+
+

इ-सिगरेट विद्यालयभित्रै किनबेच गरेको भेटियो

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० भदौ २३ गते ६:५१

२२ भदौ, काठमाडौ। युवाहरूमा भेपिङको क्रेज दिनानुदिन बढ्दै गएका दृष्टान्तहरु देखिन थालेका छन् ।

स्कुले बालबालिकाहरू समेतलाई यसको लतले छुन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनअनुसार युवाहरूमा बढ्दो इ-सिगरेट जनस्वास्थ्यका लागि संवेदनशील बन्दै गएको छ ।

छिमेकी मुलुक भारतमा भएको एउटा अध्ययन अनुसार १५ देखि ३० वर्ष उमेर समूहका करिब ६१ प्रतिशत युवाहरूले इ-सिगरेट प्रयोग गरेका छन् ।

युवा तथा बालबालिकाले ‘कुल’ देखिने बहानामा भेपको प्रयोग गर्ने गरेको पाइएको मनोविज्ञ तथा साइकोथेरापिस्ट डा. विजय ज्ञवाली बताउँछन् ।

दुई स्कुले बालबालिकाले भेप प्रयोग गरेको भेटेपछि आफूकहाँ स्कुलले परामर्शको लागि लिएर आएको उनी सुनाउँछन् । ज्ञवाली भन्छन्, ‘बालबालिकालाई यो दुर्व्यसन हो भन्ने नै थाहा छैन । त्यसैले भेप प्रयोग गर्दा आफू अरूभन्दा फरक हुन्छु भन्ने सोच्छन् ।’

भेप प्रयोग गर्ने प्रवृत्तिका केही पछिल्ला दृष्टान्त छन् । काठमाडौंको हात्तिगौंडा स्थित इम्पेरियल वर्ल्ड स्कुलमा कक्षा ७ मा पढ्ने एक छात्राको स्कुल ब्यागमा उनका अभिभावकले ‘भेप’ (विद्युतीय चुरोट) भेटे ।

उनको उमेर अहिले १३ वर्ष मात्र पुगेको छ । प्राय घरबाहिर हिँडडुल नगर्ने, धेरै साथीभाइसँग हेलमेल पनि नभएकी छोरीले कहाँबाट भेप पाइन् ? कहिलेदेखि भेपको लत लाग्यो ? अभिभावक आश्चर्यमा मात्र परेनन्, चिन्तित पनि भए ।

बाबुआमाले छोरीसँग सोधीखोजी गर्दा उनले विद्यालयभित्र नै भेप किनेको बताइन् ।

‘त्यसपछि हामी स्कुलमा गएर प्रमूखसँग कुरा गर्‍यौं’ ती छात्राकी आमा भन्छिन्, ‘तर, विद्यालयले यसमा आफ्नो कुनै दोष नभएको भन्दै हामीलाई सुरक्षाकर्मी लगाएर जबरजस्ती बाहिर निकाले ।’

विद्यालयको दीक्षान्त समारोहमा विद्यार्थीहरुले भेप किनेबेच भएको विद्यालय प्रशासनले स्विकारेको छ । ‘हाम्रो विद्यालयबाट पासआउट भएर गइसकेको एकजना विद्यार्थीले भेप ल्याएर बेचेका रहेछन्’ विद्यालयका संस्थापक कुमार कार्कीले अनलाइनखबरसँग भने, ‘यसमा हाम्रो कुनै गल्ती छैन । स्कुलबाट बाहिर गइसकेको विद्यार्थीले कहाँ के-के गर्छ भन्नेबारे हामीले जिम्मा लिएर भन्न कठिन हुन्छ ।’

स्कुलले विद्यार्थीको चालचलनका बारेमा पर्याप्त ध्यान दिने भए पनि स्कुल अवधिबाहेकको समय परिवारसँग बिताउने हुँदा अभिभावकले सचेत भएर आफ्ना बच्चाहरुमाथि निगरानी राख्नुपर्ने उनको सुझाव छ ।

अभिभावकको धारणा भने भिन्न छ । स्कुलमा पढ्न भनेर आफूले पठाएका छोराछोरी विद्यालयमा दुर्व्यसनमा लाग्छ भने त्यसको जिम्मेवारी विद्यालयले लिनुपर्ने पीडितको भनाई छ । पीडित विद्यार्थीकी आमा प्रश्न गर्छिन्, ‘विद्यालयभित्रै भेप किनबेच हुनु, बालबच्चाले खान सिक्नु भनेको विद्यालयकै कमजोरी होइन ?’

नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले विद्यार्थीहरु कुलतमा फस्दै गएको अवस्थामा स्कुलले अतिरिक्त पहल गरेर भए पनि कुलतमा सुधार ल्याउनुपर्ने बताउँछन् ।

स्कुलमा धूम्रपान तथा मदिराजन्य पदार्थ निषेधित गरिएको हुनाले विद्यार्थीहरु कुलतमा फसेका भए स्कुलले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

‘कुनै विद्यालयमा पास आउट विद्यार्थीले भेप ल्याएर बेच्छ र स्कुले विद्यार्थीले त्यो किनेर प्रयोग गर्छन् भने त्यसको जिम्मेवारी स्कुलले लिन्न भन्न पाउँदैन नि,’ ठकुरी भन्छन्, ‘कहीँ न कहीँ विद्यालयको पनि जिम्मेवारी हुन्छ । विद्यार्थीहरूको चालचलन र गतिविधि निरन्तर अनुगमन र निगरानी राख्नुपर्छ । विद्यार्थीहरू कुनै पनि प्रकारको कुलतमा नफसुन् र स्कुल भित्र कुनै पनि प्रकारको धूम्रपान तथा मदिराजन्य पदार्थ उपलब्ध नहोस् भन्ने विषयमा पनि प्रशासन सतर्क रहनैपर्छ ।’

विद्युतीय चुरोटको लतमा बच्चाहरू कसरी फस्छन् ?

अरुले पिउनु गरेका परम्परागत चुरोटभन्दा भिन्न देखिने भएकाले अहिले धेरै स्कुले बालबालिका ‘भेप’ दुर्व्यसन हो वा हैन भन्ने कुरा कुरामा अस्पष्ट छन् । विभिन्न पारिवारिक रेष्टुरेन्टहरुमा पनि भेप र हुक्का एकदमै सहज रूपमा उपलब्ध छ । त्यहाँ युवाहरूले भेपको सेवन गरेको बच्चाहरूले देख्छन् । त्यसैले उनीहरूलाई यो त खान हुने कुरा रहेछ यो दुर्व्यसन हैन रहेछ भन्ने लाग्ने पाइएको मनोविज्ञ तथा साइकोथेरापिस्ट डा. ज्ञवाली बताउँछन् ।
उनी भन्छन् ‘भेप सेवन गर्नु पनि दुर्व्यसन हो भन्ने कुरा बालबालिकालाई स्कुल परिवार र समाजले सिकाउन जरुरी छ । दुई स्कुले बालबालिकाले भेप सेवन गरेको मैले पनि भेटेको थिए । उनीहरूलाई भेपले स्वास्थ्यमा असर गर्छ, यो सेवन गर्नु हुँदैन भन्ने नै थाहा छैन ।’

मनोविदहरुका अनुसार कुनै पनि बच्चाले भेप प्रयोग गरेको छ भन्नुले बच्चाले अरूले आफूप्रति ध्यान खिचिरहेको अर्थ लाग्छ । बालबालिकालाई स्कुल तथा घरबाट आफूलाई बेवास्ता गरिएको जस्तो लाग्यो भने उनीहरूले यस्ता चिजको सेवन गर्न सक्ने ज्ञवाली बताउँछन् ।

‘मानौँ यदि कुनै बच्चा अरूभन्दा पढाइमा कमजोर छ भने उसलाई केही कुरामा फरक देखिने चाहना हुन्छ । त्यो चाहना पुरा गर्न उनीहरूले भेपको प्रयोग गर्न सक्छन् ।’ ज्ञवाली भन्छन् ‘स्कुलमा अरू बालबालिकाको अघि भेप खाएपछि त अरू बच्चाको अगाडि उ खतरा भयो । यसरी आफूप्रति ध्यान केन्ऽित गराउन उनीहरूको भेप प्रयोग गरेको पाइन्छ ।’

भेपलाई तनाव कम गर्ने माध्यमको रूपमा पनि बालबालिकाकाले लिइरहेका हुन्छन् । तनाव व्यवस्थापनको यो गलत माध्यम हो भन्ने ज्ञान बालबालिकालाई नभएको उनी बताउँछन् । ‘भेपको सेवनले स्मरण क्षमता वृद्धि हुन्छ भन्ने भ्रम पनि केही बालबालिकामा छ जसले गर्दा उनीहरू यसमा आकषिर्त भइरहेका छन् ।’

भेपको प्रयोग गर्ने बालबालिकाहरू अलि बढी रिसाउने, अरूसँग टाढा टाढा हुने जस्तो लक्षण देखाउने ज्ञवालीले बताए ।

भेपले स्वास्थ्यमा घातक असर

यूएस हेल्थ एन्ड हृयुमन साइन्सको रिपोर्टका अनुसार इ-सिगरेटले हाम्रो फोक्सोलाई धेरै प्रकारका केमिकलको सम्पर्कमा राख्छ । यसमा तरल तम्बाकु र ˆलेभर मिसाइन्छ । जसले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

निकोटिन, प्रोपाइलिन ग्लाइकोल र फ्लेभरले गर्दा लगातार इ-सिगरेट प्रयोग गर्दा खोकी लाग्ने र घाँटीमा खसखस हुने, घाँटी दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

यसको सेवनले ब्रोङ्काइटिस फोक्सोको वायुमार्गको सुजन अर्थात् सुन्निने हुन्छ । दमको समस्या भएकाले भेपको प्रयोग गर्दा समस्या झन् बढ्ने हुन्छ । यसको प्रयोग लामो समय गर्दा कालान्तरमा दम रोग निम्तने जोखिम समेत रहने वरिष्ठ छाती रोग विशेषज्ञ डा राजु पंगेनी बताउँछन् ।

उनी भन्छन् ‘इलेक्ट्रिक सिगरेट आफैँले पनि फोक्सोमा फाइब्रोसिस गराउँछ । फाइब्रोसिस भनेको फोक्सोको तन्तुहरूको आकार बढ्नु तथा दाग देख्नु हो । जसले फोक्सोलाई बिगार्छ र फोक्सोको क्यान्सर समेत हुन सक्छ ।’

नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टि्च्युटका अनुसार इलेक्टि्रक सिगरेटको अत्यधिक प्रयोगले शरीरको रक्त नलीलाई हानि पुर्‍याउँछ । यसले हृदय रोगको जोखिम बढाउँछ ।

यदि तपाईं धूम्रपान छोड्ने प्रयास गर्दा चुरोट र इ-सिगरेट दुवै प्रयोग गर्दै हुनुहुन्छ भने यो अझ ठुलो जोखिम कारक हुन सक्ने बताएको छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?