News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशन २७ जेठमा विराटनगरमा आयोजना हुने भएको छ ।
- प्रदेश सभापति पदका लागि कार्यवाहक सभापति सरिन तामाङ र कोषाध्यक्ष चन्द्र राईसहित आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् ।
- सर्वसम्मति नभए पहिलो चरणमा सभापति र प्रदेश सदस्य तथा दोस्रो चरणमा अन्य पदाधिकारी चयनका लागि मतदान हुनेछ ।
२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशीको पहिलो अधिवेशन भोलि (जेठ २७ गते) गर्ने भएको छ ।
विराटनगरस्थित जेसिज भवन विरोटचोकमा बुधबार हुने पहिलो अधिवेशनबाट मूल नेतृत्वको आकांक्षी हुनेहरुको संख्या आधा दर्जन बढी रहेको प्रदेश नेताहरुले जानकारी गराएका छन् । कोशीका एक नेताले दिएको जानकारी अनुसार सरिन तामाङ, चन्द्र राई, राजन दाहाल, चन्द्र गौली, वीरेन्द्र श्रेष्ठ लगायत सभापतिको आकांक्षी छन् ।
तामाङ हाल कोशीको कार्यवाहक सभापति हुन् । गत निर्वाचनमा उनी सुनसरी–१ बाट उम्मेदवार थिइन् । राई वर्तमान कार्यसमितिमा प्रदेश कोषाध्यक्ष छन् ।
दाहाल कोेशी– काठमाडौं विभागमा छन् । सभापतिको आकांक्षी गौली केन्द्रीय सहकारी विभागको उपप्रमुख छन् । ताप्लेजुङका पूर्व सभापति विरेन्द्र श्रेष्ठ प्रदेश सभापतिको प्रतिस्पधीको आकांक्षी छन् ।
काेशीका नेताहरुका अनुुसार आकांक्षी धेरै रहेको हुँदा सर्वसम्मत् नेतृत्व चयन गर्ने सम्भावना कम छ । प्रदेशका एक नेताले अनलाइनखबरसँग भने,‘बल्ल आकांक्षीहरु वीचमा भेटघाट हुँदैछ । कसले कसलाई समर्थन गरेर छोड्ने कुरा हुनै पाएको छैन । ८/९ जना सभापति हुन इच्छा राखेको हुँदा सर्वसम्मत् हुने सम्भावना कम छ ।’
ती नेताका अनुसार चुनाव भएको अवस्थामा प्रतिस्पर्धा कार्यवाहक सभापति सरिन तामाङ र कोषाध्यक्ष चन्द्र राई वीचमा हुनेछ ।
रास्वपाको विधान अनुसार प्रदेश अनुसार कार्यसमितिको आकार फरक–फरक हुने व्यवस्था गरिएको छ । बागमती प्रदेश समिति ६१ सदस्यीय हुने व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री १/१ जना हुने व्यवस्था छ ।
सहमहामन्त्री दुई जना हुने र फरक–फरक लिंगको हुनुपर्ने विधानमा प्रावधान छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ ।
निर्वाचन हुने अवस्थामा नयाँ कार्यसमितिका लागि दुई चरण गर्नुपर्ने विधि बनाइएको छ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चुनाव गर्ने व्यवस्था छ । प्रदेश सदस्यमा चयन भएकाहरूबाट थप पदाधिकारी छनोट गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4