+
+

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

शान्ति सुरक्षाप्रति कांग्रेसको गम्भिर चासो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते २१:२०

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेका हुन् । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्री बताउँछन् ।

टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको तर अब्जरभेसनका लागि आईसीयूमा राखिएको ट्रमा सेन्टरले जनाएको छ । उनको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा आफैं अस्पताल पुगेका थिए । कांग्रेसका अरु नेताहरु पनि भेट्न पुगेका छन् ।

गृहमन्त्रीमाथि प्रश्न

पार्टीका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण भएपछि कांग्रेस नेताहरुले शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन् ।

सत्तारुढ दलको सहमहामन्त्री सहभागी कार्यक्रममा खुकुरी बोकेर पुग्दा पनि सुरक्षा संयन्त्रले थाहा नपाएको भन्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘यो घटनाले हाम्रो सुरक्षा संयन्त्र कति कमजोर रहेछ भन्ने त देखियो नि ।’

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने व्यक्ति वा समूहमाथि गम्भीर अनुसन्धान गरी कडा कारबाही गर्न माग गरिएको छ ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले त गृहमन्त्रीको राजीनामा नै मागेको छ ।

नागरिकको जिउ ज्यानको सुरक्षा गर्न गृहमन्त्री पूर्ण रुपमा असफल रहेको नेविसंघको निष्कर्ष छ । ‘यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकार र गृह मन्त्रालयले लिनुपर्ने स्पष्ट छ’, अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले यो घटनालाई आफ्ना नेताहरुमाथि श्रृंखलाबद्ध आक्रमणकै निरन्तरता भनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको पक्राउतर्फ संकेत गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियार सहित हिँडडुल गर्ने व्यक्ति चिन्न नसक्ने ? यस्ता कार्यको अब नेपाल तरुण दल चुप लागेर सहेर बस्न सक्दैन ।’

महिला संघले सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकोस् भनि माग गरेको छ ।

कांग्रेस नेताहरुका अनुसार भोलि बिहीबार बस्ने संसदको बैठकमा यो विषय उठाउने तयारी छ । सांसद रामहरि खतिवडा पनि विचार राखेकै आधारमा आक्रमण हुने अवस्था आएको बताउँछन् । ‘बोल्न पाउनुपर्ने अधिकारकै लागि कांग्रेस लड्दै आएको छ’ उनले भने, ‘यसरी आक्रमण भयो भने बोल्न डर हुने भयो नि !’

सपकोटाको खराब रेकर्ड

यादवमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका सापकोटा वैदेशिक रोजगारीका लागि दुबई गएर फर्किएका थिए । विदेश जाने बेला विचौलियालाई पैसा खुवाउनु परेको आफन्तहरु बताउँछन् ।

क्षतिपूर्ति वापत पाउनुपर्ने निश्चित रकम नपाएपछि उनले विचौलियाहरुको विरोध गरेका थिए ।

त्यही विषयलाई लिएर उनले वैदेशिक रोजगार विभागका कर्मचारीलाई कालोमोसो दलेको भेटिएको छ । कालोमोसो दलेको आरोपमा पक्राउ परेर उनी केही दिनमा छुटे । ‘उनको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) भोलि विस्तृत विवरण निकाल्छौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

पछिल्लो समय एमसीसी लगायतका परियोजना र भ्रष्टाचारको विरोध गर्दै हिड्ने उनले अरुलाई पनि आक्रमणको धम्की दिने गरेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, उनीविरुद्ध ज्यानमार्ने उद्योगको कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?