+
+

‘दार्जिलिङले हर्क र बालेनजस्ता नेता खोजिरहेको छ’

राजनीतिमा कि असाध्यै मुर्खको बेसी चर्चा हुन्छ, कि असाध्यै ज्ञानीको चर्चा हुन्छ । ओली र देउवाजस्तो त दार्जिलिङभरि छन् । किन चर्चा गर्नु ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते ८:०४

२० भदौ, काठमाडौं । गोर्खाल्यान्ड आन्दोलनको चर्चित नाम हो डा. हर्कबहादुर क्षेत्री । भारतको संसदका पूर्वविधायक उनी बोटानिकल साइन्सको प्राज्ञिक शोध हुँदै राजनीति तथा साहित्यमा होमिए ।

सिद्धान्त अध्ययन र स्थानीय जनताको दैनिक जीवनसँग जोडिँदै अघि बढेका कालिम्पोङ भारतका क्षेत्री काठमाडौं आएका बखत अनलाइनखबरकर्मी बसन्त बस्नेतसँग त्यहाँको स्थानीय राजनीति, संस्कृति र यसको दिल्ली अनि कोलकातासँगको सम्बन्ध अनि संघर्षलगायत विषयमा बोल्न तयार भए :

बीचमा गोर्खाल्यान्डको नारा धेरै सुनिन्थ्यो । अचेल खासै सुनिँदैन । के हुँदैछ कालिम्पोङ दार्जिलिङतिर ?

राजनीतिमा सत्यतथ्यको सहारा नलिँदा पनि हुँदोरहेछ । खासमा नेपालसँग हाम्रो आन्दोलनको सम्बन्ध नै थिएन । तर भारतका भरत बर्मा भन्ने रक्षा विशेषज्ञले गोर्खाल्यान्ड आन्दोलनलाई नेपाल र चीनले सघाइरहेका छन् भनेर आरोप लगाइदिए । यस्ता अरु पनि निस्केपछि मुद्दा कमजोर बनाउन सजिलो भयो उनीहरुलाई । भाषा, साहित्य, संस्कृतिले नेपाली र हामी एकै हौं । राजनीति हाम्रो अलग हो । नेपालमा के हुँदैछ भन्ने कुरा उता राजनीति गर्नेहरुले सोच्न फुर्सद पनि पाउँदैनन् । यताका नेताहरुलाई पनि उताको बारे सोच्ने फुर्सद नहोला । बरु हामीलाई नेपालको साहित्य लेखन के हुँदैछ, संगीत आदिमा के हुँदैछ भन्ने त चासो भइहाल्छ । तपार्इं हामीलाई सभ्यताले जोडेको छ, राजनीति त अलग हो नि ।

सुरुमा अलग व्यवस्था माग्नेहरुले १९०७ सन्देखि हिलमेन एशोसियसन बनाएर ब्रिटिश इन्डिया सरकारलाई माग राखेको थियो । हाम्रो बाँकी भारतीयसँग केही मिल्दैन, बरु हाम्रो मेल त हिमालको पल्लोपटी बस्नेसँग बढी मिल्छ भनेर लेखेछन् मेमोरेन्डममा । त्यो भनेको त चीन हुन्छ । भारतजस्तो ठूलो देशलाई सिमानामा कसको कोसँग भनेर चासो हुँदोरहेछ ।

स्वतन्त्रतापछि गृहमन्त्री वल्लभभाई पटेलले जवाहरलाल नेहरुलाई चिठी लेख्दै यसबारे संवेदनशील हुन भने । नेहरु कालिम्पोङ आएका बेला यसलाई डेन अफ् स्पाइज् भनेर फर्के । त्यसपछि सुवास घिसिङले पछि आएर नेपाली भाषा होइन, गोर्खा भाषा भनी मौलिकताको कुरा गरे । सिक्किममा फेरि चुच्चे र बुच्चेहरुको आन्दोलन चल्दै थियो । संवैधानिक माग राख्दा आफू पनि वैध नागरिक हो, जोसँग भोटर कार्ड र आधार कार्ड छ ।

खाँटी भारतीय भनेर जति बताए पनि कता–कता नेपालको गन्ध आउँछ कि भन्ने आत्मविश्वासको कमी पनि भयो । त्यसैले फाल्टु चीजहरुमा हाम्रो ध्यान गयो ।

अहिले गोर्खाल्यान्ड लामो थकानतर्फ हो ?

यताबाट तपाईंहरुले देखेजस्तै अवस्था छ । भाजपाले २००९ देखि यताका सबै चुनावमा दार्जिलिङलाई पर्मानेन्ट पोलिटिक सोल्युसन दिने घोषणापत्र लेखेको छ । तर उनीहरुले गोर्खाल्यान्ड लेख्न चाहेनन् । त्यो लेख्दा बाँकी ४१ सिट हारिन्छ भन्ठाने उनीहरुले । २००९ मा बंगालमै भाजपा भित्र्याउने दार्जिलिङ नै हो । बंगालमा सबै ठाउँ भाजपा हार्दा पनि दार्जिलिङले जिताएको हो । चुनावपछि राजनीति व्यापार भइगयो ।

ए, भाजपालाई रेडकार्पेट बिछ्याएको त दार्जिलिङले पो रहेछ ?

जसवन्त सिंह नामी नेता, लेखक । विदेशमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री बन्ने जसवन्तलाई ठूलो अन्तरले हामीले त्यहाँबाट जितायौं । भाजपा सत्तामा नआउँदा माग सम्बोधन गर्नुमा असर परेको होला भन्ने भयो । तैपनि उनी सांसद बनेर कुरा उठाउलान् भन्ने ठान्यौं । २०१४ मा मोदी आउँदा मान्छेलाई विश्वास भयो । पहिलाको प्रधानमन्त्री मनमोहन सिंह बोल्दै नबोल्ने । नरेन्द्र मोदी चाहिँ चुपै नलाग्ने । मोदी बोलेको बोल्यै गर्ने, तर केही नगर्ने । सिलिगुढी आएर भने, गोर्खाका सपना मेरा सपना । अनि हाम्राले सम्झे– यो आयो भने त हाम्रो माग पूरा हुने रहेछ । तर केही भएन ।

प्रधानमन्त्रीजस्तो मान्छे डुवर्स आएर २०१६ मा भाषण गरे, ११ वटा जनजातिको नाम लिएर जनजाति क्याटोगरीमा जान्छन् । तर त्यो पनि कुरै हरायो । ०१८ मा हामी दिल्लीको रजिस्ट्रार जनरलमा गएर मुद्दाको बारेमा कुरा गर्दा पो थाहा भयो, कागजपत्र कहीँ अघि बढेको नै रहेनछ । यस्तो धोका त कति भयो, भयो ।

तर जति धोका भए पनि मतदाताले भाजपालाई नै विश्वास गरिरहेका छन्, होइन ?

उताको नेतृत्वले समेत पत्याएकै जस्तो देखिन्छ । किनभने कुनै धर्ना, प्रदर्शन, चिठीपत्र केही छैन । सांसदलाई रिकल गर्ने, पहाडमा पस्न नदिने जस्ता दबाब दिन सक्थे । उल्टै फूलमाला, बाजागाजाले स्वागत गर्ने काम भयो ।

 

गोर्खाल्यान्ड आन्दोलनमा धेरैको नाम सुनियो । सुवास घिसिङदेखि छत्रे सुब्बासम्म, तपाईंदेखि विमल गुरुङसम्म । तर आन्दोलन किन दुःखमा अड्कियो ? किन पार पाएन ?

कि त सबै जनता सबै जनजाति क्यारेक्टरको अनपढ किसिमको हुनुपर्यो । कि त शिक्षित, सबै बुझ्ने खालको । हाम्रोमा चाहिँ बीचको जस्तो भएछ । शिक्षितलाई भन्दा अशिक्षितलाई बढी प्राथमिकता छ । पहिला त नेताले मुद्दा बुझ्दैन । अर्को पाराले बुझाउने अल्पशिक्षितसमेत भएपछि आन्दोलन बिग्रियो । गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनले कानुनबमोजिम अघि बढाएको कुरासमेत माथिबाट मिच्ने काम भयो ।

रणनीतिक रुपमा तपाईंहरु धेरै चुक्नुभयो ?

भाषाको विरोधमा चलेको आन्दोलन पछि गोर्खाल्याण्डको आन्दोलनमा परिणत भयो । धेरै जना बुद्धिजिवीले ९० दिन लगातार बन्द भयो भने राष्ट्रपतीय कानुन लाग्छ भनेछन् । काहीँ लेखेको छैन यस्तो कुरा । तर कहाँबाट हल्ला आयो । ९० दिन त के १०० दिन लागे पनि भएन । १०४ दिन लाग्दा खेरी जनता वाक्क भइसकेका थिए । त्यसपछि आन्दोलन रोक्नु पर्यो । ठूलो हार भयो ।

अहिले त बिहान पनि हर्क साम्पाङ, बेलुका पनि हर्कसाम्पाङ । पत्रिकामा लेख्ने युवा पिँढीले पनि हामीलाई हर्क साम्पाङजस्तो चाहियो भनेर लेखे ।

त्यो अवस्थाबाट तपाईंहरू गुज्रिनुभयो । नेपालमा पनि ठूलठूला आन्दोलन भएपछि अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ । हिन्दु राष्ट्र थियो, धर्मनिरपेक्षता आयो । एकात्मक शासन थियो, संघीयता आयो । नेतृत्व पनि नयाँ–नयाँ आयो । अहिले स्वतन्त्रले जित्ने अवस्था आएको छ । उता यसको कतिको हल्ला आउँछ ?

यो पहिले थिएन । वर्तमान प्रधानमन्त्री प्रचण्डको माओवादी आन्दोलन जारी हुँदा कताकता हामी सुन्थ्यौँ । किनभने, त्यो बेलामा मोबाइल थिएन, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल थिएन । अहिले त बिहान पनि हर्क साम्पाङ, बेलुका पनि हर्कसाम्पाङ । दिउँसो बालेन शाह । रवि लामिछाने नै रवि लामिछाने मात्रै । यसले राम्रै गर्दो रहेछ । हामीले पनि हेर्यौं । उता पत्रिकामा लेख्ने युवा पिँढीले पनि हामीलाई हर्क साम्पाङजस्तो चाहियो भनेर लेखे ।

हर्क साम्पाङ चाहियो भनेर पनि लेखे  ?

हर्क साम्पाङ मान्छे नै चाहियो भनेको होइन । उनी जस्तै नेता चाहियो भनेको । आफैं झ्याम्पल बोकेर पानीको मुहानतिर हिँडेको, ढुंगामा बसेर खाजा खाएको देखेर साधारण मान्छेको मन छोयो । त्यो दृष्टिकोणबाट हाम्रो नेता पनि यस्तै हुनुपर्छ । उसबाट तिमीहरुले सिक भनेको हो । कहाँ बलेरो र पजेरोमा हुँइहुँई जान्छौ, जबकी जनता त सडकमा छ । प्रजातन्त्रमा त नेता जनतासँगै बस्ने । अंग्रेजले भन्छन् नि ‘अन द रोड विथ द पिपुल’ । त्यो पो हो त नेता ।

यता त हर्क साम्पाङ र बालेन पछिल्ला दिनमा बहुतै विवादमा आएका छन् । बालेनले सिंहदरबारमा आगो लगाइदिने भनेका छन् । हर्क पनि अनेक विषयमा मुछिएका छन् । यस्ता कुरा चाहिँ उता पुग्छन् कि पुग्दैनन् ?

अहिले त म यहाँ छु । उता के प्रभाव हुँदैछ उता पुगेपछि थाहा हुन्छ ।

तर बालेनलाई पनि धेरै मान्छेले पत्याउन थालेपछि उसको लागि पनि नराम्रो कुरा हो । किनभने, त्यस्ताहरू अन्धभक्त हुँदै जान्छन् र उसले गरेको सबै कामको प्रशंसा गर्न थाल्छन् जसरी भारतमा भइरहेको छ ।

नोटबन्दी गलत थियो, तर सही भने । त्यसले हाम्रो अर्थतन्त्र बर्बाद गरिदियो । विदेशको कालो धन ल्याउँछौं भने । तर खै हामीले चाल नै पाएनौं । लाखौंलाई रोजगारी दिने मोदीको वाचा थियो । अहिले पढेलेखेका मान्छे त पकौडी बनाएर बेच भन्ने खालका कुरा आउन थाले ।

प्रचण्ड पसेको छ भन्ने गफ हुन्थ्यो । राजनीतिमा कि असाध्यै मुर्खको बेसी चर्चा हुन्छ, कि असाध्यै ज्ञानीको चर्चा हुन्छ । ओली र देउवाजस्तो त दार्जिलिङभरि छन् । किन चर्चा गर्नु ?

त्यो सबै किन भन्नु पर्यो ? किनभने, उसलाई थाहा छ कि मेरो अन्धभक्त छ भन्ने । यो दुई चार जना पढलेख गरेको, सोच्ने, चिन्तन गर्ने मान्छेको आलोचनाले मलाई केही फरक पर्दैन । अब यहाँ बालेन पनि त्यही खतराबाट गुज्रदै छन् ।

अनि यहाँका शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली जस्तो नेताको नाम उता कत्तिको सुनिन्छ ?

प्रचण्डको सुनिन्छ किनभने, आन्दोलन भयो । के कसो भयो त्यो त जान्दैनौं । तर आम्मा ! एउटा गोर्खालीले पनि त्यस्तो गर्न सकेको ? श्रीलंकाको प्रभाकरण जस्तै ! कसैले पनि ठूलो काम गर्छ भने एउटा गर्वको भावना त आउँछ ।

यहाँको राजनीतिक परिवेशबारे त थाहा छैन । तर प्रचण्ड पसेको छ भन्ने गफ हुन्थ्यो । देउवाहरूको केही कुरा भएन ।

राजनीतिमा कि असाध्यै मुर्खको बेसी चर्चा हुन्छ, कि असाध्यै ज्ञानीको चर्चा हुन्छ । ओली र देउवाजस्तो त दार्जिलिङभरि छन् । किन चर्चा गर्नु ?

सिक्किमतिरको राजनीतिलाई कसरी हेर्नुहुन्छ ?

झण्डै एक प्रकारले नेपाल र सिक्किम एउटै दूरीमा जस्तो पो छ त । थाहा नपाउने जस्तो । हामी त्यति वास्तै राख्दैनौं । कलकत्तामा भएको कुराले बरु प्रभाव पार्छ ।

अर्को वर्ष त चुनाव आउँदै छ । नरेन्द्र मोदी फेरि तेहेरिने खालको चर्चा हुँदैछ । त्यता कस्तो कुरा चल्दैछ ?

नरेन्द्र मोदीका लागि राम्रो चाहिँ अब हार्दाखेरि नै हुन्छ । तर भित्र मनबाट चाहिँ हेर्दा उनी हार्दैनन् जस्तो पनि लाग्छ । किनभने, प्रसस्तै समर्थक छ । मार्क्सले भनेजस्तो धर्म अफिम हो । यसको मात लागेपछि मान्छे अरू केही सुन्न चाहँदैन । र त्यस्तो बेल्ट छ । विशेष गरी हिन्दीभाषी क्षेत्रमा मोदीलाई छुन गाह्रो छ ।

बिहारमा नितिश कुमार भएकाले अलिकति आशा छ । उत्तर प्रदेशमा त्यति आशा छैन । मध्यप्रदेशले केही फरक पार्ला । दक्षिण भारतले त्यति रुचाउँदैन । बंगालमा सम्भावना छैन । किनभने, ममता नै आइकन हो, त्यहाँको ।

नेपालमा अहिले पनि कम्युनिस्ट पार्टीको नाममा बहुसंख्यकको भोट आउँछ । भारतमा चाहिँ कस्तो छ ?

मुस्किल छ । यस्तो पाराले यिनीहरू पतन हुँदै गए, चुनावबाट जितेर विधायक भएकाहरू पनि त्रिणमुलमा पसे । नपसेकालाई सामदाम दण्डभेद पनि प्रयोग भइहाल्छ ।

अहिले त भारतमा सरकार विरोधी अलिकति मात्रै बोल्यो भने सीबीआई आइहाल्छ । कुनै केसमा फसाइ हाल्छ । साधारण वक्तव्यले पनि जेल जानुपर्ने अवस्था छ । त्यसले त मान्छे डराइहाल्छ नि !

तपाईं अध्यक्ष भएको पार्टीको काम कारवाही कस्तो छ ?

मैले त्यत्ति केही काम गरेको छैन । किनभने, म त्यहाँको प्राथमिक शिक्षाको बोर्डको अध्यक्ष छु । त्यसले मेरो निकै समय लिन्छ । कालिङपोङ जिल्लाभरि झण्डै तीन सयभन्दा बढी प्राथमिक पाठशाला छन् । तिनीहरू सुविधा बुझ्नु, शिक्षकहरूको स्थानान्तरदेखि रोकिएको तलब, प्रमोसन यो जम्मै मेरोमा आउँछ । म त्यसैमा बढी व्यस्त हुन्छु । सक्रिय छैन । तर पार्टीका समर्थक पनि छन् ।

तपाईं त लेखक पनि । ‘तपाईं र हर्कबहादुर’ भन्ने किताब भर्खरै आएको छ । लेखनका लागि कसरी समय मिलाउनु हुन्छ ?

खास त म राजनीतिज्ञ पनि होइन, अरू केही पनि होइन । तर लेख्न मन पर्छ ।

सुरु गरेको चिज पनि त्यही हो । लेख्दालेख्दै भुटानी शरणार्थी आन्दोलनमा पसें । अधिकार संगठन बनाएर, कोर्डिनेटर बसेर उनीहरूसँगै १० दिन जेल पनि बसें सिलगुढीमा ।

सुवास घिसिङ आएपछि उनका क्रियाकलाप मन पर्न छाडे । अनि विरुद्धमा लेख्न थालियो । लेख्दालेख्दै एउटा चरण आउँदो रहेछ । समर्थकले आँट छ भने मैदानमा उत्र, लेखेर के हुन्छ ? त्यसपछि मैदानमा पनि उत्रिएँ । त्यो समयमा नगरपालिकाको चुनाव हारेँ ।

वास्तवमा राम्रो मान्छेले चुनाव कहिले पनि जित्दैन । जसले साम, दाम, दण्ड, भेद सबै मिलाउन सक्छ चुनाव उसैको हो । किनभने, विचारले जित्दैन । सुविधा जसले दिन सक्छ, उसैले जित्छ । विचारले जित्थ्यो भने त संसार कति राम्रो भइसक्थ्यो होला ।

त्यसैले राम्रो विचार भएका मान्छेहरू राजनीति फोहोरी खेल भन्छन्, कसैले लास्ट रिजोर्ट अफ स्क्राउड्रेल भन्छन् ।

त्यही समाजका निकृष्ट वर्गको हातमा छाडिदिन्छन् । त्यही कारण शिक्षित मान्छे राजनीतिमा आउनु जरुरी छ । बालेन पनि इन्जिनियर हुन् भन्ने सुनेको छु । तर अब शिक्षित पनि सतकै बसेन भने प्रशंसकले किङ क्यान्युट बनाइदिन्छ । उसलाई कहाँ किरा लाग्यो र कतिखेर ढल्छ भन्ने थाहा हुँदैन ।

पहिला कुरा त सुन्नु सबैको, अमल आफैँले गर्नु, काममा उत्रनु, कसैले नमागेको सल्लाह दिन्छ भने दलबाटै निकाल्नु । यो मैले भनेको होइन, मेकियाभेलीले प्रिन्स भन्ने पुस्तकमा लेखेको कुरा हो । यस्तो सल्लाह दिने सधैं स्वार्थी तत्व नै हुन्छ ।

र, त्यो दृष्टिकोणबाट हेर्दा, ‘अल्वेज लाइज द हेड’ भन्ने अंग्रेजी कविता छ । टुप्पोमा पुगेपछि बडा अनइजी हुन्छ । किनभने, सबैतिरबाट सतर्क बस्नुपर्ने हुन्छ । चारैतिर आँखा ऊतिर आइपुग्छ । त्यसैले ऊ सतर्क बस्नुपर्ने हुन्छ ।

तस्बिर र भिडियो – शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?