+
+

५ असोजमा हाँडीगाउँमा सवारीसाधन प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १८:३०

३ असोज, काठमाडौं । ५ असोजमा काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा सवारीसाधनलाई प्रवेश निषेध गरिने भएको छ ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत स्मारक क्षेत्रको वातावरणीय सुधार गर्ने लक्ष्य सहित ‘वर्ल्ड कार फ्री डे–२०२३’ कार्यक्रम आयोजना गरिने भएकोले सो दिनका लागि महानगरले सवारीसाधन निषेध गर्ने भएको हो ।

महानगरले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भमरकुँसम्म सडक खण्डमा सवारीसाधन प्रवेश निषेध गर्ने जनाएको छ ।

यसरी सवारीसाधन प्रवेश निषेध गरिएको ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सीप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपि लेखन सीप, मौलिक खाना, परम्परागत वाद्यवादन, गायन तथा नृत्य र खेलसहितको सडक महोत्सव हुने महानगरले जनाएको छ ।

यो सडक भएर गन्तव्य तय गर्ने सवारी चालकलाई धोबीखोला करिडोरलगायत वैकल्पिक सडकको प्रयोग गर्न मिल्ने ५ नम्बर वडाका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए ।

उनले वडा कार्यालयको प्राङ्‍गण तथा गहनापोखरी वरिपरिको खुला स्थानमा सवारी पार्किङ् गरेर महोत्सवमा सहभागी हुन सक्ने बताए ।

लिच्छविकालीन जग भेटिने हाँडीगाउँ

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छविकालका मन्दिरहरु भएको प्रमाण पाइन्छ ।

ईसापूर्व दोस्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् ।

हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने खालका अवस्थितिमा रुपान्तरणका कामको थालनी गुरुयोजनाको लक्ष्य रहको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?