+

असुरक्षित शारीरिक सम्बन्धले हुन सक्छ गोनोरिया 

२०८० भदौ  २९ गते १८:२१ २०८० भदौ २९ गते १८:२१
असुरक्षित शारीरिक सम्बन्धले हुन सक्छ गोनोरिया 

धेरैलाई भित्रभित्रै सताइरहने समस्या हो यौनजन्य रोग । हामीकहाँ यौनजन्य समस्या खुलेर भन्ने प्रवृत्ति छैन । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ भन्ने कुरामा अलमल हुन्छ ।

जब रोगले च्यापेर सहनै नसक्ने अवस्था हुन्छ, तब मात्र बिरामीहरु अस्पताल पुग्ने गर्छन् । यसरी अस्पताल पुग्नेमध्ये धेरैलाई देखिने यौनरोग हो गोनेरिया । विश्व स्वास्थ्य संगठनको तथ्यांकले भन्छ, ‘विश्वभर हरेक वर्ष १० करोडभन्दा बढी मान्छे गोनोरियाबाट पीडित हुन्छन् ।

के हो गोनोरिया ?

गोनोरिया एक खालको पिसाब नलीबाट पीप बग्ने ब्याक्टेरियल संक्रमण हो । ‘ब्याक्टेरियम गोनोरी’ भन्ने कीटाणुको संक्रमणबाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । यसले पुरुष र महिला दुवैलाई प्रभावित गर्न सक्छ । यो रोग समयमा उपचार पाए पूर्ण रुपमा निको हुन्छ ।

कसरी सर्छ ?

यो रोग मुख्यत: असुरक्षित यौन सम्पर्कबाट सर्छ । जस्तै, कण्डमको प्रयोग नगर्ने, धैरैसँग यौनसम्पर्क गर्ने र अप्राकृतिक तरिकाले मलद्वारमा यौनसम्पर्क गर्दा संक्रमण हुन सक्छ । त्यस्तै योनी, मुख वा मलद्वारमा गरिने मैथुनबाट पनि यो एक व्यक्तिबाट अर्कोमा सर्छ । जसकारण गोनोरियाले प्रजनन अंगका साथै मलद्वार, घाँटी र शरीरका विभिन्न भागमा असर पार्न सक्छ ।

डा. प्रज्ज्वल पुडासैनी

संक्रमित महिलासँगको असुरक्षित यौनसम्बन्धबाट गोनोरिया रोग पुरुषमा रोग सर्ने सम्भावना करिब २० प्रतिशत हुन्छ । तर संक्रमित पुरुषसँग महिलाले असुरक्षित यौनसम्पर्क गरेमा सर्ने सम्भावना एकदमै धेरै हुन्छ ।

गर्भवती महिला गोनोरिया संक्रमित भएमा बच्चामा पनि रोग सर्ने सम्भावना धेरै रहन्छ । जसले गर्दा जन्मिएको शिशुमा आँखा रातो हुने, पिप बग्ने समस्या हुन सक्छ । समयमा आँखाको उपचार नगरे बच्चाको आँखामा स्थायी रुपमा अन्धोपन हुन सक्छ ।

लक्षण

असुरक्षित यौनसम्पर्क गरेको आठदेखि १० दिनमा गोनोरियाका लक्षण देखा पर्न सक्छन्  । कतिपयमा भने यो रोगका लक्षण देखा पर्दैनन् । त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई ‘साइलेन्ट किलर’ पनि भनेको छ । पुरुषहरुमा १० प्रतिशत र महिलाहरुमा ८० प्रतिशत लक्षण नदेखिन सक्छ ।

सामान्यतया गोनोरिया हुँदा पिसाब फेर्दा पोल्ने, पिसाबनलीबाट पिप बग्ने, अण्डकोष दुख्ने, पोल्ने, मलद्वार चिलाउने, पोल्ने, घाउ हुने, दिसा गर्दा अप्ठ्यारो हुने, महिलामा पहेंलोपानी बग्ने, तल्लो पेट दुख्ने, मलद्वार वरपर घाउ हुने, मुख मैथुन गर्दा मुखमा घाउ आउने, खानेकुरा निल्न कठिन हुने हुन सक्छ ।

त्यस्तै, शरीरका जोर्नीहरुमा घाउ र पिपहरु बग्ने, खत बस्ने समस्या देखिन्छ ।

जटिलता

गोनोरियाको उपचार गरिएन भने यो शरीरका अन्य भागमा पनि फैलिन सक्छ । यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पाठेघरमा खत बसाउने, ढाड दुख्ने समस्या, पाठेघरको भित्तामा संक्रमण भइराख्ने र पछि बाँझोपन बढाउने र गर्भ रहेमा भूर्ण पाठेघरको नलीमा बस्ने र पुरुषको अण्डकोषमा असर गरी बाँझोपन निम्त्याउन सक्ने जोखिम हुन सक्छ ।

त्यस्तै, गोनोरियाले एचआईभी लाग्ने र फैलाउने जोखिम पनि बढाउन सक्छ ।

पहिचान तथा उपचार

माथि उल्लेखित लक्षण देखिएमा सामान्य पिसाब तथा स्वाब परीक्षण गर्नुपर्छ । गोनोरिया देखिए अन्य यौन प्रसारित रोग भिरिंगी, एड्स जस्ता रोगको पनि परीक्षण गर्नुपर्छ ।

यसको उपचार एन्टिबायोटिक औषधि र सुईबाट सम्भव छ । जुन चिकित्सकको परामर्शमा मात्र लिनुपर्छ । यसले ब्याक्टेरियालाई प्रभावकारी रूपमा मार्न सक्छ र संक्रमणलाई थप फैलिनबाट रोक्न सक्छ । यो औषधि वा सुईमध्ये एक लगाउँदा राहत महुसस हुन्छ । यौन रोगमा संक्रमितको पार्टनर पनि खोजेर उपचार गरिन्छ । पूर्ण रूपमा रोग निको नहुन्जेल यौनसम्बन्ध नराख्नु नै उत्तम हुन्छ ।

संक्रमणबाट कसरी बच्ने ?

गोनोरिया रोकथामबाट आफूलाई बचाउने सबैभन्दा राम्रो तरिका यौनसम्पर्क सुरक्षित ढंगले राख्नु नै हो । प्रत्येक पटक यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्ने र धेरै यौनसाथी नबनाउने जस्ता कुरामा ध्यान दिए यसबाट बच्न सकिन्छ । साथै, गोनोरिया भएको कसैसँग यौनसम्पर्क गरेको भए जतिसक्दो चाँडो परीक्षण गराउनु महत्त्वपूर्ण छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पुडासैनी सिभिल अस्पताल र बीएससीसी स्किन एण्ड हेयर क्लिनिकमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

गोनोरिया यौन स्वास्थ्य यौनरोग
लेखक
डा. प्रज्ज्वल पुडासैनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय