+
+

जापानमा बुढ्यौली जनसंख्याको कीर्तिमान, सयमा १० जनाको उमेर ८० वर्षभन्दा बढी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १३:१५

‍जापानमा ८० वर्ष तथा सोभन्दा पाको उमेरको जनसंख्याले नयाँ कीर्तिमान कायम गरेको छ । जसअनुसार जापानको इतिहासमै पहिलोपटक ८० वर्ष वा सोभन्दा पाको उमेरका मानिसहरुको संख्या देशको कुल जनसंख्याको १० प्रतिशत पुगेको छ ।

पछिल्लो राष्ट्रिय तथ्यांक अनुसार देशको कुल १२ करोड ५० लाख जनसंख्यामध्ये २९.१ प्रतिशत मानिसको उमेर ६५ वर्ष वा सोभन्दा माथि रहेको छ ।

जापान विश्वमा सर्वाधिक कम जन्मदर भएका मुलुकमध्ये एक हो र लामो समयदेखि देशको बूढो बन्दै गएको जनसंख्याको व्यवस्थापनका लागि संघर्ष गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार जापान विश्वको सर्वाधिक वृद्ध जनसंख्या भएको देश हो । मुलुकको कुल जनसंख्यामा ६५ वर्ष वा सोभन्दा माथिल्लो उमेरको जनसंख्याको अनुपात धेरै भएको मुलुकको सूचीमा जापान पहिलो नम्बरमा छ ।

जापानमा ६५ वर्ष तथा सोभन्दा पाको उमेरको जनसंख्या २९.१ प्रतिशत रहेकोमा इटालीमा २४.५ प्रतिशत र फिनल्याण्डमा २३.६ प्रतिशत रहेको छ ।

जापानको राष्ट्रिय जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धान संस्थानका अनुसार सन् २०४० सम्ममा ६५ वर्ष तथा सोभन्दा बढी उमेरका मानिसको संख्या जापानको कुल जनसंख्याको ३४.८ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै जापान वृद्धावस्थाका मानिसहरुको रोजगारी दर सर्वाधिक रहेको विश्वको प्रमुख अर्थतन्त्रमध्ये एक हो । देशमा कार्यरत कुल जनशक्तिको १३ प्रतिशत ६५ वर्ष वा सोभन्दा पाको उमेरका छन् ।

तर यसले देशको सामाजिक सुरक्षाको खर्चको भार घटाउनमा निकै कममात्रै योगदान गरेको छ ।

जापानले आगामी आर्थिक वर्षका लागि कीर्तिमानी बजेट स्वीकृत गरेको छ र यसरी बजेटको आकार बढ्नुको एउटा कारण देशको चुलिंदो सामाजिक सुरक्षा खर्चसमेत हो ।

सरकारले देशका जन्मदर बढाउनका लागि गरेका प्रयासहरुमा पनि निकै न्यून मात्रै सफलता प्राप्त भएको छ ।

जन्मदरमा अपेक्षाकृत वृद्धि हुन नसक्नुमा खर्चिलो बन्दै गएको जीवन निर्वाहका साथै कामकाजी मानिसहरुको निकै लामो कार्य घण्टालाई प्रमुख कारक मानिएको छ ।

जापानमा गतवर्ष ८ लाखभन्दा कम बच्चा जन्मिएका थिए । यो जन्मदर १९औं शताब्दी यताकै सबैभन्दा कम हो । सन् १९७० को दशकमा त्यहाँ हरेक वर्ष २० लाखभन्दा धेरै बच्चा जन्मिने गरेका थिए ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले घट्दो जन्मदरका कारण आफ्नो देश एउटा समाजको रुपमा क्रियाशील हुन नसक्ने अवस्थामा पुग्ने जोखिम रहेको बताएका थिए ।

देशमा जनसंख्याको संकट आएता पनि अधिकारीहरु भने गिर्दो प्रजननदरको समाधानका लागि आप्रवासी कामदारलाई स्वीकार गर्न आनाकानी गरिरहेका छन् ।

जापान मात्र नभइ अन्य एसियाली मुलुकहरुले पनि पछिल्लो समयमा समान जनसांख्यिक चुनौतीको सामना गरिरहेका छन् ।

गत वर्ष चीनको जनसंख्या सन् १९६१ यता पहिलोपटक घटेको थियो भने दक्षिण कोरियामा जन्मदर विश्वमै सबैभन्दा कम विन्दुमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?