+
+

बानेश्वरमा आईएनआईको नयाँ हल, दीपकले भने- अबको भूमिका प्रदर्शकको रुपमा पनि

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १२:३१

काठमाडौं । आईएनआई सिनेमाजको तेस्रो फ्रेन्चाइजी हल शुक्रबारदेखि नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अभिनेता हरिवंश आचार्यले उक्त मल्टिप्लेक्सको उद्घाटन गरे ।

स्क्रिनप्ले फिल्म्सको स्वामित्व रहेको यो हलमा कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाको पनि लगानी छ । गिरी स्क्रिनप्ले फिल्म्सका अध्यक्ष समेत हुन् । उनकै फिल्म ‘छक्कापञ्जा ४’ प्रदर्शनसँगै यो हल औपचारिक रुपमा सञ्चालनमा आएको हो । दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कलाकारले मेहनत गरे सिनेमा हलको मालिक पनि बन्न सकिन्छ भन्ने सन्देश दीपक-दीपाले दिएको बताए । ‘मैले पनि जिरोबाट व्यवसाय थालेको हिसाबले दीपक–दीपाको सन्देश साँच्चिकै अनुकरणीय छ । हरेक कलाकारका लागि एकदमै ठूलो म्यासेज हो,’ उनले भने ।

कोरोना महामारीपछि आर्थिक गतिविधि सुस्ताएको बेला यो फिल्म हल सञ्चालनले गतिविधि बढ्ने विश्वास ढकालले व्यक्त गरे । ‘अहिले वास्तवमा मान्छेलाई पब्लिक कन्फ्युजन भएको स्थिति छ । आउने दिनमा उत्साहजनक गतिविधि बढ्छ भन्ने सन्देश यो हलले दिएको छ । यो लोकेसन आफैंमा धेरै नै सेन्टरमा छ । यसले व्यवसाय बढ्ने कुरामा विश्वास छ,’ उनले भने ।

अभिनेता आचार्यले यो नामको हललाई देशव्यापी विस्तार गर्नुपर्नेमा जोड दिए । कलाकारले हल सञ्चालन गर्न सक्छन् भन्ने कुरालाई लिएर आफूले गर्व महसुस गरेको उनले बताए ।

अभिनेता तथा स्क्रिनप्ले फिल्म्सका अध्यक्ष दीपकराज गिरीले आजदेखि आफ्नो भूमिका प्रदर्शकको रुपमा पनि बदलिएको बताए । ‘तर म आफूलाई निर्माताको रुपमा चिनाउन चाहन्छु । किनभने निर्माता र प्रदर्शक नङ-मासुजस्तै हुन्,’ दीपकले भने, ‘दुवैले एकअर्कालाई बचाउनुपर्छ । किनभने अर्बौं रुपैयाँका हिन्दी र अंग्रेजी फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेको नेपाली फिल्मलाई माया गर्नु जरुरी छ । किनभने म आफूलाई निर्माता भन्न रुचाउँछु ।’

आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले अत्याधुनिक प्रविधि र सुरक्षालाई ख्याल राखेर हल निर्माण गरिएको बताए । निकट भविष्यमा अन्यत्र पनि हल विस्तारको तयारी रहेको थापाले बताए ।

‘एनबी सेन्टर’ हलको सञ्चालक समिति सदस्यहरुमा दीपकराजसहित दीपाश्री निरौला, निर्मल शर्मा, सुरेन्द्र थापा, गृहेन्द्र मुनाकर्मी, भीमसेन कँडेल, विजय घिमिरे, सिर्जना बस्नेत, प्रभात रिमाल र सर्वजीत सिग्देल छन् । शुक्रबारदेखि नै यो हलमा एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?