+
+

राजेन्द्र राईलाई शेरधनको प्रस्ताव : कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं

हरि अधिकारी हरि अधिकारी
२०८० असोज १ गते २०:११

१ असोज, विराटनगर । कोशीमा नेकपा एमालेले एकीकृत समाजवादीसँग सहकार्यको प्रस्ताव गरेको छ । आइतबार एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राई र एकीकृत समाजवादीका सचिव राजेन्द्र राईबीच छलफल भएको थियो ।

त्यस क्रममा शेरधनले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएमा सरकारको नेतृत्वमा आलोपालो गर्न सकिने प्रस्ताव राजेन्द्र राईसमक्ष गरेका हुन् ।

राजेन्द्रका अनुसार शेरधनले दुईवटा प्रस्ताव गरेका थिए । पहिलो, एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा सरकार बनाउने र मुख्यमन्त्रीमा आलोपालो गर्ने । दोस्रो, अहिलेको सरकारलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित सर्वदलीय बनाउने ।

‘मिलेर सरकार बनाएर मध्यावधि रोक्नुपर्छ भन्ने उहाँको थियो । त्यसमा आलोपालो सरकार बनाउने’ राजेन्द्र राईले भने, ‘एउटा चाहिं राप्रपा र हामी मिसिएर बनाउने त्यसमा आलोपालोको कुरा, दोस्रो सबै दलको सरकार बनाउने । मध्यावधिमा फस्ने सम्भावना भयो, त्यसलाई जोगाउनुपर्छ भन्ने कुरा उहाँको कुरा थियो ।’

प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिको समेत समर्थन लिएर विश्वासको मत पाउनु असंवैधानिक भन्दै सर्वोच्च अदालतले कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापाको पद खारेज गरिदिएको थियो । सँगै प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार २२ भदौमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले एमालेले उनको पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेको छ । त्यसै सिलसिलामा शेरधनले प्रदेशसभामा ४ सिट रहेको एकीकृत समाजवादीसँग छलफल गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ४७ प्रदेशसभा सदस्यको समर्थन पाउनुपर्छ । एमालेको ४० प्रदेशसभा सदस्य छन् । ६ सिट भएको राप्रपा र ४ सिट भएको एकीकृत समाजवादीको समर्थन पाएमा कार्कीले विश्वासको मत पाउन सक्छन् ।

एमाले नेता शेरधनको प्रस्ताव आफूले अस्वीकार गरेको एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले बताए ।

‘उपधारा ३ अनुसार बनेको सरकारलाई चाहिं स्पष्ट रुपमा विश्वासको मत दिन सकिंदैन, किनभने यो जालसाजीबाट बनेको छ, उपधारा ५ मा गएपछि छलफल गर्न सकिन्छ भनेको छु’ उनले भने ।

राजेन्द्रले केन्द्रदेखि प्रदेशसम्म एउटै गठबन्धन रहेकाले कोशीमा मात्र आफूहरुले गठबन्धन बदल्न अप्ठेरो भएको पनि बताएका थिए । ‘राष्ट्रिय गठबन्धनको कुरा हो, त्यसो भएको हुनाले केन्द्रमा पनि पहल हुनुपर्यो, मैले मात्र भनेर हुने कुरा पनि होइन’ उनले भने ।

नेकपा एमाले नेता शेरधन राईले राजेन्द्र राईसँग समसामयिक विषयमा छलफल भएको छोटो प्रतिक्रिया दिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?