+
+
पुस्तक समीक्षा :

विसङ्गत बस्तीमा विचरण

साहित्यिक ऐनामा जगत देख्न पाइन्छ । जीवन पढ्न पाइन्छ । विसङ्गत बस्ती पनि ऐनाको रूपमा प्रस्तुत भएको छ । यसले प्रकृति र मानिसको सम्बन्धको सुन्दर तस्बिर देखाएको छ ।

रमेशकुमार अधिकारी रमेशकुमार अधिकारी
२०८० असोज ६ गते ९:५०

डा. ऋषि बस्ताकोटीको ‘विसङ्गत बस्ती’ मुक्तक विधाको पठनीय साहित्य हो । यसमा वरिष्ठ साहित्यकार सरुभक्तले ‘ऋषि, मुक्तक र प्रतिबद्धता’ शीर्षक राखेर गहकिलो मन्तव्य लेख्नुभएको छ । अग्रज साहित्यकार विवश पोखरेलले ‘विसङ्गत बस्तीको बिम्बभित्रः ऋषि बस्ताकोटी’ शीर्षक दिएर सर्जकलाई प्रशंसाको पगरी गुथाउनुभएको छ ।

‘विसङ्गत बस्तीका सन्दर्भ’ शीर्षकमा सर्जक स्वयंले पृष्ठभूमि बताउनुभएको छ । यस सङ्ग्रहको प्रकाशन २०७९ वैशाख १ मा भएको हो । बाहिरी साजसज्जा चिटिक्क रहेको कृतिको आकार आयतन पनि मिलेको छ ।

मैले यो सङ्ग्रह पहिला विद्युतीय स्वरूपमा पढें । पछि छापा प्रतिमा विचरण गरें । मुक्तक पढ्दा सर्जकका शब्दले चित्त लोभ्यायो । वाक्य संयोजनले मन छोयो । सन्देश संप्रेषणले विकास चेतनामा इँटा थप्ने काम गर्‍यो ।

शास्त्रको बचन छ– ‘एकं सद् विप्रा बहुधा बदन्ति’ । सत्य एउटै हुन्छ विद्वानहरूले धेरै प्रकारले विवेचना गर्दछन् । ठीक यसै प्रकारले विभिन्न साहित्यकारहरूबाट विसङ्गत बस्तीउपरका समीक्षा प्रकाशित हुँदै आएका छन् । यो पङ्तिकारबाट पनि ‘विसङ्गत बस्ती’ विचरणको अनुभूतिलाई आफ्नै ढङ्गले उतार्ने प्रयास स्वरूप यो लेखको जन्म भएको छ ।

कवित्व प्रस्फुटनका लागि समय, प्रकृति, परिवेश, परिस्थिति, परिवार, समाज, कार्यस्थल, सङ्गत, अध्ययन, अवलोकन, अनुभूति, परिकल्पना जस्ता अनेक आयामले प्रेरित गर्दछन् र भावधाराको मूल फुट्छ भन्ने लाग्दछ । मैले जाने अनुसार गोरखामा जन्मनुभएका डा. बस्ताकोटी विश्वका विकसित मुलुकहरू जर्मनी, क्यानडा, अमेरिका आदिको जनजीवनलाई प्रत्यक्ष अनुभव गर्ने भाग्यमानी नेपाली हुनुहुन्छ । उहाँको योग्यता, ओहदा र अनुभवको दायरा फराकिलो छ । विकसित र विकासशील दुनियाँको नीति, नियति, नियतको कसी लगाउन सक्ने सामर्थ्य उहाँ राख्नुहुन्छ । साहित्यलाई माध्यम बनाएर निर्बन्ध अभिव्यक्ति दिन सक्ने उहाँमा सामर्थ्य छ । ‘विसङ्गत बस्ती’ पढ्दा उहाँमा सो सामथ्र्यको छनक पाइन्छ ।

भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यिक ऐनामा जगत देख्न पाइन्छ । जीवन पढ्न पाइन्छ । विसङ्गत बस्ती पनि ऐनाको रूपमा प्रस्तुत भएको छ । यसले प्रकृति र मानिसको सम्बन्धको सुन्दर तस्बिर देखाएको छ । देशको जीवन बोलेको छ । राजनीति र शासन व्यवस्थाको चरित्र चित्रण गरेको छ । समाजको अवस्था दर्शाएको छ । आशा/निराशाको फेहरिस्त सूचिकृत गरेकोछ ।

विज्ञानका विद्यार्थीले ‘हो’ वा ‘होइन’ को शैलीमा उत्तर दिन्छन् । ‘तर’ शब्दको प्रयोग गर्दैनन् । कुरा चपाउँदैनन् । डा. ऋषि बस्ताकोटी विज्ञानका विद्यार्थी हुनुहुन्छ । उहाँले आफ्ना सिर्जनालाई सिधा सिधा पस्कनुभएको छ । पठन यात्रामा कतै घुमाउरोपन महसुस हुँदैन ।

विसङ्गत बस्तीमा एकसय पच्चीस शीर्षकमा पाँचसय हरप अनुबन्धित छन् । मुक्तकको धर्म नै चार लाइनमा अर्थ अटाउनु हो । शीर्षकहरू खँदिला छन् । हरपहरू ओजिला र चोटिला छन् । अध्ययनशील पाठकका लागि बहुआयामिक बौद्धिक खुराक दिन समर्थ छन् ।

विसङ्गत बस्तीको प्रस्तुतिको क्रममा पहिलो शीर्षक धर्तीको गीत–१ छ । यसमा मान्छे र माटोको सहअस्तित्वलाई सरल तरिकाले अर्थ्याइएको छ । यसमा भनिएको छ –
यो माटो छ र त म बाँचेको छु
यो बाटो छ र त म नाचेको छु
मेरो अस्तित्व भन्नु नै सहअस्तित्व हो
यो पाटो छ र, त म हाँसेको छु ।

कविले पढेको र पचाएको विषय हो वातावरण वा प्रकृति । मानिसभन्दा बलियो प्रकृति छ । प्रकृतिभन्दा बलियो सृष्टिकर्ता परमात्मा परमेश्वर हुनुहुन्छ भनेर धर्मशास्त्रले व्याख्या गरिएको छ । माटोलाई प्रकृति र ‘म’ लाई मान्छेको बिम्ब बनाएर कविले प्रकृति र मानिसको अन्योन्याश्रित सम्बन्धलाई सरल ढङ्गमा बुझाउनुभएको छ ।

धर्तीको गीत–२, ३, ४ र ५ शीर्षकमा माटो र मान्छेका सम्बन्धका आयाम र अपरिहार्यतालाई सदृष्टान्त स्पष्ट पारिएको छ । धर्तीलाई अमुक व्यक्ति वा देशले मेरो भनेर दोहण गर्दा त्यसबाट सिर्जना हुने हालतको परिदृश्य धर्तीको गीत–५ मा यसरी व्यक्त भएको छ –

मेरै धर्ती, मेरो मात्रै आकाश भन्यो भने
प्रकृतिको दोहनलाई विकास भन्यो भने
साझा घर हो, सहँदैन प्रकृतिले पनि
आफ्नो मात्रै समस्याको निकास भन्यो भने ।

यी हरफ पढ्दा कविमा विषयविज्ञताको गहिरो पकड छ भन्ने झल्को मिल्दछ । शब्दमा आत्मविश्वासको ओज छ । समस्याको पहिचान छ । कारणको किटान छ । समाधानको विज्ञान छ ।

कविमा गहिरो देशप्रेम छ । ‘नाता’ शीर्षक मार्फत् देशप्रतिको चिन्ता यसरी प्रकट भएको छ–

सिमानामा बलभद्रको गाथा हराउँछ कि
हेर्दा हेर्दै हाम्रो सगरमाथा हराउँछ कि
कमजोरीलाई अक्कर पारी छिमेकीले चेप्दा
नेपाली हौं भन्ने भोलि नाता हराउँछ कि ।

कविलाई यसरी देशका बारेमा चिन्ता व्यक्त गर्ने विन्दुमा पुग्न सायद देशको राजनीति र शासन व्यवस्थाको अकर्मण्यताले पनि घच्घच्यायो होला । उहाँले राजनीति, नेता, कर्मचारी र शासन व्यवस्थालाई विभिन्न कोणबाट केलाउने प्रयास गर्नुभएको छ । हिसाब, विडम्बना, होलीको रङ्ग, बहाना, हजुरकै लागि, पेशा, हामी शीर्षक मार्फत राजनीतिलाई नियाल्नुभएको छ, निफन्नुभएको छ । र, विसङ्गति– १ मार्फत यस्तो निष्कर्ष निकाल्नुभएको छ–

न संविधानको धाराले केही गर्‍यो
न त हजुरको पाराले केही गर्‍यो
भित्री कुरा त भोगेपछि थाहा भयो
न हात्तीको देखिने दाह्राले केही गर्‍यो ।

विसङ्गति– २, ३, ४, ५, ६ र ७ का पङ्क्तिले नेतालाई अझ खरो प्रहार गरेका छन् । निरो नयाँ नयाँ शीर्षकले पनि नेताप्रति व्यङ्ग्य गर्दछ । वर्ग रूपान्तरण, दरबार सानु भो, चोट बिर्सनेलाई, नाङ्गो बादशाह, बिरालो बनायौ, बगलीमा छुरा, बहुमूल्य खरानी, गन्तव्य, सम्पत्ति, मूल जरा शीर्षकका पङक्तिहरूले नेताको नकचरोपनलाई उजागर गरेका छन् ।

राजनीतिमा सारै चलेको ‘अग्रगामी छलाङ्ग’ शब्दावली पनि निरर्थक सावित भएको यथार्थलाई सोही शीर्षकले यसरी मूल्यांकन गरेको छ–

सुन देखिए, सराब सँगसँगै सारी देखिए
महिना दिनसम्म घरि वारि घरि पारि देखिए
संस्कृतिको नाममा अग्रगामी छलाङ्ग होला शायद
विकृतिको अग्रमोर्चामा ‘सुशिक्षित नारी’ देखिए ।

पश्चगमन, हावाकै बेलुन, कुरैकुरा, हनुमान जी, खेतालाहरू, समयको खेल, परिवर्तन, नबिर्स महाशय, रहर, मान्यता शीर्षकले नेताहरूको नाडी छामेका छन् ।

सिंहदरबार शीर्षकले संघीयताको कसीमा स्थानीय सरकारको औचित्य उपर यसरी पीर पोखेको छ–

यता पनि कर भयो, उता पनि कर भयो
आफ्नै घर–आँगनमा श्वास फेर्न डर भयो
भने जस्तो नजन्मिए सन्तानको नि पीरै हुन्छ
गाउँ गाउँमा सिंहदरबार, खै कस्तो रहर भयो ।

नयाँ नयाँ गीत, गाइजात्रा, नयाँ कथा, युग, दिवास्वप्न, छोराले सोध्यो, तिम्रै नाच, खै के के सुनियो, इतिहासमा, पसिनाको कमाइ, लाज डराएछ, मुख फेरिन्छन् शीर्षकहरूले पनि राजनीतिकै उत्ताउलोपनलाई उदाङ्गो बनाएका छन् ।

देश, सम्बन्ध, निधारमा भएपछि, नक्कली, विसङ्गत बस्तीमा, दिग्भ्रमित यात्री, चस्मा फेरेर, रूपान्तरणको नारा, गुन बिर्सनेलाई, बजार, बाको तस्बिर, नवराज विकहरू शीर्षकले सामाजिक परिवेशको यथार्थ अवस्था देखाएका छन् ।

कहानी जस्तो शीर्षकमा कविको उद्गार यस्तो छ –

अलोकतान्त्रिक निर्णयको राजधानी जस्तो
सीमा नदीबाट बेचिएको आफ्नै पानी जस्तो
अपनत्वविहीन सिलसिलाहरूले घेरिंदा लाग्छ
हामी बनिरहेछौं– खैर, अपत्यारिलो कहानी जस्तो ।

दुःख, हाम्रो समय, हिसाब, जिन्दगीको अंकगणित, परदेशी साइलो, पखेटा लागेपछि, विरानो, प्रवृत्ति, आफ्नो मात्रै ,फेसबुक, समयको खोलामा, यो शहर शीर्षकले नेपालीको मन बोलेका छन्, विरह पोखेका छन् ।

बिदाइ, महान सपुत, सहिद, गुमनाम शीर्षकले विगतको सिंहावलोकन गरेका छन् । सच्चा सहिद छुट्टिन नसक्दाको आक्रोश व्यक्त भएको छ ।

झाडी शीर्षकले विकासको दारुण अवस्था देखाएको छ । सत्य वाणी शीर्षकले विकासका निरर्थक नारा उपर व्यङ्ग गरेको छ ।

सुन्नु भो शीर्षकले देशमा व्याप्त बेथितिको बयान गरेको छ ।

दाता फेरे पनि शीर्षकले वैदेशिक सहायताको दुरूपयोगलाई इङ्गित गरेको छ ।

छातीमा टासी रह्यो देश, रोजिरोटीमै अल्झियो, चरित्र, जिन्दगी–१ र २, धर धर दुख्छ, समाचार फेन्छिन् , धरातल, नेपालीको सार्थकता, भोलि कस्तो, जून हराउदा शीर्षकले नागरिक तहको निराशालाई सटिक ढङ्गमा चित्रण गरेका छन् ।

चुच्चे नक्सा भनेर जानिने नेपालको संशोधित नक्साका बारेमा नक्साको चुच्चो शीर्षकमा कविको भाव यसरी व्यक्त भएको छ–

कहिले नक्सामा चुच्चो पलायो
कहिले नक्साको चुच्चो बिलायो
कुचीकारकै मर्जी भो नक्सा त
हेर्नेको चाहनाले पो के लायो

कविको भावधारामा दुनिया समेटिएको छ । हेर्दाहेदै दुनिया शीर्षकमा दुनियाको तस्बिर यसरी खिचिएको छ–

हेर्दा हेर्दै दुनियामा समयसँगै वातावरण फेरिन्छ
कसैको वचन फेरिन्छ, कसैको पहिरन फेरिन्छ
मान्छे उही सोचेर मात्रै कहा हुदोरहेछ र सधैभरी
कसैको बाटो फेरिन्छ त कसैको समीकरण फेरिन्छ ।

कविले कृतिमा आदर्श पात्रको कल्पना गरेका छन् । हिलोको कमल, अनाम फूलहरू, हल्लामा होइन शीर्षकमा आदर्श अगुवाको बिम्ब व्यक्त भएको छ ।

माया प्रीतिको अन्तर्यलाई कविबाट छटपटी र प्रेमर्षि शीर्षकमार्फत् व्यक्त भएको छ । छटपटीका हरफ यसप्रकार छन्–

तिमीलाई देख्दा पनि छटपटी हुन्छ, नदेख्दा झन छटपटी हुन्छ
सत्य भनँु– लेख्दा पनि छटपटी हुन्छ, नलेख्दा झन छटपटी हुन्छ
औषधिविहीन मनोरोग नै रहेछ ‘अनामिका’ यो याद भन्ने कुरो पनि
लाग्छ– तिम्रो बाटो छेक्दा पनि छटपटी हुन्छ, नछेक्दा झन छटपटी हुन्छ ।

चाहना शीर्षक कविको आकांक्षाको द्योतक हो । प्राथमिकीकरणको सुझावसहित यसरी प्रकट भएको छ–

गाउनै परे भाखा सुहाउने गीत गाए हुन्थ्यो
दुःखी, गरिब, निमुखाले न्याय पाए हुन्थ्यो
पुगेदेखि चाहिने कुरा कति थिए–थिए
पानी जहाजभन्दा पहिला पानी आए हुन्थ्यो ।

‘गन्तव्य कता ?’ शीर्षकले गन्तव्यमा पुग्ने कुरामा आशंका व्यक्त गर्दछ । पुराना धोका शीर्षकले नयाँ परिवर्तन देख्न नपाउँदा विगत फर्केर चित्त बुझाएको भाव दिन्छ । व्यवस्थापन नभए शीर्षकले देशको हालत ‘पाती फुलेको उर्वर करेसाबारी जस्तो’ भनेर सचेत गराउने काम गरेको छ ।

सोच्नु, होली, समय, नयाँ वर्षमा शीर्षकले आशाका किरण देखाएका छन् । समय आएपछि शीर्षकले भनेको छ–

बलियो भनेको फलामे तारबार ढल्छ
मान्छेको चुलिएको ठूलो अहङ्कार ढल्छ
रात सधै त लम्बिंदैन कसैले चाहेर पनि
उज्यालो आउँछ अनि त्यो अन्धकार ढल्छ ।

पदकको मर्यादा र पुरस्कार पाउनेको छनौटमा देखिएको बेथितिलाई पनि कविका शब्दले प्रहार गरेका छन् । सुध्रिनलाई सचेत गराएका छन् ।

आम जनताको मनमा व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तन हुन नसकेको चिन्ता छ । सो चिन्तालाई थपियो शीर्षकमा यसरी व्यक्त गरिएको छ –

समृद्धिका कथाले के भो खै, मात्र दुनियाँका रहर थपियो
सुविधामा आफ्नै लागि भनेर गाडी थपियो, घर थपियो
विकासको बाढी आउने कुरा थियो गाउँशहर जताततै
उतै अल्मलियो सायद, यता त केवल ऋण थपियो कर थपियो ।

वृद्धवृद्धाका लागि सन्तति टाढिंदाको अवस्थामा जीवन यापनको सहारा वृद्धभत्ता भएको कुरा वृद्धभत्ता शीर्षकमा यसरी व्यक्त भएको छ–

पढ्दापढ्दैको कलिलो छोरा कलकत्ता गयो
अर्को लक्का जवान खाडीतिरै बेपत्ता भयो
भेटेनन् उद्यम देशमा, फर्केलान् र ती भोलि
अहिलेलाई भने मेरो सहारा यही वृद्धभत्ता भयो ।

कवि डा. ऋषि बस्ताकोटीले आफ्ना पितामाताको स्नेह र वात्सल्यलाई सदा हृदयमा सजाउनुभएको छ र मेरा बा र मेरी आमा शीर्षक मार्फत उहाँहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ । मेरी आमा शीर्षकका पङ्क्ति पढ्दा जो कोहीका आँखा रसाउँछन् ।

अदम्य साहस, अठोट र जाँगर हुन् मेरी आमा
सन्तानका लागि नरित्तिने सागर हुन् मेरी आमा
बचेराले बेग हानेपछि गुँड रुँगीबसेकी चरी झै
नदीले छाड्दै गएको एकान्त बगर हुन् मेरी आमा ।

शुभकामना र नयाँ वर्षमा दुई अलग अलग शीर्षकले शुभभाव व्यक्त गरेका छन् । विशेषतः विक्रम सम्वत २०७९ मा तीनै तहमा निर्वाचन हुने र सो निर्वाचनले पाँच वर्षका लागि नेतृत्व दिने परिप्रेक्षलाई आफ्नो कविभावमा मिसाएर ‘नयाँ वर्षमा’ शीर्षक मार्फत कविले दिएको शुभकामना यसप्रकार छ –

धेरै त पर्दैन, अलिकति मात्र फेरौं अब
पात्रो फेरिएसँगै हिजोका पात्र फेरौं अब
चित्र फेर्दैमा भित्र फेरिने त रहेनछ, देखियो
सकिन्छ भने अलिअलि चरित्र फेरौं अब ।

कविले उपर्‍युक्त पङ्क्तिमार्फत गरेको आह्वानको सकारात्मक लक्षण देखिएको भन्न सकिन्छ । काठमाण्डौं र धरानका मेयर निर्वाचित भएर खाता खुलेको छ । संघ र प्रदेशमा पनि केही नयाँ अनुहारको प्रवेश भएको छ ।

मुक्तक सङ्ग्रहमा विचरणका बिम्बहरू यत्ति नै हुन् । मुक्तक सङ्ग्रहमा हिसाब, सम्बन्ध र नक्कली तीनवटा शीर्षकहरू दोहरिएका छन् । सन्देश फरक फरक छन् तापनि शीर्षक नदोहरिएको भए सुनमा सुगन्ध हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?