+
+

जहाँ बीपीका नाममा ४ दशकदेखि कोठा खाली छ   

रासस रासस
२०८० भदौ २४ गते ९:२२

२४ भदौ, चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान् स्व. श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।

विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुईं तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन् ।

‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गर्थे । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।

घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौं, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।’

गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको हो ।

‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’

बीपी कतिपटक घरमा आए गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।’

बीपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउँछिन् । उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो । मैले सोध्ने गर्थें, ‘बीपीबाबु के खाने ? तपाईंले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’

बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न बीपी यही घरमा आउने गरेको गौरीदेवीले स्मरण गरिन् । साँझ बीपी भन्थे, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।’

बीपी आउँदा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने र चिटिक्क परेर हिंड्ने बीपीको बानी थियो । गौरीदेवीले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।’

तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरेकी थिइन् । उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरें, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।’

बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ । उनले भिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।’

साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भपिन्, ‘बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । बीपीजस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो ।’

गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ ।

गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बीपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ ।

गौरीदेवीका कान्छा छोरा सुवोधलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ । बीपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी सम्झिन्छन् ।

गाडी पछिपछि नेविसङ्घका विद्यार्थी हुने भए पनि उनलाई के हुन्छ भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्यो ।

बाह्र-तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै सुवोधले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाइ सुवासले कपाल खौरिनुभएको थियो ।’

आफ्नो घरमा बीपी आउँदा घरवरिपरि खाकी बर्दी लगाएर प्रहरीले घेरेको स्मरण उनलाई ताजै छ । सुवोधले भने, ‘म घरको कौशीमा लुकेर खाकी बर्दी लगाएका प्रहरी हेर्थें ।’

सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, ‘सबैले बीपीलाई देवताजस्तै गरी सम्मान गर्थें ।’

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?