+
+

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपाल तयार छ : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १९:१२

३१ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन तयार रहेको बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभा अन्तर्गत राष्ट्रसंघीय शान्ति निर्माण आयोग (पीबीसी)ले आयोगजना गरेको शान्ति निर्माणमा शिक्षाको भूमिका सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री साउदले सम्बोधन गरेका हुन् ।

मन्त्री साउदले सम्बोधनका क्रममा देशको शान्ति, प्रगति र समृद्धि सुनिश्चित गर्न नेपाल आफ्नो अद्वितीय, स्वदेशी र राष्ट्रिय नेतृत्वको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाल तयार रहेको बताए ।

नेपालमा द्वन्द्वपछिको पुनःप्राप्ति, विकास र शान्ति निर्माणमा शिक्षालाई रूपान्तरणको औजारका रूपमा कसरी मद्दत गर्छ भन्ने अनुभव सुनाउँदै पछिल्लो समय नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे जानकारी गराए ।

विशेष गरी सन् २००६ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि निर्माण भएको संविधानले लोकतन्त्र, मानवअधिकार, विधिको शासन, व्यक्तिगत स्वतन्त्रता, समावेशी र समानुपातिक प्रतिनिधित्व, महिला सशक्तिकरण, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वतन्त्रतालगायतका विश्वव्यापी मान्यता प्राप्त मूल्यहरूलाई सुदृढ गर्न मद्दत पुर्याएको बताए ।

उनले राष्ट्रिय विकास र सामाजिक एकताका लागि शिक्षालाई महत्वपूर्ण औजारका रूपमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । मन्त्री साउदले शिक्षा प्रणालीको संरक्षणका लागि नेपालले विद्यालय पुनर्निर्माण, शिक्षक तालिम, लैङ्गिक समानता प्रवर्द्धन, समुदायसँगको साझेदारी र मनोसामाजिक क्षेत्रमा लगानी गरी द्वन्द्वपछि शिक्षा प्रणालीको विकासका लागि गरेका विभिन्न पहलका बारेमा पनि पीबीसीमा विस्तृत जानकारी दिए ।

उनले यसका लागि विकास साझेदारहरू र संयुक्त राष्ट्र संघको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि उनीहरूसँग निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गरे ।

द्वन्द्व रोक्न, द्वन्द्वको शान्तिपूर्ण समाधान र दिगो शान्ति निर्माणमा शिक्षाको ठूलो भूमिका रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदले दिगो शान्ति निर्माण र दिगो विकास लक्ष्य हासिल गर्न सबैका लागि रूपान्तरण, गुणात्मक र समावेशी शिक्षा आवश्यक रहेकोमा जोड दिए ।

बैठकलाई सम्बोधन गर्दै यूएन उपमहासचिव अमिना मोहम्मदले संकटको बेलामा विस्तार गरिने नमुना ‘शान्ति क्षेत्रका रूपमा विद्यालय’ पहलका क्रममा नेपालको शिक्षा क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन् ।

राष्ट्रसंघीय शान्ति निर्माण आयोगको सदस्य राष्ट्रका प्रतिनिधिले नेपालले दिगो शान्ति निर्माणका लागि शिक्षा प्रणालीको संरक्षण र प्रवद्र्धनमा गरेको प्रयासको पनि उनले प्रशंसा गरिन् । नेपाल सन् २०२३ र २०२४ को लागि शान्ति निर्माण आयोग (पीबीसी) को सदस्य राष्ट्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?