+
+

सेयर धितो कर्जामा सीमा हट्ने भएपछि ४४ अंकले बढ्यो नेप्से, हाइड्रोपावरमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १५:३९

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले १२ करोडको सीमा हटाउने बताएका थिए ।

सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहे पनि सेयर बजारमा लगानी गर्ने उद्देश्यले आएका कम्पनीमा उक्त सीमा व्यावहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउने तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।

साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ । आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो ।  मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।

हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ । यस्तै वित्त कम्पनी उपसूचक ४.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत आइतबार नेप्सेमा उच्च गिरावट भए पनि २ अर्ब नाघेको कारोबार रकम सोमबार १ अर्ब पनि पुगेको थिएन भने मंगलबार मुश्किलले अर्ब नाघेको थियो । तर, बिहीबार भने ३ अर्ब माथिको कारोबार भएको छ । १ लाख १९ हजार ३५९ वटा कारोबारमा १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएर बिहीबार नै कारोबार सुरु भएको कम्पनीको सबैभन्दा धेरैको सेयर किनबेच हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको १३ करोड ९७ लाख र शिवम् सिमेन्टको १० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २१७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बिहीबार ४ कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको  सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यस्तै सेयरमूल्य धेरै बढ्ने १० कम्पनीमा स्वाभिमान लघुवित्त बाहेक सबै हाइड्रोपावर मात्रै छन् ।

सेयरमूल्य सबैभन्दा धेरै घट्नेमा भने अभियान लघुवित्तको सर्वाधिक ३.९८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको १.९५ प्रतिशत र इमर्जिङ नेपालको सेयरमूल्य १.७३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?