+
+

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते २१:०६

भदौ २१, काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।

आयोगको उपाध्यक्षका लागि सिफारिस समितिले झासहित, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

त्यसैमध्येबाट आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा. झाकै नाम सिफारिस गरेको थियो । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ ।

आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।

आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?