+
+

के गर्ने, जब गर्भ रहन्छ

डा. बालकृष्ण शाह डा. बालकृष्ण शाह
२०८० भदौ १७ गते १४:२७

गर्भावस्था आफैँमा एउटा जटिल अनि विशेष अवस्था हो । यस अवस्थामा आमा बन्ने खुसीमात्र जोडिएका हुँदैनन्, गर्भसँग समाजिक, पारिवारिक तथा आत्मीय सम्बन्ध रहेको हुन्छ ।

गर्भावस्थामा हुने शारीरिक र हर्मोनल परिवर्तनले गर्भवतीहरूमा समस्या र चिन्ताहरू थपिने हुन्छन् । त्यसैले यी परिवर्तनका बारेमा गर्भवती तथा परिवारका सदस्यले राम्ररी बुझे तनाव आफैँ कम हुने हुन्छ । त्यसैले हरेक दम्पतीले गर्भका योजना बनाउनु तथा गर्भ राख्नुभन्दा पहिले नै चिकित्सकीय परामर्श लिनु राम्रो हुन्छ ।

गर्भको अवधि ९ महिना र सुत्केरी अवस्था १ महिना १५ दिनसँगै बच्चालाई आमाको दूधमात्र खुवाउने ६ महिनाको अवधि अर्थात् करिब १५ महिना एउटा लामो समय हो । यो लामो समयको व्यवस्थापन र यसले दिने एउटा नयाँ जीवनका लागि आफ्नै ज्यानसमेतलाई खतरा रहने भएकाले गर्भावस्थाका लागि सचेत भएर योजना बनाएर अगाडि बढ्न सके आमा र बच्चा दुवैको स्वास्थ्य, विकास राम्रो हुने र तनाव कम हुने हुन्छ ।

गर्भ राख्नु करिब ९० दिन अर्थात् तीन महिनाअगाडि नै गर्भको योजनाका लागि प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ ।

यस परामर्शमा गर्भवती हुने योजनामा रहेका महिलाको शारीरिक परीक्षण तथा आवश्यक अन्य परीक्षण गरेर पोषण एवं शारीरिक सक्षमता, सङ्क्रमणहरू (विशेषतः यौन सङ्क्रमण), दीर्घ रोगहरू (उच्च रक्तचाप, मधुमेह), हर्मोनहरूको सन्तुलन (थाइराइड) आदि अवस्था पत्ता लगाउनुका साथै केही कमजोर वा गडबडी भए उपचारसमेत गरिने भएकाले गर्भ र गर्भको विकासका लागि महत्त्वपूर्ण साबित हुन्छ ।

यस परामर्शमा गर्भको योजनामा रहेका महिला तथा उनको परिवारसँग अन्य स्वास्थ्य र गर्भका जटिलतासम्बन्धी, जोखिम न्यूनीकरण र गर्भको विकासका लागि अपनाउनु पर्ने सर्तकता अनि व्यवहारमा परिवर्तनसम्बन्धी जानकारी दिइन्छ । जसले गर्भका कारणले हुने तनाव पनि कम हुन्छ ।

गर्भको योजना बनाएपछि के गर्ने ?

-धूमपान, मद्यपान नगर्ने । धूमपान गर्नेहरूसँग नबस्ने पनि । नियमित फलफूल सेवन गर्नुका साथै सन्तुलित भोजन गर्ने ।

-नियमित हल्का व्यायाम गर्ने तथा तनावमा नबस्ने ।

-दैनिक फोलिक एसिड भएको औषधी सेवन सुरू गर्ने । चिकित्सकले दिएका सम्पूर्ण निर्देशन पालना गर्ने र दुविधा लागेका कुरामा पटक पटक परामर्श तथा सल्लाह गर्ने ।

योजनाबिना नै गर्भ रहे के गर्ने ?

गर्भको योजना नबनाउँदै वा कुनै तयारी बिना परिवार नियोजनका साधन प्रयोग नगरेको अवस्थामा गर्भ रहन सक्छ । अधिकांश दम्पतिको यस्तै हुने गरका हुन्छ । यस अवस्थामा, गर्भ रहेको शंका लाग्नासाथ स्वास्थ्यकर्मीसँग जाँच गराउनुहोस् ।

गर्भ रहेको प्रमाणित भएमा गर्भलाई निरन्तरता दिन नियमित स्वास्थ्य र गर्भ परीक्षण गर्दै गर्भको स्याहार गर्न सकिन्छ वा गर्भको निरन्तरता दिन नसकिने अवस्था रहे सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थामा १२ हप्तासम्मको गर्भ गर्भवती कै मञ्जुरीमा सुरिक्षत गर्भपतन गर्न पनि सकिन्छ । नेपाल सरकारको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क उपलब्ध छ भने निजी क्षेत्रका सूचीकृत स्वास्थ्य केन्द्र (अस्पताल) मा यो सेवा सशुल्क उपलब्ध छ ।

गर्भलाई निरन्तरता दिने भएमा

पहिलो भेटमा तपाइँको उचाई र तौल नाप्नुहोस् । यसले तपाईँ कुपोषित हो कि होइन भन्ने पत्ता लगाउँछ । गर्भावस्थामा कुपोषण भए गर्भको बच्चाको विकास राम्रो हुँदैन, त्यसैले कुपोषण भए उपचार गर्नुपर्छ ।

हरेक पटक स्वास्थ्य संस्था जाँदा आफ्नो तौल नाप्नुहोस् । तपाईँको गर्भको अवधि बढ्दै जाँदा तौल पनि बढ्दै जानु पर्छ । गर्भावस्थामा सामान्यतः तपाईंको तौल १० देखि १२ किलो बढ्नु पर्छ ।

गर्भ जाँचको प्रत्येक भ्रमणमा स्वास्थ्यकर्मीबाट अनिवार्य प्रेसर जाँच गराउनुहोस् ।

स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको सल्लाह सुझावको पालना गर्दै सुझाएका परीक्षण गर्ने, औषधी सेवन गर्ने र नियमित फलोअप गर्ने गर्नुहोस् ।

गर्भ परीक्षण कहिले कहिले गर्ने ?

सम्भव भए गर्भको योजना बनाउँदै गर्दा नै स्वास्थयकर्मी वा प्रसूति विज्ञसँग परामर्श लिने र आवश्यक परीक्षण गराउने । आफू गर्भवती भएको वा गर्भ रहेको शङ्का लाग्नेबित्तिकै पहिलो तीन महिनाभित्र पहिलो गर्भ परीक्षण गर्ने पर्छ । यो परीक्षणले गर्भ रहेको वा नरहेको यकिन गर्छ । गर्भको प्रारम्भिक अवस्थामा नै बच्चाको अंगहरु बन्ने भएकाले धेरै सजग हुनुपर्छ । कुपोषण,  हर्मोनका गडबडी तथा सङ्क्रमण भए उपचार गर्नुपर्ने भएकाले आफूलाई भएको नभएको यकिन गर्न आवश्यक परीक्षणहरू पनि गर्नुपर्छ ।

दोस्रो परीक्षण चार महिना लाग्नेबित्तिकै अर्थात् गर्भ रहेको १६ हप्ताभित्र गरिसक्नुपर्छ । गर्भको चौथौ महिना सुरू भएपछि खानामा रूचि बढ्ने हुन्छ र यस परीक्षणपछि आइरन तथा क्याल्सियम चक्की खान सुरू गर्नुपर्ने हुन्छ ।

तेस्रो परीक्षण दोस्रो परीक्षणको एक महिनापछि अर्थात् गर्भको २० देखि २४ हप्तामा गर्नु उपयुक्त हुन्छ । यस अवस्थामा गर्भको बच्चामा कुनै खराबी छ वा छैन पत्ता लगाउन अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) गर्नुपर्छ । यसका साथै रक्तचाप (प्रेसर) र अन्य आवश्यक परीक्षण गर्नुपर्ने भएकाले यो भ्रमण निकै महत्त्वपूर्ण मानिन्छ ।

नियमित १-१ महिनाको फरकमा चौथो र पाँच परीक्षण क्रमशः २८ र ३२ हप्तामा गर्नुपर्छ । यी भ्रमणहरूमा बच्चाको वृद्धि मूल्यांकन गर्नुका साथै गर्भवतीको प्रेसर बढ्ने समस्या (प्रिइक्लेम्पसिया), पिसाबमा हुन सक्ने समस्या, ढाडको आदिबारे मूल्यांकन र परामर्श गरिन्छ ।

गर्भको आठ महिना पुगेपछि अर्थात् ३४ हप्ता पुगेपछि प्रत्येक १५ दिनमा जाँच गराउनु पर्छ । त्यसैले छैटौं, सातौं र आठौं क्रमशः ३४, ३६ र ३८–४० हप्तामा गराउनु पर्छ । ती परीक्षणमा गर्भवतीको रक्तअल्पता, अन्य जटिलताहरू मूल्याकङ्न गरिनुका साथै बच्चाको अवस्था, कता फर्केको छ, शालनालको अवस्था आदि मुख्यस्पले परीक्षण गर्नुपर्छ । यस अवस्थामा सुत्केरीको योजना बनाउने र यसका लागि आवश्यक तयारी पनि गर्नुपर्ने हुन्छ ।

तीबाहेक पनि आफूलाई कुनै समस्या भए स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा जाँच गराउनु पर्छ । यदि यसरी जाँच गर्न सम्भव नभएमा कम्तीमा पनि चार महिना, छ महिना, आठ महिना र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्नुपर्छ ।

औषधि के के सेवन गर्ने ?

गर्भ रहनुभन्दा तीन महिना अगाडिदेखि फोलिक एसिड चक्की खान सुरू गरेको राम्रो हो । यदि पहिले सुरू गरे को छैन भने पनि गर्भ रहेको थाहा हुनेबित्तिकै यो सुरू गर्नुपर्छ । फोलिक एसिड चक्की गर्भ रहेको ९० दिनसम्म प्रत्येक दिन खानुहोस् । यसो गर्नाले जन्मिने बच्चामा अपाङ्गता हुने सम्भावनालाई कम गराउँछ ।

गर्भको ९० दिन पूरा भएपछि प्रत्येक दिन बिहान एक चक्की आइरन (जसले तपाईंलाई रक्तअल्पता हुनबाट बचाउनेछ र तपाईंको बच्चाको स्वास्थ्यसमेत राम्रो पार्नेछ) खानुहोस् । दूध तथा दूधजन्य पदार्थ तथा चिया र कफी सेवन गरेको दुई घण्टाअघि वा पछि मात्र आइरन चक्की सेवन गर्दा शोषण राम्रो हुन्छ ।

साथै, भिटामिन सीयुक्त खाने कुरा अम्बा, कागती, सुन्तला, अमला आदिको सँगै सेवन गर्नुहोस् । आइरन चक्की स्वास्थ्य संस्थामा निःशुल्क पाउँछ ।

आइरन चक्की सुरू गरेसँगै प्रत्येक दिन बेलुका क्याल्सियम चक्की पनि खान सुरू गर्नुपर्छ । यसले गर्भावस्थामा हुनसक्ने मुर्छा पर्ने समस्याबाट बचाउँछ ।

गर्भावस्थामा आफूखुसी तथा चिकित्सकको परामर्श बिना कुनै औषधीको प्रयोग नगर्ने तर चिकित्सकले सुझाएका औषधिहरू सेवन गर्नुपर्छ ।

गर्भवतीले एक महिनाको फरकमा दुई पटक टिडी खोप लगाउनुपर्छ । यसले आमा र बच्चालाई धनुष्टङ्कार र लहरेखोकी हुनबाट बचाउँछ । पहिलो गर्भमा दुई पटक खोप लगाएको गर्भवतीले दोस्रो पटकदेखि एक पटक लगाए हुन्छ तर दुई पटक लगाउन पनि सकिन्छ ।

गर्भावस्थामा अल्ट्रासाउण्ड (यु.एस.जी.) कहिले गर्ने ?

गर्भ रहेको पहिलो तीन महिनाभित्र सम्भवतः गर्भको अवधि ६ देखि ८ हप्तामा पहिलो अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) गराएको राम्रो मानिन्छ । यसले गर्भ पाठेघरमा आएको यकिन गर्नुका साथै पछि सम्भावित समयमा सुत्केरी नभए सही समयमा निर्णय लिन सजिलो बनाउने हुन्छ । यसले गर्भमा एउटा, जुम्ल्याहा वा अन्य बच्चा रहेको पनि देखाउन सक्छ ।

दोस्रो युएसजी अर्थात् अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) १८ देखि २१ हप्ता अर्थात् गर्भको पाँचौं महिनामा गर्नुपर्छ । यसले गर्भको बच्चामा कुनै खराबी रहेको वा नरहेको यकिन गर्न मद्दत गर्छ ।

यसबाहेक आवश्यकतानुसार र चिकित्सकको सल्लाह– बमोजिम अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) गर्नुपर्ने हुनसक्छ ।

अन्य परीक्षण के गर्नुपर्छ

गर्भावस्था एउटा विशेष अवस्था हो  । राम्रो र स्वस्थ बिरूवामा मात्र राम्रो फल लाग्ने हुन्छ भनेजस्तै गर्भवती महिला स्वास्थ्य भए मात्र गर्भको बच्चाको राम्रो विकास हुन्छ ।

त्यसैले गर्भवतीलाई कुनै किसिमको सङ्क्रमण, हर्मोनको असन्तुलन आदि भएको वा नभएको यकिन गर्न रगतका विभिन्न परीक्षणहरू तथा पिसाबका परीक्षण चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्ने हुनसक्छ यस्ता परीक्षणमा यौनरोगहरू, मधुमेह, थाइराइड आदि हुने गर्छन् तर अस्पताल र चिकित्सकअनुसार फरक पर्न सक्छ ।

गर्भावस्थामा गर्भ जाँचसँगै अरू के तयारी गर्नुपर्छ ?

गर्भावस्था एउटा विशेष अवस्था हो । यस अवस्थामा गर्भवती र गर्भको बच्चाका लागि केही तयारी गर्नसके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुने, बच्चाको विकास राम्ररी हुने, सुत्केरी अवस्थामा कट नहुने तथा मातृमृत्यु र नवजात शिशुको मृत्यु कम गर्न सकिन्छ । यस अवस्थामा सुत्केरी योजना बनाउने, खानामा ध्यान दिने, गर्भावस्थाका खतराका बारेमा बुझ्ने र आवश्यक परेको अवस्थामा स्वास्थ्यकर्मीसँग परामर्श लिने गर्नुपर्छ ।

सुत्केरीको समय कसरी अनुमान गर्ने ?

गर्भको सुखद् अन्त्य सुरक्षित सुत्करी भएपछि हुन्छ गर्भवतीको पहिलो गर्भ परीक्षणमा नै स्वास्थ्यकर्मी वा चिकित्सकले सुत्केरी समयको अनुमानित मिति लेख्ने गर्छन् । यसको अर्थ, त्यही मितिमा नै प्रशव हुन्छ भन्ने होइन ।

त्यस मितिको १–२ हप्ता अगाडि पनि हुनसक्छ । तर एक हप्ताभन्दा बढी पर्खदा गर्भको बच्चामा खतरा बढ्ने भएकाले यो अनुमानित मिति (ईडीडी) लाई महत्त्वपूर्ण मानिन्छ । यो मिति अन्तिमपटक महिनावारी भएको। मितिमा ९ महिना र १ हप्ता जोडेर निकाल्न सकिन्छ । जस्तैः कसैको महिनावारी वैशाख १ देखि ५ गते भयो तर जेष्ठमा भएन र गर्भवती भए, प्रशवको अनुमानित मिति माघ ८ गते हुन्छ ।

सुत्केरी योजना कसरी बनाउने ?

गर्भावस्थामा नै सुत्केरी हुनका लागि अनुमान गरिएको मितिको बारेमा स्वास्थ्यकर्मीलाई सोध्नुपर्छ समयभन्दा अगावै प्रशव तथा सुत्केरीका लागि तयार हुनुपर्छ । यस्तो योजना बनाउँदा श्रीमान् तथा परिवारका अन्य सदस्यलाई पनि साथमा राख्दा राम्रो हुन्छ ।

प्रसूतिका लागि केही रकम जोगाएर राख्नुपर्छ । जुनसुकै बेला पनि यसको आवश्यकता पर्न सक्छ ।

आवश्यक परेको अवस्थामा तथा व्यथा सुरू भएपछि तुरून्तै यातायातको साधन चाहिने हुन्छ । यसका लागि एम्बुलेन्स वा यातायातका अन्य साधनको सम्पर्क नम्बर घरमा सबैले देख्ने स्थानमा लेखेर राख्नुपर्छ ।

सुत्केरी गराउन कुन संस्थामा जाने ? सोको योजना तथा सल्लाह गर्नुपर्छ । त्यस संस्थामा भएका दक्ष प्रसूतिकर्मीको सम्पर्क नम्बरसमेत राख्नु राम्रो हुन्छ । यस अवस्थामा आफूसँग बस्ने कुरूवा साथीसँग पनि समय लिनुपर्छ । आमा सुरक्षा कार्यक्रम रहेको अस्पतालमा सबै प्रकारका प्रसूति सेवा निःशुल्क हुनुका साथै यातायात खर्चबापत केही रकमको व्यवस्था गरिएको हुन्छ ।

सुत्केरी गराउँदा कहिलेकाहीँ रगत आवश्यक पर्न सक्छ । यसका लागि आफ्नो रगत समूह मिल्ने र आवश्यक परेमा जुनसुकै समयमा पनि अस्पताल आएर रगत दिनसक्ने कम्तीमा तीन जना व्यक्तिसँग सम्पर्कमा रहनुपर्छ ।

प्रशव कहिलेकाहीँ समयअगावै पनि सुरू हुनसक्छ तसर्थ स्वास्थ्य संस्थामा चाहिने आफ्नो र शिशुका कपडाहरू तथा जाँच गरेका सम्पूर्ण कागजातहरू एउटा झोलामा अगाडि नै तयार पारेर राख्नुपर्छ ।

दीर्घरोगी गर्भवती भए के गर्ने ?

मधुमेह, उच्च रक्तचाप (प्रेसर ), थाइराइडको असन्तुलन तथा अन्य रोग भएका पनि गर्भवती हुन नसक्ने वा गर्भको योजना बनाउन नमिल्ने भन्ने हुँदैन । कति महिलाहरूको गर्भको परीक्षण गर्ने क्रममा यस्ता रोग भएको थाहा हुन्छ ।

यस्ता रोग भएमा गर्भमा केही जटिलता आउने भएकाले सन्तानको रहर पुगिसकेका महिलाले गर्भको योजना नबनाउनु वा सुरक्षित गर्भपतन रोज्नु राम्रो हुन्छ तर चिकित्सकको परामर्श र नियमित परीक्षण तथा उपचार गरेर गर्भलाई निरन्तरता पनि दिन सकिन्छ ।

गर्भावस्थामा कस्तो खाना खानु पर्छ ?

यो अवस्थामा गर्भवती र गर्भको बच्चाका लागि पोषिलो र झोलिलो खाना साबिकको भन्दा बढी खानु पर्छ । स्वास्थ्यकर्मीसँग पौष्टिक खानाको बारेमा जानकारी लिनुपर्छ । विभिन्न किसिमका खानेकुरामा विभिन्न किसिमका पोषक तत्त्वहरू पाइन्छ ।

बच्चाको जन्मतौल र गर्भको बच्चाको विकास गर्भवतीको पोषणमा भर पर्ने भएकाले यस अवस्थामा गर्भवती महिलाले साबिकभन्दा एक पटक थप खाना खानु पर्छ । हरेक दिन विभिन्न प्रकारका चार वटै समूहका खाने कुरा (अन्न, पशुपक्षीजन्य जस्तैः मासु, अण्डा, दूध, फलफूल तथा तरकारी र गेडागुडी) खानु पर्छ । आयोडिनयुक्त नुन मात्र प्रयोग गर्नुपर्छ ।

यस अवस्थामा अत्यधिक चिया, कफी तथा चकलेटयुक्त खाना गर्भको बच्चाका लागि हानीकारक हुनसक्छ । यस अवस्थामा धूमपान, मद्यपान गर्नु हुँदैन । साथ, धूमपान गर्नेहरूको नजिकमा पनि बस्नु हुँदैन । यसले गर्भको बच्चामा नकारात्मक असर गर्नसक्छ । .

गर्भावस्थामा देखा पर्नसक्ने सामान्य असरहरूको घरमा नै कसरी व्यवस्थापन गर्ने ?

वाकवाक लाग्नुः गर्भावस्थामा वाकवाक लाग्ने हुनसक्छ । यस अवस्थामा तारेको, चिल्लो खाना नखानुहोस् । सकेसम्म बिहान उठ्नासाथ सुख्खा चिउरा, काजु, भुजा र सुख्खा रोटी आदि जस्ता केही खानुहोस् । खानासँगै पानी नखानुहोस् ।

कब्जियतः प्रशस्त मात्रामा झोलिलो खानेकुरा, पानी तथा सागसब्जी र फलफूल खानुहोस् । नियमित दिसापिसाब गर्ने बानी बसाल्नुहोस् । हल्का शारीरिक व्यायाम गर्नुहोस् ।

खुट्टा सुन्निने तथा बाउँडिनेः धेरैबेर उभिएर नबस्नुहोस् । बस्दा खुट्टा माथि राखेर बस्नुहोस्, खुट्टा झुण्डियाएर नराख्नुहोस् । राति सुत्दा खुट्टामुनि सिरानी राखेर सुत्नुहोस् । नियमित दूध तथा दूधजन्य पदार्थ र फलफूलको सेवन गर्नुहोस् ।

छाती पोल्नेः पानी प्रशस्त पिउनुहोस् । अत्यधिक तेल र मसलेदार खाना एवं चिया कफीको प्रयोग नगर्नुहोस् । राति सुत्दा टाउको केही माथि राखी सुत्नुहोस् ।

पिसाब छिनछिनमा हुनेः गर्भावस्थामा गर्भले गर्दा पाठेघर गएको र हर्मोनहरूका कारणले पनि पिसाब चाँडो चाँडो हुन्छ । तर यस अवस्थामा पिसाबको सङ्क्रमण (यु.टी.आई.) हुने सम्भावना पनि बढी हुने भएकाले पानी प्रशस्त खानुपर्छ र पिसाबसम्बन्धी समस्या भएमा वा छिनछिनमा हुने तथा पोल्ने भएमा पिसाबको परीक्षण (युरिन आर.ई. तथा कल्चर) गर्नुपर्छ ।

गर्भावस्थामा के गर्न मिल्दैन ?

गर्भावस्थामा गर्नै नहुने काम केही छैन तर गर्भवतीहरूले आफूलाई गाहो, अप्ठ्यारो हुने गरी कुनै काम गर्नु हुँदैन । गाहो कामः धेरै भारी उचाल्ने, भारी बोक्ने तथा पेटमा असर पर्ने कामहरू गर्नु खतरा हुनसक्छ । यस अवस्थामा हल्का कामहरू गर्नुपर्छ तर थाक्ने वा गाह्रो हुञ्जेलसम्म काम गर्ने गर्नु हुँदैन । घरको, भान्साको काम गर्दा चिप्लिनबाट जोगिएर काम गर्नुपर्छ अनि धेरै धुँवामा काम गर्नु हुँदैन । साथै, गर्भवतीले धेरैबेर निहुरिएर काम गर्नेभन्दा पनि बसेर गर्नु राम्रो हुन्छ ।

यौन सम्पर्कः सामान्य अवस्थामा गर्भवती महिलाको खुसीमा सम्पर्क गर्न सकिन्छ तर उनलाई सजिलो हुनु आवश्यक हुन्छ । तर जटिल अवस्थाको गर्भमा भने यौनसम्पर्क गर्न मिल्दैन ।

यात्राः यस अवस्थामा लामो यात्रा गर्नु हुँदैन । विशेषगरी पहिलो तीन महिनामा लामो यात्रा गर्नाले गर्भ खेर जान सक्ने खतरा बढी हुन्छ भने अन्तिम तीन महिनामा व्यथा सुरू हुनसक्ने खतरा बढ्छ । त्यसैले सम्भव भएसम्म लामा यात्रा नगर्ने, गर्ने परे आराम गर्दै छोटो र दोस्रो तीन महिना अर्थात् १४ हप्तादेखि २६ हप्तातिर नै गर्नु ठिक हुन्छ ।

अफिसको कामः गर्भावस्थामा अफिस जानै हुँदैन भन्ने छैन तर सावधानी अपनाउनु पर्छ । लामो समय उभिएर वा निहुरिएर काम गर्ने, भ्रमणमा जाने तथा हतारमा काम गर्ने गर्नु हुँदैन । कुर्सीमा आराम गर्दै अनि बिचबिचमा खानेकुरा तथा पानी खाँदै हल्का खालका कामहरू गर्न सकिन्छ । गर्भको अन्तिम महिनातिर खुट्टा झुन्डियाएर नराख्ने गर्नुपर्छ ।

व्यायामः गर्भावस्थामा धेरै आराम गर्नुपर्छ तर केही व्यायाम पनि चाहिन्छ । यस अवस्थामा विशेष किसिमको व्यायाम गर्न नसके पनि आफूलाई सहज हुने किसिमका व्यायामहरू, हिँडडुल आदि गर्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार राम्रो गराउने, पाचन–क्रियामा मद्दत पु¥याउने र राम्रा निद्रा लाग्ने हुन्छ ।

( प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहको हालै प्रकासित पुस्तक गर्भको गर्वबाट । यो पुस्तक भर्खरै बजारमा आएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?