+
+

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण : स्काभेटर, ट्याक्टरदेखि बन्दुकसम्म

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज ४ गते २०:४८

४ असोज, पोखरा । आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार बिहीबार साँझ सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार अधिकांशको पुर्ख्यौली घरजग्गा नै र ऋण देखाएका छन् भने स्काभेटर, ट्याक्टरदेखि बन्दुक र भैंसीसम्म आफ्नो नाममा सम्पति रहेको मन्त्रीहरुले खुलाएका छन् ।

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो । गत वैशाख १४ गते नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २९ वैशाखमा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

मुख्यमन्त्रीको ठाउँ ठाउँमा पैतृक सम्पत्ति

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग गोरखा, काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पैतृक जग्गा रहेको खुलाएका छन् । पाण्डेको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ भने काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा २ सय १२ वर्गमिटरमा घरजग्गा छ । दुबै उनले पैतृक सम्पत्ति देखाएका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भए अनुसार पाण्डेसँग ४२ तोला सुन, ५ सय तोला चाँदी छ भने जग्गा बिक्री गरेर २ सेट हिरा किनेको देखाएका छन् । तलब सुविधाबाट १ सेट मोती किनेको पनि पाण्डेले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २४ लाख ९६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ तलब तथा उपदानमार्फत जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा १ लाख ५६ हजार बैंक मौज्दात देखाएका छन् ।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको देखाएका छन् । मुख्यमन्त्री पाण्डेको श्रीमतीको नाममा नगद तथा बैंकबाट ऋणसमेत गरी ६२ लाख रुपैयाँमा कार खरिद गरेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पाण्डेसँग टिभी २, फ्रिज २, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् । मुख्यमन्त्री पाण्डेले व्यवसायबाट बैंकमा नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन व्यवसाय भन्ने खुलाएका छन् ।

मन्त्री सिम्खडासँग पुर्ख्यौली घरजग्गा र १० लाखको सेयर

गण्डकी मन्त्रिपरिषदकी दोस्रो वरियताकी मन्त्री सुशीला सिंखडा सामाजिक विकास मन्त्री छन् । गोरखाकी सिम्खडाले दाइ विष्णु सिम्खडाको नाममा पुख्र्याैली जग्गा रहेको खुलाएकी छन् । नवलपुरको गैंडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३ सय ९५ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेकी छन् ।

१९ लाखमा खरिद गरेको ६ सय ४ वर्ग मिटर, ललितपुर गोदावरी–३ मा जग्गा किनेको र श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुर्ख्यौली घरसम्पत्ति रहेको बताएकी छन् ।

व्यापार व्यवसायबाट विभिन्न बैंकमा १ लाख ७० हजार मौज्दात रहेको सिंखडाले खुलाएकी छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ । उनले १० लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको खुलाएकी छन् । सुनचाँदी आफूसँग नरहेको उल्लेख गरेकी सिम्खडाले २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् ।

सरस्वती अर्याल तिवारीको ९५ लाख ऋण

ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुख्र्यौली घरजग्गा देखाएकी छन् । वालिङ–८ मा परिवारका सदस्यहरुको नाममा २७ वटा कित्तामा जग्गा रहेको अर्यालले बताएकी छन् ।
अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको अर्यालले खुलाएकी छन् ।

अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ । अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकी छन् तर प्रयोजन खुलाएकी छैनन् । २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत आयोजनामा सेयर रहेको अर्यालले बताएकी छन् ।

कृषिमन्त्रीसँग ट्याक्टर

नवलपुरका कांग्रेस नेता तथा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नवलपुरमा१ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको बताएका छन् । नवलपुर सुस्तापूर्व बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गरेका छन् ।

कृषिमन्त्री जिसीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उनले पैतृक नै भएको बताएका छन् । जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पत्ति विवरण बुझाएका छन् । स्वआर्जनबाट जिसीले एउटा ट्याक्टर खरिद गरेको उल्लेख गरेका छन् ।

पूर्वाधारमन्त्रीसँग स्काभेटर

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले आफूसँग ट्याक्टर र स्काभेटर रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन् ।

मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेकोे देखाएका छन् । मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन रहेको देखाएका छन् । जसमध्ये ०७० सालमा ४ लाख ५० हजार रुपैयाँमा ५ तोल सुन खरिद गरेको देखाएका छन । उनले सुन किनेको स्रोत भने व्यवसाय देखाएका छन् ।

०७३ सालमा २ तोल सुन जोडेको बताएका छन् । उक्त सुन पैत्रिकबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बंैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन् ।

हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेको उल्लेख गरेका छन् । त्यस्तै परिचय नेपाल सहकारीमा व्यवसायबाट प्राप्त ४ लाख रुपैयाँ र मितेरी बचत तथा ऋण सहकारी संस्थामा १ लाख शेयर देखाएका छन् ।

मन्त्री जुग्जालीले सम्पत्ति विवरणमार्फत आफू ६० लाख रुपैयाँ ऋणमा रहेको देखाएका छन् । जसमध्ये गरिमा विकास बैंकमा ४० लाख रुपैयाँ छ । उक्त ऋण चुक्ता गर्न अहिले पनि आफूले किस्ता तिरिरहेको बताएका छन् ।

त्यस्तै, विभिन्न व्यक्तिसँग २० लाख रुपैयाँ सापटी लिएको उल्लेख गरेका छन् । ऋण तिर्न बाँकी देखाएका उनले कुन कुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यो खुलाएका छैनन् ।

मन्त्री जुग्जालीले आफूसँग एउटा ट्याक्टर र मोटरसाइकल भएको उल्लेख गरेका छन् । उनले २०७५ सालमा ऋण तथा व्यवसायबाट प्राप्त रकमबाट २३ लाख रुपैयाँमा ट्याक्टर किनेको उल्लेख गरेका छन् । ०७४ सालमा व्यवसायबाट प्राप्त रकमले ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेको उल्लेख गरेका छन् ।

उनले सम्पत्ति विवरणमा १ सय ५० वटा सुन्तलाको बोट भएको बताएका छन् । बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताएका छन् ।

स्काभेटरमा साझेदारीमा लगानी गरेको बताएका छन् । ९५ लाख रुपैयाँ पर्ने उक्त स्काभेटरमा आफ्नो भागमा २० लाख रुपैयाँ पर्ने गरी लगानी गरेको उनले बताएका छन् ।

अर्थमन्त्रीसँग निजी वन र बन्दुक

अर्थमन्त्री जीतप्रकाश आलेले भीमाद नगरपालिका–६ मा पुख्र्यौली घरजग्गा रहेको खुलाएका छन् ।

अर्थमन्त्री आलेले आफ्नो र सगोलमा गरेर भीमाद वडा नम्बर ५ मा ३० वटा कित्तामा जग्गा रहेको उल्लेख गरेका छन् । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको अर्थमन्त्री आलेले बताएका छन् ।

पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आफ्नो नाममा निजी वन रहेको देखाएका अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् तर प्रयोजन भने खुलाएका छैनन् । आलेसँग एउटा मोटरसाइकल छ । अर्थमन्त्री आलेसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन् ।

वनमन्त्रीसँग जिप र ट्याक्टर

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग जिप, ट्याक्टर, र फार्मेसी पसल छ । थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ । अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । २ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन् । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

वनमन्त्री थापाले व्यापार व्यवसायबाट पिकअप गाडी ११ लाख ५० हजारर ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन् । थापाले १ लाख ६० हजार रुपैयाँ बराबरको २ भैंसी रहेको बताएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?