ्यो ।

‘डेथ ओभरमा हामीले राम्रो गर्न सकेनौं’ पूर्व क्रिकेटर एवं प्रशिक्षक राजु बस्न्यात भन्छन्, ‘ठूलो खेलको दबाब, त्यहाँको वातावरणले गर्दा पनि खेलाडीहरु थाके जस्तो लाग्यो । त्यसैले बलिङमा भन्नु केही छैन ।’

३४३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ब्याटिङमा भने लय समाउनै सकेन । शाहीन अफ्रिदीले पहिलो ओभरको पाँचौं बलमै कुशल भुर्तेलको विकेट लिए भने अर्को बलमा कप्तान रोहित पौडेल आउट हुन पुगे ।

अर्को ओभरमा नसिम शाहले आसिफ शेखको विकेट लिएपछि नेपालको अवस्था १४/३ भयो । क्रिकेट प्रशिक्षक बस्न्यात टप अर्डरका तीन व्याट्सम्यानलाई गुमाउनु नेपालका लागि दुर्भाग्य मान्छन् । भन्छन्, ‘यदि उनीहरुले राम्रोसँग सुरुवात गर्न पाएको भए सम्मानजनक स्कोर बन्थ्यो ।’

यद्यपि आसिफ शेख र सोमपाल कामीले टिकेर खेल्न प्रयास गरे । दुवैले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरे । हरिफ राउफले त्यो साझेदारी तोडे । तर १५औं ओभरको चौथो बलमा उनले शेखलाई २६ रनमा आउट गरे ।

त्यसपछि ३१ रन जोड्दा नेपाल बाँकी सबै विकेट गुमायो र नेपाल २३.४ ओभरमा १०४ रन बनाएर अलआउट भयो । नेपालका लागि सबभन्दा धेरै सोमपालले २८ रन बनाए अरुले दोहोरो अंक समेत छुन सकेनन् ।

पूर्व कप्तान मल्लका अनुसार पेश बलरहरुसँग नियमित नखेलेकाले सजिलो थिएन । तर कतिपय बेला खेल्न जरुरी नभएका सर्टहरु खेल्दा नेपालले विकेट गुमायो । नेपालले कम्तीमा २०० रन कटाउन सकेको भए सम्मानजनक स्कोर हुने भन्दै उनी भन्छन्, ‘हामीले जति खेल्न सक्यौं, ब्याटिङमा त्यो देखिएन ।’

प्रशिक्षक बस्न्यात पनि उत्कृष्ट बलरहरु भएको पाकिस्तानसँग खेल्ने अवसरलाई जति सहयोग गर्नुपर्ने हो, ब्याटिङतर्फ त्यति गर्न नसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?