+
+
पुस्तकांश :

जेलमा आशा र आत्मविश्वासका पलहरू नै बढी थिए

कसैले मेरो डायरी हेरे भने सायद सोच्लान्, म सधैं नमेटिने कष्ट र निराशामा मात्रै थिएँ । तर मसँग उदासी र निराशाका भन्दा आशा र आत्मविश्वासका पलहरू नै बढी थिए जुन जेल जीवनमा पनि खुसी रहनुको अभिव्यक्ति हो ।

बीपी कोइराला बीपी कोइराला
२०८० भदौ ३० गते १२:५५

डिसेम्बर, १४ (मंसिर २९, २०२१)

सैनिक अड्डामा हाम्रो नजरबन्दीको चौथो वर्ष । चार वर्षअघि आजकै दिन एउटा नाटकीय ‘कु’मार्फत हामीलाई गिरफ्तार गरिएको थियो । त्यसै वेलादेखि हामीलाई थुनामा राखिएको छ । यो अड्डा निकै सानो खोर थियो र हामी ६ जना थियौं । यसले हामीमा ठूलो मनोवैज्ञानिक तनाव उत्पन्न गरेको थियो । यो एउटा सामान्य कारागार जस्तो पनि थिएन । बरू यो एउटा एकान्तवासका लागि तयार गरिएको खोर जस्तो थियो जहाँ सैन्य अनुशासनका कठोर नियमहरू थोपरिन्थे ।

हामी ती अधिकारीहरूप्रति आभारी छौं जसले सैन्य जीवनको यस्तो कठोर पद्धतिमा रहेर पनि आफूभित्र मानवीय गुणहरू बचाएर राखेका थिए । काम पर्दा मात्रै, त्यो पनि कडाइ मिजासका साथ मात्रै हामीसँग बोल्नू भन्ने निर्देशन थियो उनीहरूलाई । त्यसैले अड्डाभित्र रहँदा उनीहरू आफूभित्र त्यस्तो कडापन निरन्तर कायम राख्ने प्रयत्नमा हुन्थे ।

यहाँ हाम्रो पाँचौं वर्ष अत्यन्त कठोर हुने निश्चित थियो । किनकि हाम्रो समूह सानो भएको हुँदा हामी एकअर्काप्रति ज्यादै असहिष्णु भएका थियौं । अघिल्लो दिन मात्रै म र जीएमबीच नराम्रो भनाभन भएको थियो । सुरुमा त यो चिया कपभित्र उठेको आँधी जस्तो थियो ।

तर हामी तात्तिंदै गएपछि हामीभित्र निहित सुषुप्त वैरभाव सतहमा आयो । यो मनोवैज्ञानिक रोगसँग लड्न म निरन्तर प्रयासरत थिएँ, पढाइमा ध्यान लगाएर तथा लेखेर । तर चिसो यति विघ्न थियो कि घाम लागेको वेला बाहेक मेरो शरीर खुल्दैनथ्यो र काम गर्न सक्दिनथें ।

डिसेम्बर १५ (पौष १, २०२१)

साध्यले साधनलाई न्यायोचित सिद्ध गर्दछ । यो कार्य सम्पादनको जायज र नैतिक सिद्धान्त हो ।

प्रश्न १ः साध्य आफैंमा जायज र नैतिक हो ?

प्रश्न २ः साध्य प्राप्तिको लागि प्रयोग गरिएको साधनले वास्तवमा लक्षित उद्देश्य प्राप्ति सुनिश्चित गराउँछ ?

साध्यको सिद्धान्तप्रति सचेत गान्धी र अन्य केही यस्ता मानिसहरू आˆनो साधनलाई पनि न्यायोचित बनाउँछन् । उनीहरू साध्यलाई भन्दा साधनलाई बढी महत्व दिन्छन् । अथवा एकअर्कालाई समान मान्छन् र दुवैलाई बराबर महत्वपूर्ण भनेर परिभाषित गर्छन् । यस्ता पनि छन् जो एउटालाई अर्कोभन्दा बढी महत्व दिन्छन् र लक्षित उद्देश्य प्राप्त गर्न सक्दैनन् ।
यस्ता मानिस यस कुराका उदाहरण हुन् कि वास्तवमा उनीहरूले अपनाएका साधन साधन नै थिएनन् । कारण जुन उद्देश्य प्राप्तिका लागि तिनको प्रयोग गरिएको थियो, त्यसमा तिनीहरू विफल रहन्छन् । जुन साधनले लक्षित उद्देश्य प्राप्तिमा सहयोग गर्दैन, त्यस्ता साधनलाई तिनको लक्ष्यले सत्यापित गर्न सक्दैन ।

साध्यले साधनको सत्यापन गर्छ भन्ने सिद्धान्तको अर्थ यो होइन कि ती साधन जो वास्तवमा साधन नै होइनन्, यसले तिनको पनि अनुमोदन गर्दछ । कुनै साधनले आˆनै उद्देश्यलाई विफल तुल्याउँछ भने त्यो कुनै साधन नै होइन ।

डिसेम्बर १६ (पौष २, २०२१)

मेरो गिरफ्तारीविरुद्ध उजुरी गर्न सर्वोच्च अदालत जान पाऊँ भन्ने मेरो निवेदन बि्रगेडियर खाँडलाई पुनः सम्झाएँ ।

डिसेम्बर १७ (पौष ३, २०२१)

कला र साहित्यमा आधुनिकतावाद के हो ? मलाई यस प्रश्नले पिरोलेको लामो समय भइसक्यो । आधुनिकतावाद नाम अँगालेका अधिकांश कुराले मेरो चित्त बुझाउनै सकेका छैनन् । किन ? म आफैं असान्दर्भिक भएर हो अथवा आजका जवानहरूको मनस्थिति र भावना अनुरूप आफूलाई ढाल्न नसकेर हो ? अथवा आधुनिक भनिएका अधिकांश कला र साहित्य छद्म भएर हो । जो फगत हातहरूको खेल हुन् जसभित्र कुनै भाव वा अनुभव नै छैन जबकि एउटा कलाकृतिलाई सार्थक बनाउने नै भाव र अनुभव हुन् ?

म यो कुरा मान्छु, जीवन्त हुनलाई कलाले सामाजिक व्यवस्थालाई प्रतिबिम्बित गर्नुपर्छ । र, यसको भाषा तथा शैलीले खेल्नुपर्ने निरन्तर परिवर्तनशील भूमिकासँग सामञ्जस्य राख्नुपर्ने हुन्छ । भाव र संवेगहरू स्थायी पनि हुनसक्छन्, इतिहास र परिवर्तनको गर्तभन्दा माथि तर तिनको अभिव्यक्ति भाषा, पदावली, प्रतीक र शैलीचाहिं समसामयिकता र ऐतिहासिकता अनुरूप हुनुपर्दछ ।

प्रेम शाश्वत भए पनि लण्डनमा बसिरहेको एउटा मान्छेले यसबारे कालिदासले शिप्रा नदी किनारमा बसेर आफ्नै प्रेमिकालाई सम्बोधन गर्दै दिएको प्रेमको जस्तै अभिव्यक्ति दिंदा हास्यास्पद हुन जान्छ । त्यसैले मेरा लागि आधुनिकतावाद भनेको कलात्मक शैलीमा परिवर्तनको आन्दोलन हो । जुन मूलतः प्रविधिमा परिवर्तनको आन्दोलन हो । यो प्राविधिक प्रश्न हो ।

जहाँसम्म सिर्जनाको प्रश्न छ, अभिव्यक्तिको प्रविधिभन्दा पृथक् विषयवस्तुमा आधुनिकताले ज्ञानको क्षेत्रमा भएका नयाँ-नयाँ निष्कर्षहरूलाई समेट्नुपर्छ । वैज्ञानिक क्षेत्र, भौतिकी, रसायनशास्त्र, जीव विज्ञान, मानव मस्तिष्कका कार्यप्रक्रियाबारे नयाँ ज्ञान आदि सबै कुराले हाम्रो ज्ञानको क्षितिज फराकिलो पारेका छन् । तर ती तमाम ज्ञान एउटा साझा सांस्कृतिक अथवा भावनात्मक परम्परामा एकीकृत हुनै सकेका छैनन् ।

त्यो सिर्जना आधुनिक हो जसले ज्ञानका अभिव्यक्तिहरूको संज्ञान लिन्छ र तिनप्रतिको सचेततालाई दर्शाउँछ र अभिव्यक्त गर्दछ । उदाहरणका लागि कलाका विविध कृतिसँग आफूलाई एकाकार गरेकै कारण फ्राययडवाद आज हाम्रो सांस्कृतिक र सिर्जनात्मक परम्पराको पाटो बन्न पुगेको छ ।

कलाको उद्देश्य भनेको मानवीय संवेदनशीलतालाई विस्तारित गर्नु, संवेदनालाई बढाउनु तथा हाम्रा भावनात्मक योग्यतालाई बढाउनु हो । कलाको यो उद्देश्य शाश्वत छ । बौद्धिक संसारमा मान्छे आफ्नो ज्ञानको क्षितिजलाई विस्तारित गरेर तथा भावनात्मक क्षेत्रमा सहानुभूति र संवेदनशीलतामा वृद्धि गरेर अगाडि बढ्छ । कलाको परीक्षा भन्नु नै यसले यो कार्य गर्‍यो कि गरेन भन्नु हो । आधुनिक भनिएका अधिकांश कलाकृतिले यो कार्य गरेका छैनन् । शब्द र तिनका अर्थबीच विभाजित साहित्यले कुनै पनि प्रक्रियाको अनिवार्यता स्थापित गर्न सक्दैन ।

कवितामा जस्तो यसले अवचेतन भाव र संवेगलाई अभिव्यक्ति दिए पनि यसले यो काम शब्द मार्फत नै गर्नुपर्छ जसमा बौद्धिक अर्थ रहनुपर्छ । साहित्य एउटा समय-क्रमिक प्रक्रिया विना उभिन सक्दैन । यो रैखिक हुन्छ । यसमा सुरुवात र अन्त्य हुन्छ । यो एउटा सिलसिलेवार कला हो ।

आधुनिक साहित्यमा देखिएको सम्भ्रमको अर्को कारण के हो भने लेखकले चित्रकारले जस्तो लेख्न खोज्ने । झरीको बारेमा लेख्नुपर्दा शब्द यसरी राख्छन् मानौं ती झरिरहेका छन् र बर्सिरहेका छन् पानामा । आधुनिक कविहरूले यस्तै गरिरहेका छन् । चित्रकारिताको प्रविधिले आधुनिक लेखकमा पारेको प्रभावको टड्कारो उदाहरण भनेको शब्दलाई मुद्रण गर्दा दिइने मूर्तस्वरूप हो (मक्लुहानको विचारमा) । जबसम्म लेखिएका शब्दमा वैधता रहन्छ तबसम्म बौद्धिक अभिव्यक्तिका अन्य माध्यमको आवश्यकता पर्दैन । छापामा रहेका शब्दले पुस्तकका पानामा र पाठकको मस्तिष्कमा उही विचार प्रवाहित गरिरहन सक्छन् ।
चित्रकारितामा देखिएका नयाँ अभियानहरूको साहित्यिक प्रभाव घातक हुन पुगेको छ । कलाको एक स्वरूपको रूपमा चित्रकारिताले साहित्यको भन्दा सर्वथा नयाँ प्रविधिको प्रयोग गर्दछ । साहित्यले आफ्नो पृथकता बिर्सियो भने र कलाका अन्य क्षेत्रमा भएका प्रयोगहरूबाट प्रभावित हुन थाल्यो भने त्यसको दुर्गति हुन्छ । प्रतीकात्मक साहित्य होस् वा छायावादी, आधुनिक साहित्य चित्रकलामा देखिएका प्रभावबाट ज्यादै प्रभावित छ ।

चित्रकला दृश्य-कला हो र यसले एकपल्टको अवलोकनमा दर्शकमा उत्पन्न गर्ने स्वतस्फूर्त प्रतिक्रिया नै पूर्ण हो । यसको परख गर्न चेतन प्रक्रियाको आवश्यकता पर्दैन । यो कुनै प्रक्रिया होइन । कलाकृतिले अन्य कुनै विचार आˆनो गर्तमा लुकाएको हुँदैन । त्यसैले अतिरिक्त विचार भन्ने कुरा चित्रकलाका लागि बाहृय कुरा हो ।

डिसेम्बर १९ (पौष ५, २०२१)

सुख स्मरणमा रहँदैन । स्मरणमा रहिरहने भनेको जीवनका त्यस्ता अनुभवहरू हुन् जो दुःखद् छन्, नरमाइला छन् र विक्षिप्त पार्ने खालका छन् । पीडाको एउटा चरित्र र अनुहार हुन्छ जसले पीडालाई बिर्सनै नसकिने स्पष्टताका साथ हाम्रो सम्झनामा स्थापित गरिदिन्छ । अर्कातिर सुख भनेको गोलाकार छ र सजिलै उपलब्ध छ । पीडाको विशिष्ट चरित्रका कारणले नै विगत चार वर्षका मेरो जेल बसाइका कष्टसाध्य दिनहरू म सम्झिरहन्छु जुनवेला म विचलित अवस्थामा पुगिसकेको थिएँ । जब-जब म यस्तो दुःखद् मनस्थितिमा हुन्छु, आफू कति उदास छु भन्ने कुरा लेख्न मन पराउँछु ।

मेरो डायरी यस्तै विक्षिप्त विचारले भरिएको छ जसलाई सुखका दिनभन्दा पीडाका दिनको सम्झना बढी हुन्छ भन्ने कुराको ज्ञान हुँदैन । कसैले मेरो डायरी हेरे भने सायद सोच्लान्, म सधैं नमेटिने कष्ट र निराशामा मात्रै थिएँ । तर मसँग उदासी र निराशाका भन्दा आशा र आत्मविश्वासका पलहरू नै बढी थिए जुन जेल जीवनमा पनि खुसी रहनुको अभिव्यक्ति हो । तर मेरो मनस्थितिलाई अभिलिखित गर्ने प्रश्नमा आत्मविश्वासपूर्ण पलहरू अभिलिखित गर्न योग्य देखिएनन् । जबकि दुःख र निराशाका पलहरू नै बढी योग्य देखिए । मैले यहाँ लेखेका कविता पनि निराशाकै हुन् ।

‘म अदालत जान पाऊँ भनेर दिएको निवेदनमा के निर्णय भयो ?’ भनेर क्याप्टेन थापालाई सोधें ।

(शनिबार दिउँसो विमोचन हुने जेल डायरी १९६२-१९६८, बीपी कोइरालाको पुस्तकांश । शंकर तिवारीले सम्पादन गरेको पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?