+
+

कालीगण्डकी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई पठायो फिर्ता

अध्यक्ष भन्छन् : संघको मनोमानी प्रवृत्तिविरुद्ध लडाइँ हो

विकास रोकामगर विकास रोकामगर
२०८० भदौ २६ गते १९:३१

२६ भदौ, पोखरा । पर्वतका राजीव रिमालले हालैमात्र निजामती सेवाको शाखा अधिकृत पास गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र थमाएको थियो ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयको सरुवा भएपछि खाली रहेको पदमा मन्त्रालयले रिमाललाई खटाएको थियो ।

मन्त्रालयले पत्र दिएको २१ औं दिन (सोमबार) कार्यालयमा हाजिर हुन स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन् ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आफूहरुको संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयसँग लडाइँ भइरहेकाले हाजिर गराउन नसक्ने जवाफ दिएको रिमालले अनलाइनखबरलाई बताए ।

‘यो व्यक्तिगत लडाइँ होइन, गाह्रो नमान्नुहोला, हाम्रो लडाइँ मन्त्रालयसँग चलिरहेको छ’, पालिका प्रमुख थापाको भनाइ उधृत गर्दै रिमालले अनलाइनखबरसँग भने, ‘सहजीकरण गरिदिनुहुन्छ भने गरिदिनुहोस्, होइन भने माफ गर्नुहोला तपाईंलाई हाजिर गराउन सक्दैनौं ।’

हाजिर गर्न नपाएपछि रिमाल सोमबार नै काठमाडौं फर्किएका छन् । ‘त्यहाँ कहाँ बस्ने ठेगानै भएन । त्यही भएर हिजै काठमाडौं फर्किएँ, अब मन्त्रालय (संघीय मामिला तथा सामान्य प्रशासन) पुगेर छलफल गर्छु’, उनले भने ।

पालिकाले रिमालले ल्याएको पत्रमा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिपत्र पठाउँदै गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ । पालिकाले प्रमुख प्रशासकीय अधिकृत पद रिक्त नभएकोसमेत दाबी गरेको छ ।

‘प्रमुख प्रशासकीय अधिकृत पद रिक्त नभएको अवस्थामा पालिकालाई जानकारी नगराई ३ तहको सरकारमध्ये सबैभन्दा जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारसँग सरसल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो आपत्ति रहेकाले’, पत्रमा भनिएको छ, ‘मन्त्रालयबाट खटाउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री राजीव रिमाललाई कार्यालयमा राखी कामकाज खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको व्यहोरा जानकारी गराइन्छ ।’

हाम्रो लडाइँ प्रवृत्तिको विरुद्ध हो : अध्यक्ष थापा

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले स्थानीय तहमा कर्मचारी पठाउने नाममा आफूखुसी गरिरहेकाले प्रवृत्तिविरुद्ध उत्रिनुपरेको बताएका छन् । रिक्त नभएको पदमा पनि रातारात रिक्त बनाएको उनको आरोप छ ।

भदौ ३ गते राति १२ बजे प्रमुख प्रशासकीय पद रिक्त बनाए पनि आफूहरुलाई पछिल्लो दिनमात्रै जानकारी गराइएको थापाको भनाइ छ । ‘रातिराति पद रिक्त बनाएर प्रमुख प्रशासकीय अधिकृत फेर्ने काम भएछ । त्यसको जानकारीसमेत हामीलाई छैन’, उनले भने, ‘हाम्रोे पालिकासँग भएपछि हामीलाई सामान्य जानकारी दिनुपर्छ कि पर्दैन ?’

थापाका अनुसार यसअघि त्यहाँ कार्यरत देवेन्द्र पाण्डेय गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । ‘उहाँ कहाँ जानुभो, त्यो पनि हामीलाई जानकारी छैन । कम्तीमा जाँदा र आउँदा हामीलाई थाहा हुनुपर्दैन ?’ अध्यक्ष थापाले भने, ‘को आउँछ, को जान्छ थाहै नहुने हो भने हाम्रो भूमिका के रह्यो ?’

थापाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा पनि २ वर्ष निरन्तर काम गर्ने गरी पठाउनुपर्ने माग आफूहरुले राख्दै आएको बताए । ‘पालिका महासंघबाट पनि यो माग राख्दै आएका छौं । यदि त्यो समयभन्दा अगाडि परिवर्तन गर्नुपरेमा आपसी समझदारी र सल्लाहमै गरौं भनेको हो’, उनले भने, ‘यो लडाइँ मेरो व्यक्तिगत होइन, सिङ्गो प्रवृत्तिविरुद्ध हो ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?