
७ असोज, पोखरा । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले ०७७ भदौमा ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ सञ्चालनमा ल्यायो ।
प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धमा सञ्चालनमा आएको ३ वर्षसम्म शिक्षालयको भवन छैन । हाल उक्त शिक्षालय पोखरा–२९, भण्ढारढिकमा जनप्रकाश माविको भवनमा आश्रित छ ।
शिक्षालयमा २५० जनाभन्दा बढी विद्यार्थीले प्राविधिक शिक्षा पढिरहेका छन् । शिक्षालयले अहिले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन फरेस्ट्रीलगायत विषय पढाइरहेको छ ।
ठेकेदार सम्पर्कविहीन, भवन अलपत्र
पोखरा महानगरपालिकाले शिक्षालयका लागि भवन बनाउन सुरुआत गरेको पनि थियो । पोखरा–२९, खल्याणमा शिक्षालयको भवन बनाउन पोखरा महानगरले ०७८ पुस ७ गते भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।
महानगरले भूमिसँग ११ करोड ४२ लाख रुपैयाँमा ४० हजार वर्गफिट फराकिलो भवन बनाउन सम्झौता गरेकोे थियो । संघीय सरकारको विशेष अनुदान र पोखरा महानगरको लगानीमा निर्माण गर्ने भनिएको उक्त भवनको शिलान्यास तत्कालीन संघीय सांसद खगराज अधिकारी, प्रदेश सांसद दीपक कोइराला र मेयर मानबहादुर जिसीले संयुक्त रुपमा गरेका थिए ।
०७८ फागुन ८ गते एक वर्षभित्र सक्ने गरी शिलान्यास गरिएको शिक्षालयको भवन भने हालसम्म पूरा हुन सकेको छैन ।
सम्झौताअनुसार ०७९ फागुन २९ गतेभित्र शिक्षालयको स्थायी भवन ठेकेदार कम्पनीले बनाइसक्नुपर्ने थियो ।
तर, ठेकेदार कम्पनीले काम बीचमै छोडेर सम्पर्कविहीन भइदिँदा अलपत्र परेको छ । भवनको पिलरमात्रै ठड्याएर अलपत्र छाड्दा फलामे छड खिया लागेर कुनैकुनै काम नलाग्ने भइसकेको शिक्षालयको भनाइ छ ।
शिक्षालयको आफ्नै भवन नहुँदा गुणस्तर बढाउन दीर्घकालीन योजनाहरु अगाडि सार्न नपाइएको निर्देशक लक्ष्मण तिमिल्सिना बताउँछन् ।
‘आफ्नो भवन नहुँदा पक्कै पनि समस्याहरु छन् । विद्यार्थीको संख्या बढाउने, थप गुणस्तर बढाउनेलगायत योजनाहरु पूरा गर्न सकिएका छैनन्’, उनले भने, ‘आफ्नै भइदिएको भए दीर्घकालीन रुपमा काम अगाडि बढाउन सकिन्थ्यो ।’
स्कुलसँग भवन नबन्दासम्मका लागि मात्रै सम्झौता गरेर शिक्षालय चलाइरहेकाले आफ्नै भवन बन्दा सजिलोे हुने तिमिल्सिनाले बताए । ‘स्कुलसँग भवन नबन्दासम्म निश्चित समयका लागि बस्नेमात्रै हो, सधैंभरि यहीं रहिरहन मिल्दैन, आफ्नै भवन भएको भए धेरै सजिलो हुन्थ्यो,’ उनले भने ।
आफ्नै भवन नहुँदा पनि शिक्षालयले देशभरमै उत्कृष्ट नतिजा भने ल्याइरहेको शिक्षालयको दाबी छ । ‘शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा पहिलो सेमेस्टरमा हाम्रै विद्यार्थीले देशभरमै ९२ प्रतिशत ल्याएको छ । अटोमोबाइल इन्जिनियरिङमा पनि ८९ प्रतिशत ल्याएका छन्’, निर्देशक तिमिल्सिनाले भने, ‘भवन नहुँदा पनि सिकाइमा कमी आउन दिएका छैनौं ।’
तोडियो ठेक्का, कालोसूचीमा राख्न सिफारिस
ठेकेदार कम्पनी निर्माणाधीन भवन बीचमै अलपत्र पारेर छोडेको र सम्पर्कमा पनि नआएको भन्दै पोखरा महानगरपालिकाले भूमि इन्फ्राइन्स्ट्रक्चर प्रालिसँग ठेक्का तोड्ने निर्णय गरेको छ ।
पोखरा महानगरको असार २३ गते बसेको कार्यपालिका बैठकले ठेकेदार कम्पनीसँग ठेक्का रद्द गर्ने र कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । महानगरले पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमै आउन नचाहेको निर्णयमा उल्लेख गरिएको छ ।
कम्पनीको करिब ४ करोड रुपैयाँ धरौटी जफतसँगै बाँकी कारवाही प्रक्रियाअगाडि बढाइएको महानगरको भनाइ छ । महानगरका सूचना अधिकारी किरण कोइरालाले पुरानो ठेक्का रद्द गरे पनि अब नयाँ ठेक्का आह्वानको टुंगो नभएको जानकारी दिए ।
‘यसपालि बजेट नै राखिएको छैन होला, बजेट नभएपछि काम हुने कुरा भएन’, महानगरका सूचना अधिकारी कोइरालाले भने, ‘नयाँ ठेक्का आह्वानबारे अहिले केही निर्णय प्रक्रिया सुरु भएको छैन ।’
प्रतिक्रिया 4