+
+
Shares

जब कोशीमा मध्यराति ३ सय ८ किलो गाँजा बगिरहेको भेटियो…

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८३ असार २५ गते १७:२१

२५ असार, सुनसरी । बिहीबार (गएराति) साढे १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएका संयुक्त प्रहरी टोली कोशी नदीको पूर्वी किनारामा गस्ती गरिरहेका थिए ।

टोलीले कोशी नदीको बाँध छेउ तिरको पानीमा केही वस्तु तैरी रहेको देख्यो । नजिकै पुगेर टर्च लाइट लगाएर हेर्दा कालो प्लाष्टिकको आठवटा पोकाहरू विस्तारै दक्षिणतिर बगिरहेका थिए । ती प्लाष्टिकमा बेरिएका काला पोकाहरू असरल्ल नभएर व्यवस्थित रुपमा ‘प्याकेजिङ’ गरिएका थिए । प्रहरीको गस्ती टोलीले केही उपाय लगाएर सवै पोका पानीबाट बाहिर निकाले ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक हेम राज ओलीले अनलाइनखबरसँग भने, ‘यो पनि एउटा अनौठो उपाय हो । पानीबाट ती शंस्कास्पद वस्तु खोलेर हेर्दा तयारी गाँजा रहेछ । सायद कुनै तस्करले प्रहरीको आँखा छल्न कोशीमा तैर्‍याउँदै ल्याएको होला ।’

गाँजाको परिमाण ३०८ किलोग्राम रहेको छ । गाँजा भेटिएको स्थान सुनसरीको कोशी गाउँपालिका–७ स्थित केराबारी र भाण्टाबारीको बीचमा पर्छ । कोशी नदिको पूर्वी तटमा पर्ने भारत र नेपालको दशगजा क्षेत्र, छोटी भन्सार यही आसपास पर्छ ।

तस्करहरूले यो उपाय रचेर कोशीमा गाँजा बगाउँदै लगेको तर फालेको नभएको प्रहरीको प्रराम्भिक भनाइ छ ।

धनकुटाको दक्षिणी भेगमा पर्ने शहीद भूमि गाउपालिका क्षेत्रमा उत्पादन हुने गांजा कतिपय तस्करहरूले कोशीमा बाँसको चेफासँगै बगाउँदै ल्याउने गरेका छन् । कतिपयले टायरको ट्युबभित्र राखेर पनि लाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सडकमार्ग भएर सवारी साधन, एम्बुलेन्स र मोटरसाइकलमा ल्याउँदा प्रत्येक नाकामा प्रहरीको चेकजाँचमा परिने डरले गाँजा तस्करहरूले यस्तो उपाय अपनाएका हुन् ।

‘सडकमार्ग भएर ल्याउदा पक्राउ परिने डरले तस्करहरूले कोशीको पूर्वी किनाराको पानीमा तैर्‍याउँदै लैजान खोजेको जस्तो देखिन्छ । केही समय ढिलो भएको भए दुइ चारसय मिटर परतिर सीमाना आइहाल्थ्यो,’ प्रहरी निरिक्षक ओलीले भने ।

बरामद गांजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

यस्तो कार्यमा संलग्नहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?