+
+

जापानले प्रक्षेपण गर्यो चन्द्रमा मिसन, यसकारण छ महत्वपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते ११:३७

काठमाडौं । शक्तिशाली मुलुकहरुबीच चन्द्रमामा पुग्ने होडबाजी चलिरहेको छ । भारतले हालै आफ्नो चन्द्रयान–३ मिसनलाई चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफल अवतरण गराउँदै इतिहास कायम गर्यो । तथापि रुसको लुना–२५ यान भने चन्द्रमामा दुर्घटनाग्रस्त भयो । उता अमेरिकाले पनि यही वर्ष दुईवटा चन्द्रमा मिसन पठाउने योजना बनाएको छ । यही दौडमा जापानले पनि आफ्नो अन्तरीक्षयान चन्द्रमामा प्रक्षेपण गरेको छ ।

बिहीबार अर्थात् सेप्टेम्बर ७ मा जापानले आफ्नो चन्द्र मिसन लञ्च गरेको हो । तांगेसिमा स्पेस सेन्टरस्थित योशिनोबू लञ्च कम्प्लेक्सबाट अन्तरीक्षयान प्रक्षेपण गरिएको हो । यदि जापानी यान चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सकेमा जापान चन्द्रमामा पुग्ने विश्वको पाँचौँ देश बन्नेछ ।

जापानी स्पेश सेन्टर  JAXA  ले आफ्नो H-IIA रकेट मार्फत् The Smart Lander for Investigating Moon (SLIM) नामक स्मार्ट ल्याण्डर यान प्रक्षेपण गरेको हो । साथै यसमा एक्सरे इमेजिंग एण्ड स्पेक्ट्रोस्कोपी मिसन (XRISM)  पनि पठाइएको छ । SLIM मिसनमार्फत् जापानले चन्द्रमामा अवतरणको आफ्नो क्षमता प्रदर्शन गर्न चाहन्छ, त्यो पनि अत्यधिक सटिकताका साथ ।

SLIM एउटा हलुका रोबोटिक ल्याण्डर हो, जसलाई पूर्वनिर्धारित स्थानमा अवतरण गराइनेछ । त्यसको स्थानमा कुनै परिवर्तन हुनेछैन, ताकि सटिक सफ्ट ल्याण्डिंग प्रदर्शन हुन सकोस् । यो मिसनलाई मून स्नाइपर पनि भनिएको छ । अर्थात् स्लिमको अवतरण उसको पूर्वनिर्धारित स्थानको १ सय मिटरको दायराभित्रै हुनेछ ।

यो जापानी चन्द्र मिसनको लागत करीब १३ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जापानले गत अगष्ट २६ वा २८ मा चन्द्रमामा यान प्रक्षेपण गर्ने योजना बनाएको भएपनि खराब मौसमका कारण सेप्टेम्बर ७ मा सरेको हो ।

सुस्त यात्रा : चन्द्रमामा पुग्न ६ महिना लाग्ने

जापानी अन्तरीक्ष एजेन्सीका अध्यक्ष हिरोशी यामाकावाका अनुसार यानलाई त्यसको इन्धन धेरैभन्दा धेरै बचाउने गरी प्रक्षेपण गरिएको छ । यो यान आगामी फेब्रुअरीमा मात्रै चन्द्रमाको सतहमा अवतरण गर्नेछ । जापानको स्लिम ल्याण्डर चन्द्रमाको नियर साइड अर्थात् पृथ्वीबाट देखिने चन्द्रमाको हिस्सामा अवतरण गर्नेछ ।

यान अवतरण हुने सम्भावित स्थानलाई मारे नेक्टारिस भनिन्छ । यसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ । त्यहाँ चन्द्रमाको सबैभन्दा अँध्यारो धब्बा छ । स्लिम ल्याण्डरमा अत्याधुनिक अप्टिकल तथा तस्वीर प्रोसेसिङ प्रविधि रहेको छ ।

अवतरण पछि स्लिमले चन्द्रमाको सतहमा रहेका चट्टानहरुको जाँच गर्नेछ, ताकि चन्द्रमाको उत्पत्तिको विषयमा जानकारी हासिल गर्न सकियोस् । योसँग कुनैपनि खालको रोभर पठाइएको छैन तर XRISM स्याटेलाइट भने पठाइएको छ जसले चन्द्रमाको चारैतर्फ परिक्रमा गर्नेछ ।

यसलाई जापान, नासा, तथा युरोपेली अन्तरीक्ष एजेन्सीले मिलेर बनाएका हुन् । यसले चन्द्रमाको वायुमण्डलमा बहने प्लाज्मा हावाको जाँच गर्नेछ । यसबाट ब्रम्हाण्डमा तारा तथा आकाशगंगाहरुको उत्पत्तिका विषयमा पत्ता लगाउने प्रयास हुनेछ ।

H-IIA  रकेटको ४७ औँ उडान

H-IIA रकेट जापानको सबैभन्दा विश्वसनीय रकेट हो । पछिल्लो उडान त्यस रकेटको ४७ औँ उडान हो । मित्सुबिसी हेभी इन्डस्ट्रिजले उक्त रकेट बनाएको हो । यसको प्रक्षेपणको सफलतादर ९८ प्रतिशत छ ।

जापानले यो चन्द्र मिसनको प्रक्षेपण केही महिनासम्म पछि सारेर मिडियम लिफ्ट एच थ्री रकेटको असफलताको जाँच गरेको थियो । यो मिसन पश्चात् जापानले आगामी वर्ष हाकुतो २ तथा सन् २०२५ मा हाकुतो ३ मिसन प्रक्षेपण गर्नेछ । त्यो पनि एक ल्याण्डर तथा अर्बिटर मिसन हुनेछ ।

पहिलो प्रयासमा असफलता

जापानले अघिल्लो वर्ष पनि चन्द्रमामा यान पठाएको थियो । तर जापानको उक्त प्रयास असफल भएको थियो । ओमोतेनाशी नामक उक्त मून ल्याण्डर गत नोभेम्बरमा अवतरण हुनुपर्नेमा सम्पर्कविहीन भएको थियो ।

त्यसपछि जापानले अप्रिल महिनामा हाकूतो आर मिसन ल्याण्डर चन्द्रमामा प्रक्षेपण गरेको थियो, जो चन्द्रमामा  दुर्घटना भएको थियो । त्यस्तै गत अक्टोबरमा प्रक्षेपण गरेको एप्सिलन रकेट पनि प्रक्षेपणकै समयमा विस्फोट भएको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?