+
+
कविता :

ऊ परिवर्तन हुन्छ होला

दिनेश अधिकारी 'नयाँघरे' दिनेश अधिकारी 'नयाँघरे'
२०८० असोज १० गते १२:५८

ऊ मध्यरातमा निद्राबाट झल्याँस्स बिउँझियो

उसको सिरानीमा मोबाइल फोन थियो

हत्तपत्त मोबाइल अनलक गर्छ

फेसबुक खोल्छ, अनि टिकटक हेर्छ

स्टाटसमा के लेखेको अत्तोपत्तो छैन

हतार-हतार पोस्टमा कमेन्ट अनि लाइक गर्छ

उसलाई भ्याइनभ्याइ हुन्छ

अब उसको दिनचर्या सुरु हुन्छ

बिहान उसले भजन सुन्न छाडिसक्यो

एकाबिहानैदेखि ओछयानबाट आधा शरीर देखाएर

लाइभ बस्नेको भिडियोमा ऊ कमेन्ट लेख्न व्यस्त हुन्छ

अब त उसलाई शौचालय जान पनि

मोबाइलको सहारा चाहिन्छ

पहिले-पहिले दुई-चार मिनेट मात्र शौचालयमा रहने ऊ

अहिले उस्तै परे आधाघण्टा बिताउँछ

खै, के को लत बस्यो उसलाई

ऊ आफैंलाई पत्तो छैन

खाना खाने समयमा पनि उसले फुर्सद छैन

परिवारसँग घण्टौं सुखदु:ख बाँड्ने ऊ

चुपचाप मोबाइलमा झुम्मिरहन्छ

छोराछोरी पनि त्यसैमा व्यस्त

श्रीमती पनि त्यसैमा व्यस्त

कहाँ सुखदु:ख बाँड्नु

फलानोकोमा यति लाइक र कमेन्ट आयो

फलानोको भ्युअर्स त कति कति

खै, मेरो त के हो के हो

न फलोअर्स न लाइक

कति चिन्ता छ उसलाई

उसलाई अफिस जान हतार-हतार

उसको उनलाई पनि

सिंगार पटार गर्न हतार-हतार

घरबाट निस्केर बल्लतल्ल गेटमा पुग्छ

फेरि उसलाई मोबाइल हेर्न हतार

लाग्छ ऊ यति व्यस्त छ कि

उसको करोडौं र अरबौंको डिल हुँदैछ

अफिस पुग्छ फेरि त्यहीं वाइफाइमा झुम्छ

कामको चटारो भन्दा पनि

लाइक, कमेन्ट र भ्युज हेर्न चटारो

कसैसँग बोल्ने फुर्सद छैन

बोली हाले पनि उत्तर दिने समय छैन

लाग्छ संसारको सबैभन्दा व्यस्त नै उही हो

घर वरपरका छिमेकीसँग बोलचाल छैन

साथीभाइसँग आत्मीयता छैन

उसलाई सामाजिक हुनु छैन

कसैको चासो र चिन्ता छैन

बाटोमा भेट्दा उसलाई

कसैसँग बोल्न नपरे हुन्थ्यो जस्तो लाग्छ

तर उसलाई फेसबुकमा

फ्रेण्ड रिक्वेस्ट पठाउन हतार

फलो र फलोब्याक गर्न हतार

लाइक र कमेन्ट गर्न हतार

छिमेकमा कसैको निधन हुन्छ

लासको वरिपरि बसेर फोटो खिच्न हतार

उसलाई मलामी जाने मतलब छैन

तर रीप लेखेर कमेन्ट गर्न हतार

कसैले प्रगति गर्दा भित्रभित्रै जल्छ ऊ

तर कति हतार छ उसलाई

हार्दिक बधाई लेख्न

ऊ भेटघाट गर्न आफन्तकहाँ जान्छ

गेटबाट नै वाइफाइको पासवर्ड सोध्छ

सायद पासवर्ड टाइप गर्न नभ्याउने भएर होला

हतपत क्युआर कोड खोज्छ

सञ्चो बिसञ्चो कहाँ सोध्नु

रमाइलो र हाँसोठट्टा कहाँ गर्नु

ऊ झुम्न थालिसक्यो क्यान्डी क्रसमा

लुडो र कल ब्रेकमा

स्नापच्याट र टिकटकमा

सबै आ-आफ्नो धुनमा

सबै आ-आफ्नो तालमा

ऊ साँझमा बल्लतल्ल घर पुग्छ

घरमा बोलचाल गर्ने माहोल छैन

छोराछोरी आफ्नै तालमा व्यस्त

श्रीमतीज्यू टिकटक लाइभमा मस्त

खाना पाक्ने सुरसार नै छैन

छोराछोरीको भविष्यको चिन्ता छैन

चिन्ता त केवल डबलट्यापको

कमेन्ट अनि सेयर र भ्यअर्सको

ज्ञानगुनका भिडियो देख्नासाथ

हेर्न र सुन्न नचाहने उसका आँखा र कान

छोटा वस्त्र र छुद्र शब्द सुन्न थालेपछि

टक्क रोकिन्छन्

कति जाँगर लाग्छ उसलाई

फुर्सदले अपशब्द र गाली पढ्न

ऊ समाजमा विकृति फैलाउनेलाई साथ दिन्छ

दिनरात नभनी सामाजिक सञ्जालमा भुल्छ

छोराछोरीसँग समय बिताउनुपर्ने उसकी श्रीमती

लाइभमा बकम्फुसे गफ गर्छे

छोराछोरीको अगाडि अपशब्द बोल्छे

ती अबोधले के सिक्लान्

ती अबोधले के बुझ्लान् खै ?

खै ? घरपरिवार र समाजले के सोच्लान् ?

उनलाई केही मतलब छैन

सायद उनलाई लाग्छ होला

मैले ठूलै काम गरें

थाहा छ ?

उसले टिकटक हेर्दै गर्दा

त्यहाँ कति मीठो धुन बजेको थियो

कोहीले ज्ञानका कुरा सिकाउँदै थिए

कोही हेल्थ टिप्स दिंदै थिए

कोही जीवन जिउने कला सिकाउँदै थिए

कतै योग र ध्यानको चर्चा हुँदै थियो

कहीं व्यापार र व्यवसायको गफ चल्दै थियो

कोही एकापसमा दुःखसुख साट्दै थिए

कतै राष्ट्र र राष्ट्रियताको बहस चल्दै थियो

तर के गर्नु ? विडम्बना,

उसलाई त्यो सब हेर्ने फुर्सद छैन

अब ऊ परिवर्तन हुन जरुर छ

उसमा सकारात्मक सोच जोगाउनु छ

प्रविधिको प्रयोगको दुरुपयोग हैन

सदुपयोग गर्न सिक्नु छ

उसले समाज रूपान्तरण गर्नु छ

आत्मीयता र भाइचारा बढाउनु छ

देशको कर्णधार निर्माण गर्नु छ

सायद उसले यो सब बुझ्यो होला

पक्कै पनि आजैबाट ऊ परिवर्तन हुन्छ होला

कसम !

ऊ परिवर्तन हुन्छ होला

ऊ परिवर्तन हुन्छ नै होला ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?