+

बच्चालाई अटिजम छ भन्ने गर्भावस्थामै थाहा हुन्छ ?

२०८० भदौ  १८ गते १३:१५ २०८० भदौ १८ गते १३:१५
बच्चालाई अटिजम छ भन्ने गर्भावस्थामै थाहा हुन्छ ?

सन्तान हुर्काउनु आमाबाबुको सबैभन्दा ठूलो जिम्मेवारी हो । अझै बच्चालाई कुनै खास विकार वा रोग लागेमा अभिभावकको जिम्मेवारी झन् धेरै बढ्छ । अटिजम स्पेक्ट्रम डिसअर्डरबाट ग्रस्त भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकका लागि यो चुनौतीपूर्ण नै हुन्छ । अटिजम एक मस्तिष्क रोग हो, जुन प्रायः बालबालिकामा हुन्छ, पत्ता लगाउन धेरै गाह्रो छ ।

बच्चा एक-दुई वर्षको नभएसम्म अटिजमका लक्षणहरू पत्ता लाग्दैन । यो रोग बच्चाको व्यवहार, उसले देखाउने असामान्य प्रतिक्रिया र ईशाराले मात्र पत्ता लगाउन सकिन्छ । यदि तपाईंको बच्चा अन्य बालबालिकाको तुलनामा मौन रहन्छ वा कुनै पनि कुरामा ढिलो प्रतिक्रिया दिन्छ भने यी लक्षण अटिजमका हुन सक्छन् ।

यो एक विकाससम्बन्धी विकार हो, जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक सम्बन्ध बनाउन कठिनाइ हुन्छ । अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ । एकै समयमा अटिजमबाट पीडित व्यक्तिहरू पनि एकअर्काभन्दा फरक हुन्छन् ।

कारण

डा. मञ्जु श्रेष्ठ

अटिजम यही कारण हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको त छैन । तर यो वंशाणुगत र वातावरणीय कारणले देखा पर्न सक्छ । जसले गर्भमा हुर्किने बच्चाको मस्तिष्कको विकासमा बाधा पुर्‍याउँछ ।

परिवारमा कसैलाई अटिजम छ भने त्यो परिवारको बच्चालाई अटिजम हुन सक्छ । जस्तो, पहिलो बच्चालाई अटिजम छ भने दोस्रो बच्चामा पनि अटिजम हुन सक्ने सम्भावना बढी हुन्छ । साथै डाउन सिन्ड्रोम भएका बालबालिकामा पनि अटिजम हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमालाई उच्च रक्तचाप, थाइराइडको समस्या छ भने बच्चालाई अटिजमको जोखिम हुन सक्छ ।

यदि आमाबुबाले ढिलो उमेरमा बच्चा जन्माउँछन् भने उनीहरूबाट जन्मिने बच्चामा अटिजमको जोखिम बढी हुन्छ । गर्भावस्थामा आमाले चुरोट, रक्सी खान्छिन् भने उनीबाट जन्मिने बच्चालाई पनि अटिजम हुने सम्भावना हुन्छ ।

समयभन्दा अघि नै बच्चा जन्मियो वा बच्चा जन्मिनेबित्तिकै आईसीयू वा भेन्टिलेटरमा लामो समय राख्नु पर्‍यो भने उनीहरूमा यो समस्या देखिन सक्छ । गर्भावस्थाको समयमा आमाले खाएका केही औषधिहरूको साइड इफेक्टको कारण पनि बच्चामा अटिजम हुन सक्छ ।

बच्चालाई अटिजम छ भन्ने कुरा गर्भमा पत्ता लाग्दैन

बच्चाले अरूसँग कुरा नगरेसम्म, अरूको कुरा सुनेर प्रतिक्रिया नजनाएसम्म बच्चामा अटिजम भए नभएको पत्ता लगाउन सकिंदैन । यस्तोमा बच्चा पेटमै हुँदा यो समस्या पत्ता लगाउन सकिंदैन । कुनै पनि जाँचबाट यसलाई पत्ता लगाउन सकिंदैन । जन्मिएपछि उसको बानी व्यवहार र लक्षणहरू याद गरेर मात्र यो पत्ता लाग्छ ।

बच्चालाई अटिजमको जोखिमबाट बचाउन के गर्ने ?

अटिजमबाट बच्न बच्चाको योजना बनाउनुअघि चिकित्सकसँग आवश्यक परीक्षण र पारिवारिक इतिहासबारे छलफल गर्नुपर्छ ।

ढिलो उमेरमा बच्चा जन्माउने योजना बनाउँदा भने आमालाई उच्च रक्तचाप, थाइराइडको जोखिम हुन्छ र बच्चालाई अटिजमको । त्यसैले सही उमेरमा बच्चा जन्माउने योजना बनाउनुपर्छ । साथै गर्भावस्थामा चुरोट रक्सी नखाने, पोषक तत्त्व भएका खानेकुरा खाने, तब मात्र बच्चाको दिमागको विकास राम्ररी हुन्छ र अटिजमको जोखिम कम हुन्छ ।

एक पटक अटिजमको रोग लागेमा त्यो जीवनभर रहिरहन्छ, तर सही उपचार दिइयो भने लक्षण नियन्त्रण गर्न सकिन्छ र धेरै हदसम्म यस्ता व्यक्तिले सामान्य जीवन बिताउन सक्छन् ।

(बाल तथा अटिजमरोग विशेषज्ञ डा. श्रेष्ठसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

अटिजम बालबालिका स्वास्थ्य
लेखक
डा. मञ्जु श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय