+
+

प्रिमियर अगावै ‘द रेड सुटकेस’ले जित्यो भेनिसमा मेन्सन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १६:५४
अवार्ड ग्रहणपछि 'द रेड सुटकेस'का निर्देशक फिडेल देवकोटा (बायाँ)

काठमाडौं । शुक्रबार प्रिमियर हुन गइरहेको फिल्म ‘द रेड सुटकेस’ले प्रिमियर अगावै अवार्ड जितेको छ । यो फिल्मले ‘फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेज’मा अनरेबल मेन्सन अवार्ड पाएको हो ।

फिल्म समीक्षक, सांस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रुपमा प्रदान गर्ने यो अवार्ड ‘द रेड सुटकेस’लाई यसमा गरिएको मेहनतका लागि प्रदान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘फिल्मले यथार्थ र कल्पनाको बीचमा रहेर काव्यिक कथावाचन गरेको छ । छायांकनको उच्चतामार्फत फिल्मले नेपाली समाजको बसाइँसराइको दुर्दान्त कथा प्रस्तुत गर्छ । सांस्कृतिक पृष्ठभूमिमा रहेर फिल्मले विश्वजनीन कथा पनि प्रस्तुत गरेको छ,’ जुरीले उल्लेख गरेका छन् ।

निर्देशक फिडेल देवकोटाले अवार्डले जिम्मेवारी थपिएको बताए । उनले यसलाई फिल्मको सफलताको सूचकको रुपमा अर्थ्याए । ‘मुख्य प्रतिस्पर्धाको निर्णय आउन बाँकी नै छ । तर साइड इभेन्टमा पनि फिल्मले अवार्ड जित्नुको मतलब हामी कथावाचनमा धेरथोर सफल भएको संकेत हो । हामी खुसी छौं,’ फिडेलले संक्षिप्त प्रतिक्रिया दिंदै भने ।

चार वर्षदेखि बाँडिंदै आएको यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार भने रेयुसुके हामागुचीको फिल्म इभिल डजनट एक्जिस्टले जितेको थियो । हामागुचीले गत वर्ष ‘ड्राइभ माइ कार’मार्फत ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधातर्फको अवार्ड जितेका थिए । यस वर्ष पनि उनको फिल्म भेनिसको मुख्य प्रतिस्पर्धामा छ । फिडेलले हामागुचीसँग हार्दा खुसी नै लागेको बताए ।

निर्माता रामकृष्ण पोखरेलले प्रिमियरको पूर्वसन्ध्यामा अवार्ड पाउनुलाई शुभ संकेतको रुपमा अर्थ्याए । ‘कम्तीमा हामी खाली हात नेपाल फर्किनुपरेन । तर हामी थप आशावादी छौं,’ उनले भने । यो फिल्मको विश्व प्रिमियर नेपाली समयानुसार शुक्रबार बेलुका ६ बजे हुँदैछ ।

प्रिमियरका लागि निर्माताहरु रामकृष्ण पोखरेल, शोभा थापा, निर्देशक फिडेल देवकोटा, छायाकार सुसन प्रजापति र कलाकारहरु सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ भेनिसमा पुगेका छन् । शनिबार फिल्मको अवार्ड वितरण कार्यक्रम छ । प्रिमियर अगावै अवार्ड जित्नुले फिल्म खालीहात नफर्किने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?