
४ असोज, काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एकात्मक राज्यप्रणाली अवधारणा अनुसार सरकार चलेको आभास भइरहेको बताएका छन् ।
प्रदेश संरचनालाई सरकारले वेवास्ता गरेको केन्द्रीय समितिमा गुनासो गरेका उनले यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने दाबी गरे ।
‘संविधानले चिनेको व्यवस्था अनुसार आज प्रदेश अघि बढ्न सकेन,’ बानियाँले भने, ‘यहि तरिका हो भने यो संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन ।’
प्रदेश सरकारसँग झण्डा र डण्डा भए पनि अधिकार विहीन भएको उनले उल्लेख गरे । प्रदेश भनेको संघीयता र पहिचान भए पनि अधिकारविहीन राखिएको उनले गुनासो गरे । ‘हतियारविहीन भएर लडाईँ लड्न जाने सिपाही जस्तो बनाइएको छ,’ बानियाँले भने ।
प्रदेश सरकारको दोस्रो कार्यकाल हुँदा समेत प्रहरी, निजामति, शिक्षा ऐन बनाउन केन्द्र सरकार बाधक रहेको उनले सुनाए । संघीयतालाई बलियो बनाउने हो भने संविधान संशोधनको आवश्यकता रहेको उनको टिप्पणी थियो ।
प्रतिक्रिया 4