+
+

संसदीय समितिमा चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्तिको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १२:४४

२१ भदौ, काठमाडौं । नेपालको चुच्चे नक्सा अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक च्यानलबाट पठाएको नपाइएको भनेर परराष्ट्र मन्त्री एनपी साउदले दिएको अभिव्यक्तिप्रति सांसदहरुले चासो व्यक्त गरेका छन् । साथै उनीहरुले नेपालका लागि चिनियाँ राजदूतले सार्वजनिक कार्यक्रममा दिएको गैरमर्यादित अभिव्यक्तिको समेत विरोध जनाए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न न्युयोर्क र चीन भ्रमणको विषयमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरिरहेको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको नक्सा जारी भएपछि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपाल सरकारको दायित्व भएको बताए ।

जानकारी गराएको भए कुनै अधिकारी उपस्थित थिए कि थिएनन् र त्यसको रेकर्ड राखिएको छ कि छैन ? भनेर नेता नेपालले प्रश्न गरे । ‘मौखिक जानकारी मात्रै गरिएको हो भने पनि त्यसबारे पनि जानकारी माग गरियोस्,’ उनले भने ।

नक्सा जारी भएपछि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपाल सरकारको दायित्व हो भन्दै उनले भने, ‘यदि कमजोरी भएको भए भविष्यमा यस्तो नहोस् भनेर ध्यान दिन जरुरी छ । जब कमी देखिन्छ त्यहिबेला समीक्षा गर्नुपर्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा नेपालको चुच्चे नक्सा जारी भएको थियो । तर चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा र त्यसअघि भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे भाग समेटिएको छैन ।

यसबारे ओखलढुंगाका पत्रकारहरुले राखेको जिज्ञासामा परराष्ट्रमन्त्री साउदले विगतको सरकारले नेपालको चुच्चे नक्साबारे कूटनीतिक च्यानलबाट छिमेकीहरुलाई जानकारी नगराएको बताएपछि यसबारे बहस भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेण्डका विषयमा केन्द्रित संसदीय समितिको बैठकमा पनि परराष्ट्रमन्त्री साउदले आफ्नो विगतको अभिव्यक्ति दोहोर्याए । उनले भने, ‘म मन्त्री भैसकेपछि मैले सम्बन्धित शाखामा बुझ्दा कसैले पनि जानकारी पठाएको भेटिएको छैन । पठाएको तथ्य भए ल्याएमा म खुशी नै हुनेछु ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले नक्साको मुद्दा अत्यन्तै सम्वेदनशील रहेको बताए । नक्साको विषयमा संयुक्त राष्ट्रसंघमा जानकारी गराइएको गराइएन भनेर प्रश्न गर्दै उनले भने, ‘नगराएको भए कहिले गर्ने भनेर परराष्ट्र मन्त्रालयले कार्यसूची दिनुपर्छ ।’

उनले नेपालका लागि चीनका राजदूतले दिएको गैरकूटनीतिक अभिव्यक्तिलाई नजरअन्दाज गरियो भने त्यसले थप असहजता सिर्जना हुनसक्ने समेत बताए ।

बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नक्साको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराइएको भन्ने कुरा सामान्य नभएको भन्दै समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने बताए । ‘गल्ती गरेको पाइए दण्डित गर्नुपर्छ, यसै छोड्न मिल्दैन,’ उनले भने, ‘यसलाई नजरअन्दाज गरियो भने आउने दिनमा गम्भीर संकट ल्याउनसक्छ ।’

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा सीमा विवादको विषय उठाउनुपर्ने र नाका खोल्ने विषयमा पनि पहल गर्नुपर्ने उनले बताए । उनले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयमा उनले माफी मागे माफी दिनुपर्ने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्नेसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?