
७ असोज, काठमाडौं । संसदीय सहयोग परियोजना (पार्लमेन्टरी सपोर्ट प्रोजेक्ट)ले संसदलाई एकथान फोटोकपी मेसिन दिएको छ ।
संसद सचिवालयले हालै प्रकाशन गरेको २०८० साल वैशाखदेखि असार मसान्तसम्मका गतिविधि समेटिएको ‘संसद दर्पण’मा संसद सहयोग परियोजनाले एउटा फोकोकपी मेसिन सहयोग गरेको उल्लेख छ ।
मेशिनरी तथा उपकरण सहयोग शीर्षक अन्तर्गत लेखिएको छ, ‘१ थान फोटोकपी मेसिन मिति २०८०-३-२१ मा प्राप्त भइ जिन्सी दाखिला गराइएको ।’ संसद सचिवालयले माग गरेको वा परियोजनाले आफैँ दिएको यसबारे दर्पणमा विस्तृत खुलाइएको छैन ।
फोटोकपी मेसिनका अलवा संसद सहयोग परियोजनाले तीन वटा प्रदेशमा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले संचालन गरेको तीन वटा कार्यक्रममा सहयोग गरेको उल्लेख छ ।
संसद दर्पणका अनुसार दिगो विकास तथा सुशासन समितिले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मुल्यांकन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम’ कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा संचालन गरेको थियो । यी तीन वटा कार्यक्रममा संसद सहयोग परियोजनाले सहयोग गरेका छन् ।
संसद समर्थन परियोजना (पीएसपी) ले संघीय संसद, प्रदेश सभा, संसदीय समिति, सांसद र संसद सचिवालयलाई संसदीय कार्य सम्पादनमा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । यो परियोजनामा नर्वेजियन दूतावास र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को लगानी छ ।
प्रतिक्रिया 4