+
+

कति खतरनाक हुन सक्छ बालबालिकासँग प्र्यांक गर्नु ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १३:३२
भारतको आन्ध्र प्रदेशमा गाडीमा बालबालिकालाई राखेर बनाएको अपहरणको प्र्यांक भिडियो, जसको अहिले निकै आलोचना भइरहेको छ ।

पछिल्लो समय दुईवटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । ती दुवै भिडियोमा बालबालिकालाई प्र्यांक गरिएको छ । जसको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहको छ ।

भारतको आन्ध्र प्रदेशमामा केही व्यक्तिले गाडीमा अपरिचित बालबालिकालाई लिफ्ट दिएपछि अपहरण भएको बताउँछन् । जसकारण बालबालिका त्रसित हुँदै चिच्याउने र रुने गर्छन् । बालबालिकालाई अपरिचित मानिसको गाडीमा कर गरे पनि चढ्न हुँदैन भनेर जागरुकता गराइएको भिडियो बनाउनेको प्रतिक्रिया थियो ।

लाइक र कमेन्टको लागि बालबालिकालाई उत्पीडन गरेको भन्दै उक्त भिडियो बनाएर पोस्ट गर्नेको चर्को आलोचना भइरहेको छ ।

त्यस्तै, अर्को प्र्यांक भिडियो पनि भाइरल भएको छ, जसमा अभिभावकले आफ्ना साना बच्चाको टाउकोमा अण्डा फुटाइरहेका छन् । विश्वभर ह्यासट्याग भएको हजारौं भिडियोहरू टिकटक र इन्स्टाग्राममा भेटिन्छ, जसलाई लाखौं मानिसले हेरेका छन् ।

यी भिडियोमा देखिएका अधिकांश बालबालिका पाँच–छ वर्षका बालबालिका थिए । टाउकोमा अण्डा फुटाउँदा केही बालबालिका स्तब्ध हुन्छन् । कोही चित्त दुखेको कुरा गर्छन्, कोही रुन थाल्छन् र कसैले आमाबुवालाई धकेल्छन्,  भिडियोमा यस्तै देखिन्छ ।

अधिकांश बच्चाहरूलाई त्यो ठट्टा हास्यास्पद लागेनन् । यद्यपि उनीहरूका आमाबाबुले भने भिडियो बनाउँदै पेट मिचिमिची हाँसेको देखिन्छ ।

बालबालिकाले यस्ता ठट्टा नबुझेकाले यो स्वभाविक भएको मनोविज्ञहरु बताउँछन् ।

के हो प्रयांक ?

मनोविद् राजेश पाण्डे भन्छन्, ‘प्र्यांक भनेको ठट्टा हो जसमा कसै सिकार बनाइन्छ । चुट्किला सुनाएजस्तै यसमा कथा सुनाउने र श्रोता दुवैलाई रमाइलो लाग्छ । समस्या के छ भने अन्जान ठट्टाको लागि प्रयोग हुने व्यक्तिलाई चोट लाग्न सक्छ, ऊ डराउन सक्छ वा उसलाई नराम्रो लाग्न सक्छ ।’

बालबालिकाको कोमल दिमागमा प्रभाव

प्र्यांकमा पीडित हुनेलाई के भइरहेको हो थाहा हुँदैन । मान्छे चकित हुँदा आउने हाँसो केटाकेटीलाई बुझ्न सजिलो छैन ।

साना बालबालिका विकासको सुरुवाती चरणमा हुन्छन् । उनीहरुको लागि हाँसो-ठट्टा तुरुन्त बुझ्न मुस्किल हुन्छ । तर बच्चाले पाँचदेखि छ वर्षको उमेरमा व्यंग्य बुझ्न थाल्छन् । कतिपय बालबालिकाले चार वर्षको उमेरदेखि चुटकिला बुझ्न थाल्छन् । यो सिक्ने प्रक्रिया किशोरावस्थासम्म जारी रहन्छ ।

कमेडीको नियम छ– ‘पञ्च अप नट किक डाउन’। अर्थात्,  व्यंग्य गर्न  प्रभावशाली व्यक्तिहरूलाई निशानामा राखिन्छ,  कमजोर मानिस होइन । जबकि कमजोर मन र बुद्धि हुने अवोध बच्चाहरु सधैं निशानामा हुन्छन् ।

बेलायतको बाल मनोचिकित्सक संघकी प्रवक्ता राहेल मेलभिल थोमस  भन्छिन्, ‘प्र्यांक तब सफल मान्न सकिन्छ, जब कसैले आफूमाथि मजाक गरेको हो, आफूलाई कुनै हानि नभएको बुझ्छ र ऊ पनि अरुसँगै हाँस्न थाल्छ ।

प्र्यांकले बालबालिकाको विश्वास तोड्न सक्छ

बच्चाले पहिले कुन चीजहरू असामान्य छन् भनेर बुझ्न थाल्छ । उदाहरण दिंदै थोमस भन्छिन्, ‘अण्डा फुटाउने जस्ता ठट्टामा पहिले बच्चा आशा दिइन्छ र त्यसपछि झटका दिइन्छ ।’

यस्तोमा खाना पकाउन मद्दत गरौं भनेर अचानक टाउकोमा अण्डा फुटाएर उनीहरुको विश्वास तोडिने उनी बताउँछिन् । ‘धेरै भिडियोमा कचौरामा फुटाउने अण्डा टाउकोमा फुटाइयो बच्चाहरूले बुझ्न सक्दैनन् । जसले उनीहरुको विश्वास टुट्छ,’ उनी भन्छिन् ।

यसमा सहमति जनाउँदै थोमस बालबालिकाले जहिले पनि बाबुआमालाई आदर्श र विश्वासिलो मान्ने तर यस्तो हर्कतले उनीहरुलाई दोधारमा पार्ने बताउँछिन् ।

किन आमाबुबाले बुझ्न सक्दैनन् ?

भिडियो बनाउँदा बालबालिकाको अनुमति बिना रेकर्ड गरी अनलाइन पोस्ट गरिंदैछ । यस्तोमा बालबालिकालाई शारीरिक हानि पुर्‍याउने प्र्यांकलाई कसरी मनोरञ्जनात्मक मान्न सकिन्छ ? यो प्रश्न पनि उठ्छ । विशेषगरी जब त्यस्ता भिडियोमा धेरै बालबालिकाको प्रतिक्रिया हेर्दै उनीहरूलाई चोट पुगेको देखाउँछ ।

‘यस्ता प्र्यांक भिडियोमा बालबालिकाको प्रतिक्रिया नकारात्मक देखिन्छ । तर आमाबाबु मुर्छा पर्दै हाँसेको देखिन्छ, जुन आश्चर्यलाग्दो हुन्छ, ‘डा. थोमस भन्छिन् ।

थोमसका अनुसार आमाले आफ्नो बच्चालाई चोट लाग्दा पीडादायी प्रतिक्रिया दिंदा बच्चाले पनि भावना देखाउन आवश्यक छ भनेर सिक्न मद्दत गर्छ । तर ठट्टामा हुने व्यवहार ठ्याक्कै उल्टो हुन्छ । यसले नजानिंदो ढंगले बच्चालाई कोही दु:ख पर्दा खुसी हुनुपर्छ भनेर सिकाउन सक्छ जुन गलत हो ।

अनुसन्धानकर्ताहरू भन्छन्, ‘पीडितको भावनात्मक प्रतिक्रियामा आधारित प्र्यांक भिडियो सामाजिक सञ्जालको नकारात्मक पक्ष हो ।’

ठट्टा गर्दा बच्चाको आवश्यकता भन्दा आफ्नै आवश्यकतामा बढी ध्यान दिनु भनेको गैरजिम्मेवार अभिभावक भएको देखाउने थोमस बताउँछिन् ।

सावधानी जरुरी

मनोवैज्ञानिक राजेश पाण्डे भन्छन्, ‘हाँस्ने र रमाइलो गर्ने अन्य धेरै रचनात्मक तरिका छन् । जब तपाईं मजाक गर्नुहुन्छ, रमाइलो लाग्छ । तर तपाईंले मापन गर्न सक्नुहुन्न कि त्यो मजाकले अर्को व्यक्तिमा कस्तो प्रभाव पार्छ ।’

चाहे केटाकेटी हुन् वा ठूला नै, रमाइलोको लागि मात्र कसैलाई डराउनु, स्तब्ध गराउनु वा हैरानी गर्नु गलत रहेको विज्ञहरु बताउँछन् ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?