+
+
ब्लग :

विवाहित महिलाको पहिचान नाउँबाट हैन गाउँबाट !

वर्षौंदेखि कसैको छोरी, पत्नी वा आमाको रूपमा मात्रै परिभाषित हुँदै आएका महिलाले एक अलग र व्यक्तिगत परिचय पनि राख्छन्, जसलाई यस समाजले पहिचान र सम्मान गर्न जरुरी छ।

सुशान्त नेपाली सुशान्त नेपाली
२०८० भदौ २१ गते १३:५०
Photo Credit : Pixabay

मान्छेको खुशी उसको पहिचानसँग जोडिएको हुन्छ ।  तर हाम्रो नेपाली समाजमा भने महिलाको पहिचान पितृसत्ताको छायाँभित्र छोप्ने संस्कृति बलियो बन्दै आएको छ। अझै पनि अधिकांश महिलालाई उनीहरूको वास्तविक नामबाट सम्बोधन समेत गरिंदैन, फलानोको छोरी, फलानोको श्रीमती र फलानोको आमा भनेर बोलाइन्छ। के महिलालाई उनको गाउँको नामबाट बोलाउने चलनबारे तपाईंलाई थाहा छ ?

मानौं, तपाईंलाई कसैले तपाईंको वास्तविक नामबाट सम्बोधन नगरी तपाईंको गाउँ-ठाउँको नामबाट सम्बोधन गर्यो भने रुचाउनुहुन्छ त ? उदाहरणस्वरूप, कसैले तपाईंलाई दिनदिनै जनकपुरवाला र काठमाडौंवाला भनेर बोलायो भने तपाईंलाई मन पर्छ त ?

सायद मन पर्दैन होला, तर तराई-मधेशको कतिपय गाउँहरूमा अहिले पनि विवाहित महिलाहरूलाई उनीहरूको गाउँको नामबाटै सम्बोधन गरिन्छ ।

तराई-मधेशमा अवस्थित, भारतको सिमानासँगै टाँसिएको महोत्तरी जिल्लाको चौरिया गाउँ मेरो जन्मस्थल हो ।  हाम्रो छिमेकमा एक जना मेघपुरवाली भाउजु र एक जना बखरीवाली काकीको घर थियो ।

उहाँहरूलाई बोलाउँदा पनि सबैले सोही नामले बोलाउँथे ।  गाउँमै हुर्किन्जेल त मलाई उहाँहरूको नाम नै मेघपुरवाली र बखरीवाली होला भनी बुझेको थिएँ ।

सुशान्त नेपाली

झट्ट सुन्दा सामान्य नामहरू भन्दा भिन्न सुनिन्थ्यो। तर पनि सबैले सोही नामले बोलाउँथे। हाम्रो गाउँमा विवाहित महिलाहरूको पहिचान यस्तै नै थियो र अहिले पनि यस्तै छ। कोही बथानाहावाली छन् त कोही लोचनावाली र कोही मुसहरपट्टीवाली ।  यो चलन हाम्रो गाउँमा मात्रै नभएर तराई-मधेशको प्रायः सबै गाउँतिर छ ।

गाउँघरमा यो चलन ठ्याक्कै कहाँ र कसले सुरु गर्‍यो भन्न सकिंदैन तर यसको कारण भन्ने अवश्य बुझ्न सकिन्छ ।  हाम्रो सामाजिक संरचना अनुसार विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर छोडी श्रीमानको घरमा जाने चलन छ ।  केटाको विवाह कोसँग हुने भन्दा पनि कुन गाउँमा, कसको घरमा र कसको छोरीसँग हुन लागेको हो भन्ने धेरैको चासोको विषय हुन्छ ।

केटी फलानोको छोरी वा फलानो गाउँको हो भन्ने जानकारी पाएपछि उसको नाम सोध्ने र बुझ्ने जमर्को कसैले गर्दैनन् र उनीहरू जुन गाउँबाट विवाह गरेर आएका हुन्छन्, त्यही गाउँ नै उनीहरूको पहिचान बन्न जान्छ ।

हरेक व्यक्तिलाई आ-आफ्नो पहिचानको अधिकार रहेको छ र हाम्रो संविधान र कानुनले यो अधिकार सुनिश्चित पनि गरेको छ तर के हाम्रो समाजले यो अधिकारको सम्मान गर्न सकेको छ त ? आमाबुवाले निकै माया गरेर, कतिपयले त ज्योतिष बोलाएर नै बच्चाको नामकरण गरेका हुन्छन् ।

विद्यालय पढ्न जाँदा साथीहरूले एकअर्कालाई नामले नै बोलाउँछन् ।  महिला होस् या पुरुष, नाम त आखिर सबैको हुन्छ तर विवाहपश्चात्, महिलाले आफ्नो नाम नै गुमाउन पुग्छिन् ।

उदाहरण स्वरूप, रामपुर गाउँकी मनिषाले औरही गाउँको दिपेशसँग विवाह गरेपश्चात् मनिषा रामपुरवाली हुन जान्छिन् तर दिपेशको नाम औरहीवालामा परिवर्तित हुँदैन ।

यो हामी सब जनाले आफैंसँग सोध्नुपर्ने प्रश्न हो, किन हाम्रो समाजलाई महिलाकै स्वतन्त्र पहिचान र अस्तित्वसँग किन यति धेरै समस्या? विवाहपूर्व कसैको छोरी भनेर चिनिने महिला विवाहपश्चात् कसैकी श्रीमतीको रूपमा चिनिन जान्छिन् ।  यो त सामाजिक कुरा भयो, कतिले विवाह पश्चात् कानुनी रूपमा नै आफ्नो थर त्यागेर आफ्नो श्रीमानको थर अँगाल्न पुग्छन् ।

फेसबुकतिर पनि आफ्नो नाम-थर पछाडि आफ्नो श्रीमानको थर जोडेको हामीले देखिरहेका हुन्छौं ।  र, तराई-मधेशका धेरैजसो महिलाहरूको नागरिकतामा वास्तविक नाम नै रहे तापनि उनीहरूलाई सम्बोधन भने गाउँको नामबाटै गरिन्छ ।

सामाजिक परिवेशको बारेमा पढ्दै र बुझ्दै जादाँ थाहा हुन्छ कि हाम्रो सामाजिक संरचनाको जग नै पितृसत्तात्मक सोचले बसालेको छ । पितृसत्तात्मक मानसिकताले ग्रसित यो समाजले एउटा महिलाको व्यक्तिगत पहिचानलाई अस्वीकार गर्दै उनीहरूको पहिचानलाई फलानोको छोरी, फलानोको श्रीमती र फलानोको आमाको रूपमै सीमित गरिदिएको छ।

हुँदाहुँदै महिलाको स्वतन्त्र अस्तित्वलाई नकार्नको लागि उनीहरूको वास्तविक नाम (परिचय)लाई नजरअन्दाज गरेर गाउँको नामबाट सम्बोधन गर्न थालिएको बुझ्न सकिन्छ ।

कारण जेसुकै भए तापनि यस पछाडिको नियत चाहिं ठिक देखिंदैन ।  पुरुषलाई उसको नामबाट बोलाउन मिल्ने समाजमा महिलाहरूलाई किन गाउँको नामबाट बोलाइन्छ त? यो चलनको प्रभाव हाम्रो हजुरआमा र आमाको पुस्तामा मात्रै नभएर हाम्रो पुस्तामा पनि बाँकी छ ।

प्रसिद्ध अंग्रेजी साहित्यकार विलियम शेक्सपियरले भनेका थिए, ‘ह्वाट्स इन अ नेम ?’ अर्थात् ‘नाममा के छ ?’ हुन त नाम मात्रैले हाम्रो पूर्ण अस्तित्वलाई परिभाषित गर्दैन, तर यो निश्चित रूपमा हाम्रो पहिचानको एक महत्त्वपूर्ण पाटो हो।

यस पितृसत्तात्मक समाजको बोझबाट पिल्सिएका महिलाका लागि त झन् उनीहरूको नाममा स्वाभिमान, सम्मान र संघर्ष लुकेको हुन्छ। वर्षौंदेखि कसैको छोरी, पत्नी वा आमाको रूपमा मात्रै परिभाषित हुँदै आएका महिलाहरूले एक अलग र व्यक्तिगत परिचय पनि राख्छन्, जसलाई यस समाजले पहिचान र सम्मान गर्न जरुरी रहेको छ।

(लेखक अधिवक्ता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?