+
+

कृषिमन्त्रीले सुनाए प्रगति : पर्याप्त मल आयात, भारतमा गोलभेँडा निर्यात

‘दुःखका बेला किसानसँग साथमा हुन नसकेका मन्त्रीले गोलभेडा ल्याएको कुरालाई प्रगति भन्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते २१:३५

१७ भदौ, काठमाडौं । कृषिमन्त्री वेदुराम भुसालले आफ्नो मन्त्रालयको काम प्रभावकारी बनाउन समिति तथा उपसमितिहरु गठन गरिएको असाध्यै सानो र दैनन्दिन कामको प्रसंगसमेत नछुटाइ प्रगति विवरण सार्वजनिक गरे ।

मन्त्रालय छिरेको पाँच महिना आफैंमा प्रगति विवरण देखाउने सही समय होइन । भुसालले कुनै वार्षिक, अर्धवार्षिक नभई पाँच महिनाको समय नै किन छाने, प्रश्न आफैंमा रोचक भए पनि आइतबार सार्वजनिकरण कार्यक्रममा यसको जवाफ उनले दिएनन् ।

बरु मन्त्रालयको विवरण अनि मन्त्रीका बखानमा गाइएको आफ्नै गुणगानमा मूख्य समस्या र मुद्दाहरु भने बेवास्ता गरिएका थिए । जस्तो कि लम्पी स्किन महामारीलाई नै हेरौं ।

भारत, बंगलादेश, भियतनाम र चीनका पशुमा देखिएको लम्पी स्किन महामारीको दोस्रो खेप नेपालमा पोहोर फागुनमा देखियो । सुरुआती दिनमा केही सय पशु र केही जिल्लामा मात्रै संक्रमण देखिएको थियो । लम्पी भित्रिनु र कृषि मन्त्रालयमा नयाँ मन्त्री आउने समयमा दुई साताको अन्तर हुनु संयोग मात्रै थियो ।

तर, त्यसयताको साढे ५ महिनामा लम्पी महामारीका कारण किसान मर्माहत मात्रै भएनन्, ठूलो धनको क्षति भयो । पशु विकास शृंखला नै अवरुद्ध भयो । यस अवधिमा ५२ हजार ५४८ पशु मरे । १५ लाख १९ हजार पशु रोगको संक्रमणमा परे । तर, किसानले न बेलैमा खोप पाए, न त राहत र उपचार नै ।

कृषिका अन्य कयौं स्थायी मुद्दाहरु यथावत राखेरै हेर्ने हो भने पनि लम्पी महाारीमा सरकार भए नभएको पत्तो किसानले पाएनन् ।
पाँच महिनायताको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कृषि मन्त्री भुसालले आफुले धेरै नयाँ र कृषि सुधारको काम गरेको दाबी गरे । त्यसो त मन्त्रालयले मन्त्रीको १२ बुँदे तीन पृष्ठ लामो प्रगति विवरण पनि सार्वजनिक गर्‍यो ।

आफ्ना बखानले भरिएको प्रगति विवरणको अन्तिम निष्कर्षमा खण्डमा मन्त्री भुसालले लेखेका छन्, ‘कुनै पनि क्षेत्रको विकास रातारात हुने कुरा होइन ।’ कृषि क्षेत्रका जानकारहरु भन्छन् कृषि मन्त्रीको ५ महिने कार्यकालको सार यही नै हो, अर्थात उनले सिलसिलेवार गरेको कामको प्रगतिको दाबी मन्त्रालयका नियमित काम हुन बाँकी नयाँ केही छैन ।

सुझाव संकलनदेखि मलको ठेक्कासम्म

कृषिमन्त्री भुसालले आफ्नो ५ महिने कार्याकालमा गरेका कामलाई १२ वटा बुँदामा समेटेका छन् । आइतबार सार्वजनिक गरिएको उक्त प्रगति विवरणमा मन्त्री भएपछि लिइएको सुझाव देखि भारतमा गोलभेंडा निर्यातसम्मका विषय उल्लेख छ । मन्त्री भएलगत्तै आफूले मन्त्रालयबारे जानकारसंग सुझाव संकलन गरेको उनले बताएका छन् ।

प्रगतिको दोस्रो बुँदामा रासायनिक मलको उपलब्धतालाई मन्त्री भुसालले प्रगति भनेका छन् । हालसम्मै सबैभन्दा धेरै मल आयात आफ्नो कार्याकालमा भएको दाबी उनको छ ।

भारतको बन्दरगाहबाट मल आयातको प्रक्रिया छोटो बनाएको, यस वर्ष मल आयातका लागि दोब्बर बजेट छुट्ट्याएको दाबी मन्त्री भुसालको छ ।

मल खरिद नियमावलीमा संशोधन गर्न लागिएको देखि लगानी बोर्डले मल कारखाना खोल्न अध्यायन सुरु गरेको प्रसंगलाई पनि उनले प्रगति भनेका छन् । तर, गत वर्ष रासायनिक मलको अभाव नहोस भनेर अर्थ मन्त्रालयले पहिल्यै दोब्बर स्रोत सुनिश्चित गरिदिएको थियो ।

मन्त्रालय स्रोतकाअनुसार फाष्ट्र ट्र्याकमा मल आयात गर्न भन्दै अघिल्लो सरकारले नै मलको ठेक्का प्रक्रिया सुरु गरेको थियो । तर, मन्त्रीले यसलाई पनि प्रगतिको सूचीमा राखेका छन् ।

यस्तै बजेटमा कृषि रुपान्तरणको नयाँ नयाँ कार्यक्रम घोषणा गरको दावी पनि उनले गरेका छन् । मन्त्रालयको बजेट नघटाउन पहल देखि उत्पादन वृद्धि, सिँचाई सुविधा बिस्तार, स्वास्थ्य प्रयोगशाला निर्माण, उत्पादनमा नगद अनुदान, कृषि एम्बुलेन्स जस्ता कार्यक्रम आफ्नो प्रगति भएको भुसालले बताए ।

ऐन, मापदण्ड निर्माणदेखि गोलभेंडा निर्यातसम्म

यस्तै मन्त्रालयले आधा दर्जन बढी ऐन नियम र कृषि क्षेत्रका मापदण्डहरु बनाएको दाबी पनी उनको छ । खाद्य पदार्थमा विषादीको अधिकतम अवशेष मापदण्ड, कुखुराको दानाको मापदण्ड देखि कृषि विधेयक अघि बढाइएको विषयसम्म उनको प्रगतिमा समेटिएको छ ।

लम्पीको महामारीका लागि खोप आयातको व्यवस्था गरिएको उनले दावी गरेका छन् । किसानलाई राहत दिन मापदण्ड बनाएको प्रगतिमा उल्लेख गरेका छन् । तर, उनले पदभार सम्हाल्दा भर्खरै सुरु भएको रोगका कारण ५२ हजार पशु मरेको विवरण उनैको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै कृषिका कामहरु योजनाबद्ध ढंगले अघि बढाउन मन्त्रालयले अन्तर मन्त्रालय समन्वय र संघ तथा प्रदेशबीच समन्वयनको काम गरेको पनि भुसालको दाबी छ । अमेरिका, भारत, चीनसहितका राजदूतहरुसँग भेट गरी सहयोगको अपिल गरेको पनि भुसालको प्रगतिमा उल्लेख छ ।

यस्तै, नेपालस्थित दातृ निकायसँग पनि यसका लागि पहल गरेको उनले दाबी गरे । मन्त्री भुसालले आफ्नो कार्यकालमा भएका मन्त्रालय अन्तर्गतका विभिन्न फर्म तथा अनुसन्धान केन्द्रको भ्रमणलाई पनि प्रगति विवरण भनेका छन् ।

यस्तै, कृषिका ससाना परियोजनाको उद्घाटनलाई पनि मन्त्री भुसालले प्रगति मानेका छन् । यस्तै कृषि र उर्जा, जालस्रोत तथा सिंचाई मन्त्रालयसंग मिलेर चैते धान खेती बिस्तार गर्ने योजनालाई पनि उनले प्रगति भनेका छन् ।

धानको समर्थन मूल्य तोकेको, उखुको मूल्य तोकेको, चीनको निजी कम्पनीले हेलेज घाँस निर्यात गरेको काम पनि मन्त्री भुसालको प्रगति विवरणमा उल्लेख छ । यस्तै भारतमा नेपालबाट भएको गोलभेंडा निर्यातलाई पनि उनले प्रगति भनेका छन् ।

मन्त्रीको प्रगति दाबी कति यथार्थपरक ?

कृषि मन्त्रीले गरेको प्रगतिको दाबीमा मलको उपलब्धताबाहेक अन्य कुनै प्रगति मान्न नसकिने किसान प्रतिनिधीहरु बताउँछन् । दैनिक मन्त्रालयमा हुने कार्य सम्पादनलाई प्रगति भनेर प्रचार गरिनु दुःखद भएको उनीहरुको भनाइ छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगाल मलको आयात मात्रै मन्त्रीको उपलब्धीको रुपमा ब्याख्या गर्छन् । लम्पी महामारी रोक्न पहल नगर्नु, किसानले राहत नपाउनुर्लाइ उनले मन्त्रीको असफलताको रुपमा ब्याख्या गरेका छन् ।

भुसालकै कार्यालयका पशुसंग सम्बन्धित अस्पताल खोप उत्पादन गर्ने निकाय, क्वारेन्टाइनका कार्यालय बजेटविहीन बनाइनु पनि गलत भएको दंगालको भनाइ छ ।

‘किसानले मल त पाए, यसबाहेक, लम्पीबाट हजारौं पशु मरे, किसानले कुनै राहतको महसुस गर्न पाएनन्’, दंगाल भन्छन्, ‘बिमाको पैसा नपाएर किसान पीडित बने, महामारीको बेला कृषिका कयौं महत्वपूर्ण कार्यालयहरु खारेज गरिए । बजेटविहीन बनाइए ।’

विभिन्न ९ वटा किसान संघ संस्थाहरुको छाता संगठन राष्ट्रिय किसान सञ्जालले कृषि मन्त्री वेदुराम भुसालको प्रगति विवरण किसानबाहेक सबैको हितमा भएको टिप्पणी गरेको छ ।

मल आयात भए पनि किसान ब्ल्याकमा किन्न बाध्य भएको, लम्पी महामारीले किसान आक्रान्त हुँदा मन्त्री विदेश भ्रमण गरेको, खोप आयात र वितरणमा प्रभावकारी भूमिका नखेलेको सञ्जालका अध्यक्ष गणेश तिमल्सिना बताउँछन् ।

‘उनी हालसम्मकै असफल मन्त्री हुन् । महामारीमा किसानले सेवा त पाएनन् नै मन्त्रीबाट सहानुभूति समेत पाएनन्’, संयोजक तिमल्सिना भन्छन्, ‘दुःखका बेला किसानसँग साथमा हुन नसकेका मन्त्रीले गोलभेँडा ल्याएको कुरालाई प्रगति भन्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?