+
+
ब्लग :

निजामती सेवालाई रोजेर केही गलत गरेको छैन

सोचें, आज निजामती दिवसको दिन पनि मेरो मनमा के के भावनाहरू तरङ्गित भएका होलान्? हैन म जे छु एकदमै ठीक छु। मैले निजामती सेवालाई रोजेर केही गलत गरेको पनि छैन। बाहिरी आवरणले पुस्तक पढ्न सकिंदैन।

उदयराम नापित उदयराम नापित
२०८० भदौ २६ गते १३:३७

यसलाई संयोग नै भनौं, २२ भदौ २०८०, निजामती कर्मचारीहरूका लागि हर्षोल्लासको दिन अर्थात् निजामती सेवा दिवसकै दिन। कार्यालयमा निजामती सेवा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी भई गेटसम्म पुगेको मात्र के थिएँ, पछाडिबाट एक परिचित जस्तो लाग्ने आवाजले मेरो नाम पुकारेको भान भयो मलाई।

पछाडि फर्केर हेरें, खैरो सुटमा चटक्क जीउडाल सहित कालो गगल्स अनि काला दाह्री समेत चटक्क मिलाएको मानौं सिनेमामा खेल्ने नायक झैं देखिने एक जना व्यक्ति मेरोसामु खडा भए।

मैले ठम्याउनै सकिनँ। आवाज सुन्दा परिचित लागे पनि अगाडि उभिएका व्यक्तिसँग म परिचित छु जस्तो लागेन। म अक्मकिंदै आफ्नो बाटो लाग्न खोजें ।

म अक्मकिएको देखेर उनी स्वयंले आफ्नो परिचय दिए। ‘म विक्रम, सँगै स्कुल पढेको होइन हामी?’ बल्ल मैले उसलाई चिनें।

सँगै स्कुल पढ्दा करिब एक घण्टाको बाटो सँगै हिंड्ने गर्दथ्यौं। स्कुल पढुन्जेल उसले कहिल्यै नयाँ कपडा र जुत्ता लगाएको हेक्का भएन मलाई। सोही स्थानमा केहीबेर कुराकानी पश्चात् मैले विक्रमलाई आफ्नो कार्यकक्षमा जानका लागि निम्ता गरें, उसले पनि स्वीकार गर्‍यो।

चिया मगाएँ, चियासँगै विगतदेखि वर्तमानसम्मका कुराकानी हुँदै थिए। उसले प्लस टुपछिको अध्ययन अगाडि बढाउन सकेको रहेनछ। सोही क्रममा मैले मौका छोपी आफ्नो मनको कौतूहल मेटाउने कोसिस गर्दै उसलाई सोधिहालें, ‘अनि तिम्ले त भयङ्कर प्रगति गरिसकेछौ जस्तो लाग्यो! के गर्दैछौ आजकल ?’

मैले प्रश्न नसकिंदै उसले मेरो कार्यकक्षको चारैतिर नियालेर हेर्‍यो। जति नियालेर हेरे पनि सरकारी कार्यालयमा के नै हुन्छ र! टेबल, कुर्ची, कम्प्युटर, प्रिन्टर बाहेक अरु? अनि फूर्तिका साथ भन्यो, ‘म प्लस टु सकेपछि कोरिया गएर ५ वर्ष बसेर नेपाल फर्केर आफ्नै बिजनेस सुरू गरें। ललितपुरको इमाडोलमा साढे तीन तलाको घर बनाएँ। एउटा गाडी (कार) पनि किनेको छु। यस्तै छ यार!’

उसको जवाफले मलाई केही अप्ठ्यारो ठाउँमा पुर्‍यायो। मनमनै सोचें, म स्कुलदेखि क्याम्पस पढ्दासम्म जेहेन्दार विद्यार्थीका रूपमा गनिएको मान्छे, उसले एसएलसी कम्पार्डमा पास गरेको।

हुन त शैक्षिक योग्यता वा हाम्रो परीक्षा प्रणालीले लिने परीक्षाको नतिजा नै सफलता र असफलताका लागि जिम्मेवार हुँदैन। तैपनि मान्छेको जात, मैले उसको सफलतासँग आफूलाई तुलना गरिहालेछु।

ऊ कार चढ्ने गरेको कुरा गरिरहेको छ, मलाई १०० सिसीको मोटरसाइकल पाल्न समेत गाह्रो भइरहेको छ। ऊ शानदार घरमा बस्दै आएको कुरा गरिरहेको छ, आफूलाई भने मासिक डेराको भाडा तिर्न समेत गाह्रो भएको छ। म टोलाएछु क्यारे!

फेरि उसले आफू मेरो कार्यालय आउनुको कारण बतायो। फेरि अर्को संयोगले उसको समस्या समाधान गर्ने अन्तिम बिन्दु म नै रहेछु। त्यो कुरा जानकारी पाउँदा ऊ साह्रै हर्षित भयो। मैले उसलाई सहज गरिदिएँ।

दशैं र तिहारको बीचमा ऊ विदेश जानुपर्ने रहेछ कामकै सिलसिलामा। मैले उसको काम गरिदिएँ। काम गरिदिएँ त के भनौं ऊ मेरा लागि सेवाग्राही नै थियो। फरक यति थियो कि मेरो पुरानो साथी सेवाग्राहीको भेषमा मेरोसामु थियो।

उसको ठाउँमा अन्य नागरिक भएको भए पनि मैले काम गर्नैपर्थ्यो। मेरो दायित्व थियो। उसलाई म भएर सहज भए जस्तो लाग्यो होला। ऊ धेरै खुसी भयो। जाँदाजाँदै भन्यो, ‘तिमी पहिलेदेखि नै हाकिम बन्न लायक थियौ यार! आफूले त पढ्न सकिनँ, यस्तै भो! गएँ यार फेरि भेटौंला मिलाएर।’

ऊ मेरो मनबाट केही शान्ति खोजेर हिंड्यो। लाग्यो- विक्रमले त धेरै प्रगति गरिसकेछ। बरु म पनि पहिले नै विदेश गएको भए वा पहिलेदेखि नै बिजनेस–व्यापार सुरु गरेको भए आज मसँग धन–सम्पत्ति र पैसा त हुन्थ्यो नि! घर–गाडी त हुन्थे नि! मलाई खुब राष्ट्रसेवक बन्नु परेको!

राष्ट्रसेवा गर्ने रहर मरेकै त कहाँ हो र ? के गर्नु तलबले खान–बस्न पुग्दैन, अरु त कुरै छाडौं।

फेरि मलाई उसले जाँदाजाँदै गर्दा बोलेको सम्झना आयो, ‘आफूले त पढ्न सकिनँ।’

फेरि मेरो मनमा अर्को कुराले डेरा जमायो, हैन सम्पत्ति कमाएर ऊ पनि त खुशी रहेनछ नि! फेरि नेपालमा २०७२ सालको जस्तो भूकम्प नजाला र कोरोना जस्तो महामारी फेरि नआउला भन्न सकिने अवस्था पनि त छैन।

विपत्तिको समयमा व्यापारीहरूले भोग्नुपरेको जस्तो मानसिक तनाव मैले त भोग्नु परेको छैन नि! राज्यले क्षमता अनुसार तलबभत्ता दिएकै छ। सामाजिक सुरक्षण गरिदिएकै छ थोरै भए पनि। उपचारका लागि अस्पतालको सुविधा दिएकै छ। योभन्दा बढी के चाहियो र मलाई? मरेर कसले पो के लगेको छ र?

सेवाकै क्रममा वीरगति प्राप्त गरेछु भने पनि मलाई त राज्यले सम्झिन्छ, सम्मान गर्छ। उसले के पाउँछ? कसले सम्मान गर्छ? हैन विक्रम र ममा धेरै फरक छ।

मेरो प्रत्येक पटकको एउटा हस्ताक्षरले महत्व राख्छ। नागरिकले सेवा पाउँछन्। योभन्दा आनन्दको कुरा अरु के छ र! भगवानसँग एउटै प्रार्थना! बस्, ममा मसीको दुरूपयोग गर्ने इच्छा र अवस्था सिर्जना नगरिदिनुस्। मेरो महत्व कम छैन।

सोचें, आज निजामती दिवसको दिन पनि मेरो मनमा के के भावनाहरू तरङ्गित भएका होलान्? हैन म जे छु एकदमै ठीक छु। मैले निजामती सेवालाई रोजेर केही गलत गरेको पनि छैन। बाहिरी आवरणले पुस्तक पढ्न सकिंदैन।

घाँटीमा झुण्डिएको आफ्नो परिचयपत्र एकपटक आफैंले हेरी मुसुक्क हाँसें र सोचें, ‘निजामती सेवा जस्तो संगठन छ र पो त मैले राष्ट्रसेवा गर्ने अवसर प्राप्त गरेको छु।’

लेखक नेपाल सरकारको शाखा अधिकृत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?