+
+

‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

बैदाम प्रहरी प्रमुख जिल्लामा तानिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १५:४९

१० असोज, पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि हेडक्वार्टर तानिएको उनले बताए ।

उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्रवण विकले जानकारी दिए ।

इन्स्पेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भीडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारबाही माग गरेका थिए ।

मणिपालका चिकित्सकहरु दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए भने मृतक आफन्त सहित पक्षधरले पनि महेन्द्रपुलमा प्रदर्शन गरेका थिए ।

उनीहरुले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै डाक्टरलाई कारबाहीको माग गर्दै पक्राउ परेका विनय गुरुङको रिहाइको अडान लिएका छन् ।

३ दिनदेखि जिल्ला प्रशासन, अस्पताल व्यवस्थापन र पीडित पक्षबीच पटकपटक वार्ता भए पनि निष्कर्षविहीन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?