+
+

चितवनमा कांग्रेसका ३० प्रतिशत क्रियाशील सदस्यले गरेनन् नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते १९:४०

२३, भदौ, चितवन । चितवन नेपाली कांग्रेसको बढी क्रियाशील सदस्य भएको जिल्लामध्येमा पर्छ ।

नेताहरुका अनुसार विगतमा जिल्लामा २८ हजार ५०० क्रियाशील सदस्य थिए । तर यस पटकको जिल्ला सम्मेलनमा ३० प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण नगरेको जिल्ला सभापति राजेश्वर खनालले बताए ।

२०८० साउन ६ गते बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका ९८ वटै वडामा क्रियाशील सदस्यता नवीकरण अभियान चलाउँदै तहगत संरचनाको सम्मेलन गरेको थियो । यो क्रममा ३० प्रतिशत सदस्यले सदस्यता नवीकरण नगराएको उनले बताए । अधिवेशनका बेलामा अन्तिम समयमा नवीकरण गर्ने अभ्यास हुँदै आएको र सम्मेलन मध्य भागमा परेकाले अधिवेशनको बेलासम्म अधिकांशले नवीकरण गर्ने विश्वास पार्टीले लिएको बताउँछन् ।

चितवनमा कांग्रेसको नयाँ कार्यसमिति बनेको करिब १८ महिनापछि शनिबार जिल्ला सम्मेलन गरिएको छ । सम्मेलनमा बोल्ने क्रममा नेताहरुले माओवादीसँग गठबन्धन गरेर पार्टी कमजोर बन्दै गरेको बताए । निर्वाचनअघि गठबन्धनको पक्षमा खुलेका नेताले पनि जिल्ला सम्मेलनमा माओवादीसँगको गठबन्धन प्रत्युत्पादक भएको तथा आगामी दिनमा एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखे ।

गत स्थानीय तहको निर्वाचनमा जिल्लाको एक मात्रै महानगरपालिका भरतपुरमा कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई मेयरमा सहयोग गरेको थियो । माओवादीलाई महानगरमा सहयोग गरेको भन्दै कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल लगायतका नेताले पार्टी भित्र विद्रोह गरेर अलग्गै उम्मेदवारी दिएका थिए ।

जिल्लाका ७ पालिकामध्ये कांग्रेसले चार पालिका प्रमुखमा उम्मेदवारी दिएकोमा दुई पालिका प्रमुख मात्रै जितेको थियो । उसले माओवादीलाई २, समाजवादीलाई १ पालिका छाडेको थियो । यस्तै गत मंसिरमा भएको संसदीय निर्वाचनमा समेत चितवन निर्वाचन क्षेत्र नं. ३ मा माओवादीका उम्मेदवारलाई कांग्रेसले सघाउने निर्णय गरेपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनलाई एमालेले सहयोग गरेको थियो । स्थानीय तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार तथा उनीहरुका पक्षमा खुलेका नेता कार्यकर्तालाई कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको थियो । पार्टीले कारबाही गरेपछि कांग्रेस भित्र झनै विवाद बढेको थियो ।

स्थानीय र संघीय चुनावमा पार्टीको हित विपरीत काम गरेको भनेर कारबाही गरेका १८ जनाको कारबाही फुकुवा गरेपछि अहिले कांग्रेसमा मन मिलाउने प्रयास भइरहेको छ ।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल भित्र केन्द्रदेखि नै गुट उपगुट रहेको र कुनै न कुनै नेताको फेरो तलका नेता कार्यकर्ताले समाउने भएपछि समस्या आउने गरेको बताउँछन् । जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आएका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले गल्ती केन्द्रबाट आफूहरुले नै गरेकाले नेता कार्यकर्ताको भावनाको सम्मान गर्न नसक्दा समस्या आएको बताए ।

उनले कार्यकर्तालाई ढाडस दिंदै भने, ‘तपाईंहरुलाई कुनै समस्या भए अब मलाई सीधै भन्नुस्, तपाईंहरुको भावनाको प्रतिनिधित्व हुन्छ म गर्छु ।’

उनले विगतमा कांग्रेस चितवनको विरासत देखेर आफूलाई गर्व लाग्ने गरेको तर पछिल्लो समयमा देखिएका विवाद र तिक्तता अब अन्त्य हुनुपर्ने बताए । जिल्ला सभामा कांग्रेसका नेता कार्यकर्ताको उल्लेख्य सहभागिताले कांग्रेसका नेताहरु हौसिएका छन् ।

कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले जिल्ला सभाले कांग्रेस चितवन भित्र एक प्रकारको उत्साह भरेको प्रतिक्रिया दिए ।

कांग्रेस जिल्ला सम्मेलनले प्रविधिमैत्री सांगठनिक संरचना निर्माण गरी पार्टी नागरिकलाई एकैसाथ सूचना सञ्जालमा एकीकृत गर्ने, चितवन जिल्ला घर भई अन्यत्र बसोवास गर्ने पार्टी सदस्यहरुका लागि जिल्ला फर्क अभियान सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई वैदेशिक जनसम्पर्क समिति मार्फत एकीकृत गर्ने, पार्टीको केन्द्रीकृत गतिविधिलाई विकेन्द्रीकृत गर्दै रचनात्मक घुम्ती बैठक सञ्चालन गर्ने तथा पालिकाहरुमा दिवंगत नेताहरुको नाममा एक/एक वटा स्मृति बाटिकाहरु स्थापना गर्ने लगायत प्रस्ताव पेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?